• शुक्रबार-बैशाख-१४-२०८१

लापरबाही र ट्राफिक नै दुर्घटनाको जिम्मेवार

 

(जिन्दगीलाई जस्तो बनायो त्यस्तै बन्छ । जस्तो सम्झियो त्यस्तै भइदिन्छ । सडक पाइलट सागर लामाका लागि पनि जिन्दगी त्यस्तै छ । मेहनत गरेर यहाँसम्म आइपुग्दा पहिले काभ्रे र अहिले बाराका स्थायी बासिन्दा लामाले जिन्दगीको सोच आफूजस्तै बनाएका छन् । आफूले पाएको अहिलेसम्म कसैसँग झगडा नगरेको बताउने उनी अरुले दोष लगाउँदा भने चित्त दुखाउँछन् । बा २ ख ५९८८ नम्बरको बसका स्वरोजगार सागरको मन पनि सागरजस्तै फराकिलो छ । ३५ वर्षे लक्का जवान सागरले सडक पाइलटसँगको अन्तरंगमा साँघु प्रतिनिधिसँग यसरी आफ्नो मनको भावना पोखेका छन्–सम्पादक)

 

० गाडीलाइनमा कहिलेदेखि लाग्नुभयो ?
–भयो १७ वर्ष । 


० कसरी आउनु भयो ?
–साथीहरूको ट्याक्सी थियो । त्यसमा तेल राखेर सिकियो । ख्यालख्यालमै लाइसेन्स निकालियो । अनि ट्याक्सी नै चलाउन थालियो । 


० ढोकामा बस्नै परेन ?
–बसिएन । सीधै ट्याक्सी चलाएँ । 


० के के चलाउनु भयो ?
–पाँच वर्ष ट्याक्सी चलाएँ । निशान पनि चलाएँ । फोर्स पनि चलाएँ । अनि छ वर्षदेखि ठूलो गाडी नै चलाइरहेको छु । 


० आफै किनेर ?
–हो । अनुभव भयो । लगानी पनि गर्नु प¥यो भनेर बस किनेर चलाइयो । 


० चलाउन कुन ठिक नि ?
–बस नै ठिक हो । थोरै कमाइ भए पनि बिजी भइरहने । ट्याक्सी त आज प्यासेन्जर आउने हो कि हैन, साहुलाई दिन पुग्ने हो कि हैन भन्ने टेन्सनमात्र भइरहने । 


० लकडाउनमा के गरियो ?
–घरमै बसियो केही गरिएन । 


० के रहेछ ड्राइभरको जिन्दगी ?
–जिन्दगी सडकमै । गाडीमा रमाइलो मात्र भएर के गर्ने कमाइ छैन । 


० तनाव हुन्छ ?
–घरबाट निस्केपछि घर नपुन्जेल तनाव हुन्छ । 


० दुर्घटनामा पर्नु भएको छ ?
–दुई पटक । पहिलो ट्याक्सीमा र दोस्रो यही बसमै । कसैलाई केही भएन । पछाडिबाट हानिएको हो । 


० दुर्घटना किन बढ्दो छ ?
–लापरबाहीले । ट्राफिक प्रहरीका कारणले । लापरबाही बाहेक ट्राफिक प्रहरीले नियमभन्दा बेसी नियम लगाउँछ । त्यो ड्राइभरले पालना गर्दैन । लेन एउटै छैन । हतारमा मान्छे झार्दा र चढाएर भाग्दा पनि दुर्घटना हुन्छ । कम्पिटिशन पनि छ । 


० चालकहरूले गाँजा बढी खाएर पनि दुर्घटना भयो भन्ने छ नि ?
–गाँजा खाने धेरै छन् । त्यस्ताले गर्ने लापरबाही नै हो । 


० तपाई नि ?
–म त खाँदिन । गाँजा कस्तो हुन्छ थाहा छ । औषधिका लागि एकपटक फेमिलीको सहयोगमा आएको थियो र खाएको थिएँ । ज्यूँदै मरेजस्तै भएँ । खाटमा सुत्यो माथि माथि उचाल्ने । हात खुट्टा छाम्यो चिसो । सुतेपछि ठीक भयो । त्यसपछि कहिल्यै खाएको छैन । 


० लकडाउनपछि कमाइ कस्तो छ ?
–कमाई छैन । मान्छे नै छैन । 


० के छ भोलिको योजना ?
–आफ्नै गाडी छ । धेरै दुःख गरियो । जे हो यही गाडी हो । यही चलाउने । 


० लकडाउनका बेलामा इन्स्युरेन्स तिर्न त परेन नि ?
–ब्यांक लोन थियो । लकडाउनअघि नै तिरेको थिएँ । त्यसैले तनाव भएन । 


० आफ्नै गाडी भएपछि त सन्तानले सम्हाल्लान् नि त ?
–आउँदैनन् यो लाइनमा । छोरा कलेज पढ्छ । ब्रिटिश लाहुरेमा जान्छु भन्थ्यो पोहोर साल नै । १२ क्लियर गरेर जाउ भनेको छु । अर्को वर्ष गइहाल्छ । दुई छोरीहरू सानै छन् । पढाउने हो ।

 
० भनेपछि आफ्नो कामबाट सन्तुष्ट नै हुनुहुन्छ ?
–ठिकै छ । आफैले मेहनत गरेर कमाई गरेको ठीक छ । खुशी नै छु । 


० यो लाइनमा त्यति ठीक मान्छे छैनन् भन्छन् नि ?
–जुन लाइनमा पनि त्यस्तै हो । कसैले कसैलाई गन्दैन । यहाँ पनि यस्तै हो । 
 

प्रतिकृया दिनुहोस