• बिहीबार-बैशाख-१३-२०८१

सुरक्षाकर्मी तथा निजामती कर्मचारीको विवेक खै ? : देशको माटो बिर्सेर हो दुर्गति नदेखेको ?  

विश्वमा मानव सभ्यताको विकासपछि सुरुमै अस्तित्वमा आएको १७/१८ वटा मुलुकहरु मध्ये नेपाल पनि एउटा हो । जतिवेला अहिले महाशक्ति भनिएको मुलुकहरु अमेरिका र भारत समेत अस्तित्वमा थिएनन् । हिमवतखण्ड, ऋषिमुनीहरुको तपोभूमि, भगवान पशुपतिनाथको देश, विश्वको उच्च शिखर सगरमाथाको देश, भगवान बुद्ध, राजा जनक, सीता, अरनिको र भृकुटीको जन्म भएको देश नेपाल ।

वैद्विक सनातन वेद शास्त्रहरुको रचना भई त्यही वेदबाट आधुनिक विज्ञानको चमत्कार गर्न संसारलाई प्रेरणा मिलाई दिने देश त्यसैगरी सुरुवाती अस्तित्वदेखि इतिहासमै कहिल्यै पराधीन नभएको गौरवमय परिचय भएको सुन्दर र स्वर्गभूमि नेपाल वि.सं २०७९ मा आईपुग्दा अस्तित्व बचाउको लडाइँमा आईपुगेको छ । 


  यहाँ विभिन्न बंशहरुले राज्य गर्दै आएको भएतापनि ती बंशहरुका विभिन्न शासकहरुले समेत यो मुलुकको चीरहरण हुन दिएका थिएनन् । हुन त जतिवेला पृथ्वीनारायण शाह जन्मिएको समय हाराहारीमै पश्चिमाहरुले नेपालमाथि आँखा नगाडेको भने होईन साथै वि.सं.२००४ सालभन्दा अगाडि भारतलाई उपनिवेश बनाई शासन गरिरहेका अंग्रेजहरुबाटै पूर्वमा टिष्टा पश्चिममा कांगडासम्मको विशाल भूमिलाई वर्तमान नक्शामा खुम्च्याई दिएको भएपनि बाँकी भूमिसहितको नेपाल जोगाउन र हामीलाई नेपाली बनाई राख्न  हाम्रा हजारौं पुर्खाहरुले रगत बगाउँंदै वलिदान दिएको ईतिहास ताजै छ । 


  वि.सं.२००४ सालपछि स्वतन्त्र मुलुकको रुपमा उदाएको छिमेकी मुलुक भारतका शासकहरुले पनि अंग्रेजकै पथ पछ्याउँदै अनि उनै पश्चिमाहरुसंग मिसिएर  हाम्रो स्वतन्त्रता र सार्बभौमिकतामाथि धिचोमिचो गर्दै षडयन्त्रको तानावाना बुन्दै गर्दाको परिणाम २००७ साल,२०३६ साल, २०४६ साल, २०५२ साल फागुन १ र २०६२÷६३ निम्तिएको थियो ।

 

हजारौं वर्ष अस्तित्वमा रहने अग्राखको रुख बचाउन, बलियो पार्ने र यसलाई चीरकालसम्म मक्किन कुहिन नदिन भित्री भागमा रहेको रातो चुरो हुने गरे जस्तै कुनैपनि मुलुकको अस्तित्व रक्षा, सार्वभौमिकता, स्वाधिनता, अखण्डता र सिमा बचाउने अग्राखरुपी रुख मुख्य रुपमा सेना नै हो र त्यसपछि क्रमश निजामती र प्रहरी संगठनहरु पनि हो ।

 

जनताले स्वस्फूर्तरुपमा युगानुकूल परिवर्तन र विकास चाहानु अनि शासनपद्धति रोज्दै आफै शासक बन्दै नागरिक सर्वाेच्चता कायम हुनु आफैमा नराम्रो होईन । तर, यसैको नाममा मुलुकको अस्तित्व र पहिचान गुमाउँदै दिनानुदिन राष्ट्रघाती कदमहरु अगाडि बढ्दै जाँदा सेना, प्रहरी र स्थायी सरकार निजामती मूकदर्शक हुनु मुलुक र नागरिकको लागि बिडम्बना र दुर्भाग्यको विषय हो । 


