• शुक्रबार-बैशाख-७-२०८१

अग्नि परीक्षामा नयाँ गृह मन्त्री : सशस्त्रका अधिकृतको आआफ्नै दाऊ  

 

काठमाडौं । सशस्त्र प्रहरी बलमा व्यवस्थित सरुवा र बढुवा प्रणाली छैन । कार्यसम्पादन हेरेर भन्दा पनि पहुँच र प्रभावका आधारमा बढुवा र रोजेको स्थानमा पोष्टिङ गर्ने चलन छ । त्यसैले हरेक वर्ष आर्थिक वर्षको अन्तिम महिनामा सरुवाका लागि चलखेल हुने गरेको छ । विगत वर्षमा जस्तै यस वर्ष पनि प्रहरी अधिकृतहरू आफ्नो रोजाइका आकर्षक कार्यालयमा जान शक्ति केन्द्र धाएर लबिङमा लागेका छन् । 


डीआईजीहरूको आआफ्नै दाऊ 
सशस्त्रमा प्रदेश कार्यालय डीआईजीका लागि आकर्षक मानिन्छ । एसएसपीले चाहिँ तालिम केन्द्रमा बढी रुचि देखाउने गरेका छन् । डीआईजीको १६ दरबन्दीमध्ये अहिले २ सिट रिक्त अवस्था छ । १४ डीआईजीमध्ये अहिले ६ जना हेर्डक्वार्टरमा कार्यरत छन् । जसमा खड्ग राई, मन्दीप श्रेष्ठ, गणेश ठाडा मगर, दुर्गाप्रसाद भट्टराई, कमल गिरी, कुलबहादुर नेम्वाङ छन् । यी सबैले एक पटक प्रदेशमा नेतृत्व लिने रहर गरेका छन् ।

 

प्रवीण श्रेष्ठ ७ नं. बाहिनी, राजु अर्याल मेट्रो नम्बर ९ बाहिनी, नारायणदत्त पौडेल ७ नं. बाहिनी पोखरा, चन्द्रप्रकाश गौतम २ नं. बाहिनी बर्दिबास, इञ्जिनियर किशोर प्रधान ५ नं बाहिनी, कपिलवस्तु, वंशीराज दाहाल १ नं. बाहिनी सुनसरी, अभिकुमार खत्री ६ नं. बाहिनी सुर्खेत रकाम नहुने, मौसम अनुसार घाम र शीतल ताप्ने अतिरिक्त समूह मानिने शम्भु सुवेदी चाहिं सुरक्षा परिषद् काठमाडौंमा थन्क्याइएका छन् । स्रोतका अनुसार, यी डीआईजीमध्ये अधिकांश शक्ति केन्द्र रिझाएर प्रदेश कार्यालय र हेड क्वार्टर आर्थिक प्रशमसन विभागको नेतृत्व लिने र कायम रहने दौडधुपमा छन् । सरुवाको ठोस र प्रष्ट मापदण्ड नभएकाले यसलाई पारदर्शी र वैज्ञानिक बनाउनुपर्ने मत सशस्त्रका इमान्दार अधिकृतहरूको रहँदै आएको छ । तर अहिलेसम्म यसलाई व्यवस्थित बनाउने काम भएको छैन । 


सशस्त्रका एसएसपीमा तालिम केन्द्र र एसपीहरूमा गणको नेतृत्व लिने होडबाजी हुने गरेको छ । हाल ककनी, बाँकेको नबस्ता, बर्दघाट र लामापाटन पोखरामा त्यस्ता तालिम केन्द्र छन् । यसमा सीसम १ का एसएसपीबीच प्रतिस्पर्धा रहेको स्रोतले जनाएको छ । शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा कमाण्डरका रूपमा कार्यकाल पूरा गरेर यही असार १० मा फर्किन लागेका एसएसपी सुरेशकुमार श्रेष्ठले चाहिँ तालिम केन्द्रमध्येको पनि सबैभन्दा राम्रो ककनी ताकेकोचर्चा छ । सामान्यतया विदेशबाट फर्केकालाई कमाण्ड (तालिम केन्द्र) दिने प्रचलन नभए पनि उनले उतैबाट माहोल बनाइरहेको स्रोत बताउँछ । यद्यपि, श्रेष्ठको शक्ति रसोर्सफोर्सले नलागेमा एसएसपी अञ्जनी पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा मध्ये एकजनाले ककनीको नेतृत्व गर्ने सम्भावना बढी रहेको बताइन्छ । 


सशस्त्रको देशभर खडा ३६ गणको नेतृत्व लिन एसपी, गुल्मको नेतृत्व हत्याउन डीएसपीले शक्ति केन्द्रहरू, गृहमन्त्री, गृह सचिवदेखि आईजी÷एआईजीसम्मलाई प्रभावित पार्ने गरेका छन् । मालदार मानिने तराईं जिल्लाका बीओपी र लेखा अधिकृत र लेखापालमा जान पनि सशस्त्रमा उत्तिकै प्रतिस्पर्धा हुने गरेकोश्रोत बताउछ । 


परीक्षामा गृह मन्त्री खगराज 
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् हेरफेरमा गृह मन्त्रालयको जिम्मेवारी धेरै विवादमा नपरेका एमाले नेता खगराज अधिकारीलाई दिएका छन् । उनी एमालेमा पारदर्शी र परिणाममुखी ढंगले काम गर्ने नेतामा पर्छन् । यसअघि स्वास्थ्य मन्त्री हुँदा उनी खासै विवादमा परेनन् । भलै त्यहाँभित्र मेडिकल इक्वीप्मेन्ट र औषधि सप्लायर्सको माफिया जालो तोड्न भने उनी असफल भएको बताइन्छ । 


सरकार चौतर्फी आलोचनाको सिकार बनिरहेका बेला कैयन् आकांक्षीलाई पन्छाएर प्रधानमन्त्री निकट कै एमाले नेता खगराजलाई गृहमन्त्री बनाउनुको पछाडि उनको छवि छायाले काम गरेको जानकारहरू बताउँछन् । उनै खगराजको काँधमा अहिले तीनवटै सुरक्षा संगठनका साथै ७७ जिल्ला प्रशासनका प्रमुख सिडिओ र प्रहरी अधिकृतहरूको सरुवालगायतमा रहेका विकृति हटाउनुपर्ने जिम्मेवारी आएको छ । ७७ जिल्ला प्रशासनको लोसेपन र तीनवटै सुरक्षा संगठन नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)मा सरुवाको सिजन सुरु भएकाले विावदरहित रुपमा यसलाई व्यवस्थित गर्नेमा उनको भूमिका कस्तो हुन्छ ? चासोका साथ हेरिएको छ । विषम् परिस्थितिमा देश रहेकाले पहुँचवालाको बोलवालालाई तोड्दै प्रशासनलाई जनमुखी र फौजलाई अनुशासित बनाउन र कमाण्डलाई सशक्त बनाउने, संगठन स्वच्छ र स्वस्थ बनाउने काममा यिनको भूमिका कस्तो हुन्छ भनेर चासोका साथ हेरिदैछ । तीनवटै सुरक्षा निकायमा अहिले सुरुवा हुने सिजन हो । 
 

प्रतिकृया दिनुहोस