• शुक्रबार-बैशाख-१४-२०८१

रोस्ट्रममा उभिएर नरोत्तम वैद्यले भने– प्रधानमन्त्रीलाई नाथुराम चाहियो, कि मै बनौं ?

कस्तो मानसिकता ! कस्तो राजनीति ! कस्ता प्रतिनिधि !


   काठमाडाैं । वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको अतिचारले सीमा नाघेकाले नाथुराम गोड्से आवश्यक भएको अराजनीतिक टिप्पणी गरेका छन् । यदि कोही यसका लागि तयार नभए आफैं गोड्से बनौं कि भन्ने प्रश्न पनि उनले प्रदेशसभाको रोस्ट्रममा उभिएर गरेका छन् । 

 


‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि जे कुरामा पनि सम्झौता गरिराखेको छ,’ वैद्यले भने, ‘यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्‍यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’ 


नाथुराम गोड्से महात्मा गान्धीका हत्यारा हुन् । 

 

रोस्ट्रममै उभिएर वैद्यले आपत्तिजनक अभिव्यक्ति दिँदा सभामुखले रोक्न सक्थे । त्यसैगरी सांसदहरूले पनि आपत्ति जनाउन सक्थे । तर कसैले पनि कुनै प्रतिक्रिया जनाएनन् । 

 

वैद्यको यस्तो अराजनीतिक टिप्पणीपछि उनको चर्को आलोचना भइरहेको छ । नेकपा एमालेका नेता तथा कार्यकर्ताले तत्काल उनलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । 

 

 बागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम बैद्यले अभिव्यिक्त प्रति टिप्पणी गर्दै एमालेका युवा नेता विष्णु रिजालले ट्वीट गरेका छन्-''प्रम ओलीलाई मार्नका लागि गान्धीलाई मार्ने नाथुराम गोड्से हुने घोषणा गरेछन् । मान्छे मार्छु भन्नेका साधारण मान्छेका लागि ज्यान मार्ने उद्योगमा मुद्दा चल्छ । प्रदेशसभा सदस्यका हकमा फरक कानुन छ र ? कस्तो मानसिकता ! कस्तो राजनीति ! कस्ता प्रतिनिधि !''

 

प्रतिकृया दिनुहोस