 जन्म दिने आमा भन्दा मातृभूमि ठुलो हो भन्ने कुरा नै बिर्सेर विदेशीको षडयन्त्र, रणनीतिक स्वार्थ र आडभरोषामा जबरजस्ती सत्तासीन हुन पुगेका हाम्रा राजनीतिक दल, नेता तथा अहिलेका गठबन्धनहरुले २०४६ सालदेखि २०७९ सालसम्म आईपुग्दा करिब ८२ वटा राष्ट्रघात गरिसकेका छन । त्यसको तिथि मिति र प्रमाण यहाँ लेख्दा लामो हुन जान्छ । यहाँसम्म आईपुग्दा परिवर्तनको नाममा न त नेपालको आफ्नो भन्ने उद्योग कलकारखाना बाँकी रहे, न त कृषियोग्य भूमि बाँकी रह्यो ।  

 

न त मुलुकको शिक्षाको मेरुदण्ड निर्माण गर्ने ईतिहास बोकेको जेष्ठ त्रिभुवन विश्व विद्यालय र मुलुकको कृषि उत्पादनको आधारस्तम्भको रुपमा रहेको एक मात्र कृषि विश्वविद्यालय नै बाँकी राख्दैछन्  । २०५१ सालसम्म खाद्यान्न तथा अन्य थुप्रै उपभोग्य बस्तुहरु प्रशस्तै बाहिर निर्यात हुन्थ्यो अहिले आएर नेपालमा उत्पादित खाद्यान्नले २ महिना पनि पुग्दैन ।

खाद्यान्नलगायत सबै उपभोग्य बस्तुमा पूर्णरुपमा आयातमुखी भईसकेको छ । न त नदीनाला, प्राकृतिक स्रोतसाधन र बनजंगल नै हाम्रो अधिनमा रहे, न त हाम्रो संस्कृति र सभ्यतासंग सम्बन्ध भएको भाषा, धर्म संस्कृति र मौलिक पहिचान नै बाँकी रहे । 


 धर्महीन संस्कृति विमुख र असभ्य बनाएपछि न त  नेपाली माटोको विचार र दर्शन नै बाँकी रहे, न त नेपालले बोक्दै आएको विश्वबन्धुत्वको दर्शन नै बाँकी राखे, न त राष्ट्रिय एकता, अखण्डता, स्वतन्त्रता, सार्बभौमिकता र स्वाधीनता नै बाँकी रहनेवाला छ । त्यसैगरी अनेकतामा एकता रहेको समाजलाई वहुसंख्यक र अल्पसंख्यकमा विभाजन गर्ने, समानतालाई भन्दा अधिनस्थतामा विश्वास गर्ने, एकीकरण, एकता र अखण्डतालाई भन्दा कलह र विभाजनलाई मलजल गर्ने गरिएकाे छ । 

 

आफ्नो पुर्खाको वलिदानलाई,  स्वाभिमानलाई र गौरवपूर्ण ईतिहासलाई सत्तोसराप गर्ने, चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा, राष्ट्रिय पहिचान र चिन्हमाथि सौदाबाजी गर्ने, राष्ट्र निर्माताहरुको योगदानलाई अपब्याख्या गर्ने, जसले यो राष्ट्रको जग बसाल्यो, पहिचान दियो, सेनाको संगठन स्थापनालगायत मुलुकका सबै प्रशासनिक आधारस्तम्भको निर्माण ग¥यो उसैलाई अपमान गर्दै राष्ट्रिय एकता दिवस समेत खारेज गर्ने काम हालका दल र तिनका नेताहरुले गर्दै आएका छन् ।

 

अनि यो देश निर्माणमा कुनै योगदान नभएका विदेशीहरु महात्मा गान्धी, लेनिन, स्टालिन र माओहरुको तस्बिरहरु देशैभरि टाँगेर र सजाएर सर्वत्र पुज्दै विदेशी भूमिमा विदेशीले दिएको तालिम, हतियार र राशनपानी लिएर नेपाल र नेपाली जनतामाथि धावा बोल्ने, आफ्नै टाउकामा गोली र बम बर्साउने शत्रुहरु अझै भन्नुपर्दा देशै बेच्ने राष्ट्रघाती देश द्रोहीहरुलाई नचिनेर हो कि, मातृभूमिको माटोलाई बिर्सेर हो कि अर्थात् विवेक गुमाएर हो उल्टै कडा सुरक्षा दिंदै सलामी र गुलामी गरिरहेको देख्दा सेना, प्रहरी र निजामतीप्रति देशभक्त नेपालीहरुको विश्वास टुटेको छ । 


