• शनिबार-बैशाख-८-२०८१

करदाता शिक्षा बढाउन सडक नाटक


काठमाडौँ। काठमाडौँ महानगरपालिकाले करदाता शिक्षा बढाउन सडक नाटक शुरु गरेको छ । कामपा राजश्व विभाग र सुर्पेटो मिडियासँगको सहकार्यमा ‘आनासुकी घरबेटी बा’ शीर्षकमा सडक नाटक प्रदर्शन शुरु गरेको हो । 

 

विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार कर तिर्नु नागरिक दायित्व हो भनेर करदातालाई सचेत गराउन पहिलो चरणमा महानगरका १० स्थान सडक नाटक प्रदर्शन गर्न लागिएको हो ।  शुरुआतमा हनुमानढोका, कालभैरव पछाडिको डबली, कालीमाटी, कलङ्की, चावहिल, गौशाला, नयाँबानेश्वरलगायत विभिन्न १० स्थानमा नाटक प्रदर्शन हुनेछ ।

 

विभागले कोरोना महामारीको समयमा दबाब दिएरभन्दा दायित्व बोध गराएर राजश्व असुली गर्नका लागि यस किसिमको अभियान शुरु गरिएको जनाएको छ । नाटक करीब २० मिनेटको हुनेछ । घरधनीलाई बहाल नतिरी भाग्ने भाडावाललाई खोजेर भाडा असुल्न हिँडेको घरधनी आफूले कामपालाई कर नतिरेका कारण आफैँ कानूनको परिबन्दमा परेको कथा नाटकमा देखाइएको छ ।

 

कर केही समय छल्न सकिन्छ तर कुनै न कुनै दिन कानूनको फन्दामा परिन्छ । कानूनी कारवाहीमा पर्ने त्यो समय आउनुअघि थोरै थोरै कर तिर्दै गए सम्मानजनक जीवन बाँच्न सकिने नाटकले देखाउन खोजेको सन्देश हो ।

 

कृष्णजीत राईले लेख्नुभएको नाटक रीता थापाले निर्देशन गर्नुभएको छ । नाटकमा सुरज विष्ट लोभी घरबेटी बा, जीवन थापा असल छिमेकी, मञ्जु गिरी वडा कार्यालयको कर्मचारी, कञ्चन सापकोटाले भाडावालको भूमिकामा अभिनय गर्नुभएको छ । 

 

 कामपाले चालु आर्थिक वर्षमा व्यवसाय करमा २० र होटेल, मनोरञ्जनसँगै पर्यटनसँग सम्बन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको छ । भाडावाललाई कोभिडका समयमा एक महिनाको बहाल छुट दिने घरधनीलाई महानगरले बहाल करमा पनि छुट दिएको छ । कामपाले गत असोज १ देखि १० वटा वडाबाट राजश्व निर्धारण तथा सङ्कलन कार्यलाई अनलाइन प्रणालीमा समेत लगेको छ । 

 

 आर्थिक प्रणालीलाई पारदर्शी बनाएपछि स्थानीयवासीले महानगरको सुशासनमा विश्वास बढ्ने भन्दै अहिले कामपाले ३२ वटै वडामा अनलाइनको माध्यमबाट कर असुली गरिरहेको छ । यस प्रणालीले करदाताको अभिलेखीकरण र राजश्व प्रक्षेपण योजनामा ठूलो सघाउ पुग्ने विश्वास कामपाको रहेको छ  । 
 

प्रतिकृया दिनुहोस