• शुक्रबार-चैत-१६-२०८०

फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोको निधन

 

मनिला । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि सख्त बिरामी पर्नु भएका अक्वीनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँको शासनपछि फिलिपिन्सको राष्ट्रपति रोड्रिगो डुटर्टे बन्नु भएको थियो । फिलिपिन्सको सर्वोच्च अदालतका न्यायाधीश मार्भिक लियोनेनले एक विज्ञप्ति प्रकाशन गरी पूर्व राष्ट्रपति अक्वीनोको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताउनु भएको छ । 

 

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार “नोयनोय” का उपनामले चिनिने अक्वीनको फिलिपिन्सको राजधानीस्थित क्यापिटोल मेडिकल सेन्टरमा निधन भएको थियो । फिलिपिन्सका अर्थशास्त्री समेत रहनु भएका अक्वीनोले सन् १९९८ मा राजनीतिमा आउनु अघि चिनीको व्यापार गर्नु हुन्थ्यो । सन् २००७ मा सिनेटमा निर्वाचित हुनुअघि उहाँ तीन पटक प्रतिनिधिसभाको सदस्य चुनिनु भएको थियो ।

 

फिलिपिन्सका लोकप्रिय प्रजातान्त्रिक नेता सिनेटर बेनिग्नो “निनोय” अक्वीनो र पूर्व राष्ट्रपति कोराजोन अक्वीनोका एक मात्र छोरा हुनुहुन्थ्यो । फिलिपिन्सका पूर्व तानाशाह फर्डिनान्ड मार्कोसको शासनप्रति बिमती राख्नुहुने उहाँका बुबाको संयुक्तराज्य अमेरिकाको निर्वासनबाट स्वदेश फर्कनेक्रममा सन् १९८३ मा हत्या गरिएको थियो ।

प्रतिकृया दिनुहोस