• शनिबार-बैशाख-१५-२०८१

गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

 


सर्लाही, ४ वैशाख (रासस) : गर्मी बढेसँगै सर्लाहीे सदरमुकाम मलङ्गवासहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि  मलङ्गवा नगरपालिकाले समयमा  औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो । 


नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा  लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग  लाग्न सक्ने सम्भावना बढदै गएको मलङ्गवाका स्थानीयवासी सुन्दरश्याम यादवले बताउनुभयो । 

     सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा मलङ्गवा नगरपालिकाअन्तर्गतका १२ वटै वडा एकजुट भएर लाग्नुपर्ने अर्का स्थानीयवासी राजेश पासवानले बताउनुभयो । उचित सरसफाइ हुन नसक्दा मलङ्गवा बजार क्षेत्र तथा  टोलबस्तीमा यतिबेला लामखुट्टेको प्रकोप बढेको छ ।

 

गत वर्ष  नगरपालिकाले छर्केको औषधियुक्त धुवाँले पनि लामखुट्टेलाई केही फरक नपरेको मलङ्गवा नगरपालिका–२ का स्थानीयवासी विजय साहले बताउनुभयो । स्थानीय बासिन्दाले यस वर्ष समयमै नगरपालिकाले प्रभावकारी औषधि खरिद गरेर छर्नुपर्ने माग गरेका छन् ।


  
मलङ्गवाको बजार क्षेत्र र टोल बस्तीमा नियमित  सरसफाइ नहुँदा लामखुट्टेको प्रकोप बढेको स्थानीयवासीको अनुमान छ । दैनिकीरुपमा सरसफाइ गर्नुपर्ने उनीहरुको माग रहेको छ भने नगर प्रमुख निरसल साहले आफ्नो नगरपालिकाले राखेका सरसफाइकर्मीले नगर क्षेत्रको नियमित सरसफाई गरिरहेका बताउनुभयो ।

 

साथै उहाँले आफ्नो नगर क्षेत्रको लामखुट्टेको बढी प्रकोप हुने स्थानमा यस वर्ष पनि औषधि छर्किने बताउनुभयो । नगरपालिकाले सकेको गर्दै गर्दा पनि लामखुट्टेको प्रकोप रोक्न सबै नगरवासी पनि सजग भएर लाग्नुपर्ने उहाँको भनाइ छ । 
–––

प्रतिकृया दिनुहोस