 आज मुलुकको प्रहरी, निजामती, न्यायमूर्ति र अख्तियारलाई दलहरुले आफ्नो ढोकाको पाले बनाएका छन र सायद संसारमा यस्ता उदाहरणहरु पनि छैन होला ।  मुलुकमा अहिले मुलुक र जनताको स्वार्थमा काम गर्ने सरकारी निकायहरुपनि सायदै छैनन होला ।

 

आज मुलुकमा न त न्यायकर्मी, निजामती कर्मचारी, डाक्टर, ईन्जिनियर, प्राध्यापक, शिक्षक र विद्यार्थी नै साझा छन् । कुनैपनि दलको सदस्य नभएको नागरिकहरु पनि कमै छन र यसरी सदस्य नबने राज्यबाट पाउने न्याय र सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

 

यसैगरी  हिजो राजतन्त्रकालमा राजा, महाराजाहरुकै छत्रछायाँमा र आशीर्वादमा हुर्केर पदमा पुगेको सम्पन्नशाली भएका साथै उनै राजा महाराजाहरुले खाएर थालमै छाडेको जुठो खान तंछाड मछाड गर्ने भ्रपू तथा बहालवाला सेना तथा प्रहरीका उच्च पदस्थहरु उनै भ्रष्टहरुले देखाएको पद प्रतिष्ठा र अवसरमा रमाएका छन् । यिनीहरुसँग बाहिरी आँखा त छ, तर भित्री आँखाले हेर्न सक्दैनन्, कान छ तर मातृभूमिको चीत्कार सुन्न सक्दैनन् र मुख छ तर सत्य कुरा बोल्न समेत सक्दैनन् ।

 

यसको उदाहरण हो मुलुकलाई धक्का पुग्नेगरी गरिएका दर्जनौ राष्ट्रघाती निर्णय र सम्झौता बारे चुँ समेत नबोल्नु । छिमेकी मुलुकका सेनापतिले नेपालको भूमिलाई उनीहरुको हो भन्ने अभिव्यक्ति दिंदै हाम्रो लिपुलेक लिम्पियाधुरामा बाटो खन्न समेत आउँछन । तर, हाम्रा सत्तासीनहरु न बहालवाला न त भूपूहरु कोही पनि देशको माटोको रक्षाका पक्षमा बोल्दै बोल्दैनन् । यो पनि ठूलो बिडम्बना र दुखद अवस्था हो । 


 कतिपय मुलुकहरुमा राष्ट्रहित विपरीत काम हुँदा सेना, प्रहरी र सबै राष्ट्रसेवक मिलेर मुलुक बचाएको प्रशस्त उदाहरण पनि देख्न र बुझ्न नसक्नु पनि यो मुलुकको अर्काे बिडम्बना हो । ३० वर्षको अवधिमा मुुलुकभित्र अन्यौल र अस्थिरता देखेर, मुलुक र आफ्नै भविश्य नदेखेर अवसरको खेजी गर्दै मुलुकका साठी लाखभन्दा बढी दक्षजनशक्ति सहितका होनाहार युवाहरु आआफ्ना बृद्धा अवस्थाका बाबु आमा र भर्खर भित्र्याएकी श्रीमतीलाई छाडेर विदेशिन बाध्य भएका छन । यिनै विदेशमा पसिना बगाउनेहरुले पठाएको रेमिटान्सबाट मुलुक जेनतेन चलेको छ । 


 नेता, कर्मचारी र सुरक्षा निकायका उच्चपदस्थहरु अकुत सम्पत्ति कमाउने र त्यो पैसा आफ्ना छोराछोरीलाई विदेशतिर बोकाएर पठाउने क्रम पनि बढ्दो छ । नेपाल निकट भविश्यमै मित्र राष्ट्र श्रीलंका र युक्रेनको बाटोमा जाने भविश्यवाणी समेत गरिदैछ । विश्लेषक तथा बुद्धिजीवीहरु तरपनि मुलुकका कुनैपनि निकायको कानमा बतास नलाग्नुले झनै अन्यौलता छाएको छ । 


(हेमशंकर गिरी पूर्वसुरक्षाकर्मी परिषद नेपालका प्रवक्ता हुन् ।)
 

प्रतिकृया दिनुहोस