• बिहीबार-बैशाख-१३-२०८१

कांग्रेसमा मन्त्री बन्न चर्काे लडाइँ : गुटैपिच्छेका मन्त्रीका छुट्टाछुट्टै लिस्ट पढ्नुस्


काठमाडौं । सर्वाेच्च अदालतको असार २८ को परमादेशले प्रधानमन्त्री नियुक्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मन्त्रिमण्डल विस्तार गर्नु फलामको च्यूरा चपाएसरह भएको छ । असार २९ गते प्रधानमन्त्रीको सपथ खाएका देउवाले २०७८ साउन  १० गते सांसद बन्न ४/५ करोड खर्च गर्दै आएका शैक्षिक क्षेत्रका अर्बपति उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्ति गरेका छन् ।

सपथ खाएका दिन ४ मन्त्री नियुक्ति गरेका देउवाले १२ दिनपछि श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्ति गरेका छन् । बाँकी मन्त्रीका लागि नेपाली कांग्रेसभित्रै गुट उपगुटका दर्जनौं व्यक्तिको आकांक्षाका कारण देउवालाई सकस परेको छ । देउवाकै गुटका जिपछिरिङ लामा, बहादुरसिंह लामा जनजातिबाट मन्त्रीको लागि दौडधुपमा छन् ।


जिपछिरिङ लामाले देउवालाई धेरै आर्थिक सहयोग गरेकाले यो पटक मन्त्री हुने आशामा छन् । तर देउवाले श्रीमती आरजुको दबाबका कारण स्कुल सञ्चालक अर्बपति उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । जसका कारण उनको गुटको आदिवासी जनजाति कोटाबाट जिपछिरिङलाई मन्त्री हुन सकस पर्ने भएको छ । देउवाको गुटबाट महिलामा मन्त्रीको लागि सशक्त दाबी पुष्पा भुसालाको छ ।


त्यसैगरी, अख्तर अहमद मुसलमान, विनोद चौधरी, देवेन्द्रराज कँडेलले पनि मन्त्री हुने आशा गर्दै आएका छन् ।  विनोद चौधरीले त भारतस“ग सम्बन्ध सुधार गर्न आफुलाई परराष्ट्र मन्त्रालय माग गरिरहेका छन् । देउवासँग चिसिएको भारतको सम्बन्ध सुधार गर्ने भन्दै उनी परराष्ट्र मन्त्रीको लबिङमा छन् ।

विमलेन्द्र निधिले साथ छाडेपछि मधेशको राजनीतिमा देउवाले विश्वास र भर गरेका विजय गच्छदारले पनि मन्त्रिमण्डलमा आफ्नो तर्फबाट कम्तीमा १ वटा कोटा मागेका छन् । गच्छदार सुनसरीबाट चुनाव जितेका भएपनि भ्रष्टाचार अभियोगमा मुद्दा परेकाले निलम्बित छन् ।


रामचन्द्र पौडेलको समूहबाट मन्त्रीका लागि पहिलो नम्बरमा छन् दिलेन्द्रप्रसाद बडु । तेजुलाल चौधरी, प्रमिला राई पनि पौडेलको कोटामा छन् । दलितबाट मानबहादुर विश्वकर्मा, सुजाता परियार र लक्ष्मी परियारहरुको मन्त्रीमा दाबी छ ।


महामन्त्री शशांक कोइरालाले आफ्नो कोटाबाट डा.मिनेन्द्र रिजाल र संजय गौतमको नाम दिएका छन् । सुजाता कोइराला आफैं मन्त्री हुने कोसिसमा लागेकी छिन् । कोइराला यसअघि २०६७ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा परराष्ट्रको जिम्मेवारी सम्हाल्दै उपप्रधानमन्त्री थिइन् । उनी उपप्रधानमन्त्री नभएपनि मन्त्री भएपनि हुन्छ भन्दै लागेकी छिन् । कृष्ण सिटौलाको कोटाबाट भिमसेनदास प्रधान, उमाकान्त चौधरी र गगन थापा छन् ।


गगन थापाले सिटौलालाई साथ नदिने संकेत दिएकाले प्रधान र चौधरीमध्येबाट १ मन्त्री हुने सूचीमा छन् । प्रधान यसअघि मन्त्री भएकाले चौधरीको सम्भावना बढी छ । प्रकाशमान सिंहले राजन केसीलाई मन्त्रीको लागि प्रस्ताव गरेका छन् ।

कांग्रेसको भागमा बढीमा ७ देखि ८ मन्त्री पर्ने देखिन्छ । तर मन्त्रीको सूचीमा २५ जनाभन्दा बढी छन् । हरेक गुटले २ जनादेखि ५ जनासम्मको नाम दिएपछि देउवालाई मन्त्रिमण्डल छान्ने सकस भएको छ ।


नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सांसदले मन्त्रीका लागि दबाब दिएपछि आफु तनावमा परेको पीडा असार ९ गते नरबहादुर कर्माचार्यको स्मृति कार्यक्रममा पोखेका थिए । त्यस्तै पीडामा प्रधानमन्त्री देउवा पनि छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि मन्त्रीको लोभमा आफ्नो समूहमा आएका सांसदलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ ।

 

प्रतिकृया दिनुहोस