• बिहीबार-बैशाख-१३-२०८१

हिसाब लुकाउने ४१ दललाई ५०/५० हजार जरिवाना

काठमाडौं । पटक–पटक ताकेता गर्दा पनि आय–ब्यय विवरण (लेखापरीक्षण प्रतिवेदन) नबुझाउने ४१ राजनीतिक दललाई निर्वाचन आयोगले ५०/५० हजारका दरले जरिवाना सुनाएको छ । 

 

४६ राजनीतिक दलले नियमानुसार आयब्यय विवरण नबुझाएपछि निर्वाचन आयोगले गत वैशाख ७ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर त्यसबारे स्पष्टीकरण सोधेको थियो । तोकिएको अवधिमा ४ दलले स्पष्टीकरणसहित लेखापरीक्षण प्रतिवेदन बुझाए पनि ४१ ले फेरि पनि अटेरी गरेको निर्वाचन आयोगले जनाएको छ । कानूनलाई चुनौती दिएपछि ती दललाई ५०/५० हजार जरिवाना सुनाइएको छ । 

 

आयब्यय विवरण नबुझाएकोबारे ७ दिनको समय दिएर सोधिएको स्पष्टीकरण पत्रको जवाफ प्राप्त नभएपछि ४१ दललाई नियमानुसार जरिवाना गरिएको निर्वाचन आयोगले जनाएको छ । 

 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (१) को खण्ड (घ) लगातार ३ वर्षसम्म आयब्ययको विवरण आयोगसमक्ष नबुझाएमा ५० हजार रूपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ । 

 

पटक-पटक ताकेता गर्दासमेत दलको हिसाब किताब देखाउन आनाकानी गर्ने अरापदर्शी राजनीतिक दलमा नेपाली कांग्रेस राष्ट्रवादी, राष्ट्रिय चुरेभावर पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाः राष्ट्रिय पार्टीलगायत छन् । 

 

 

प्रतिकृया दिनुहोस