• शुक्रबार-चैत-१६-२०८०

बाल्यकालको तानसेन, पाल्पाको त्यो दशैं र आजकाे आधुनिक दशैँ...!

 

आफूले तानसेनमा  बाल्यकाल बिताएको हुनाले त्यसबेला तानसेनमा मनाईने दशैँको रमाइलाे झझल्को हरेक दशैंमा आउने रहेछ I  अझ यस वर्ष हाम्रा माता  पिताको देहावसान पछिको “माता पिता अभिभावकविहीन” दोस्रो बर्षको  अनुभूति भिन्न प्रकारको हुने रहेछ I


पाल्पा तानसेनमा  दशैँ  सुरु हुनुभन्दा करिब एक महिना अगाडिदेखि नै दशैंको तयारीको लागि पिंगको निर्माण, घर लिपपोत, खशी, बोका, हाँसको इन्तजाम, तत्कालीन अवस्थामा  हाम्रा गुठियार र आफन्त भीमसेन टोलको ज़मिन्दारहरुबाट हाँस,  हाँसको अन्डा  तराईको खेत वा मौजा  बाट उपहारको रुपमा दिने प्रचलनले सहअस्तित्व र आत्म सम्मानको भाबना हुन्थ्यो I


साथै,   दशैँको लागि भनेर १५ दिन छुट्टी हुने र लामो छुट्टी भनेर स्कूलले “होम वर्क” दिने  चलन थियो I इतिहासको सर्सरती समीक्षा गर्दा, दशैंको लागि गोर्खेकोटबाट बसन्तपुर टोलसम्म बोका (नवमीको दिनमा माता भगवती मन्दिरमा बलि चढाउने  चलन) लाई म र मेरा दाजु बालकृष्णले बोका हिड्न नमानेपछि पद्म  पब्लिक हाईस्कूलको बाटो हुँदै बोकेर घर पुर्याउँदाको बालक कौतुहलता, उमंग र उत्साह जागृत हुन्थ्यो I  


नौरथा सुरु भए पछि प्रत्येक दिन बिहान ४ बजे उठेर नवरात्रिको लागि दैनिक  दुर्गा सप्तसदी पाठ गर्न सानो टर्च लिएर भगवती मन्दिरमा जाने र पाठ गर्ने गरेको स्मरण हुन्छ I त्यो समय भगवती स्थानको भित्रको घुम्ने ठाउँ, र मूर्तिको अगाडिको भूमिमा बस्न समेत स्थानको अभाव हुने गर्दथ्यो ।


खास  गरि अष्टमी, नवमीमा त बसेर पाठ गर्ने सम्भव प्राय हुँदैन थियो I  नौरथाको  नौ दिनसम्म हामी कहाँ पुरेत बजे आएर नै चण्डी पाठ गर्ने चलन थियो I  विहान सबेरै त्यस बेला सारंगी लिंदै गन्धर्वहरू  प्रत्येक घरमा शुभ गीत गाउँदै गाउँदै आउने गर्दथे I  गन्धर्वहरूको त्यो मिठाे धुन र संगीतकाे आवाजबाट समेत निद्राबाट  बिउँझिने को संख्या उल्लेख्य हुन्थ्यो I


  बालकहरु र बयस्कहरु चंगामा सिसा (दिस्तिल वाटरको एम्पुल) पिनेर धागोमा माझा राख्ने र चंगा उडाउने गरिन्थ्यो  I दशैंमा चंगा उडाउँदा र अरूहरूकाे चङ्गा चैट् भन्दा कम्ता मज्जा  आउँथ्याे र । नयाँ लुगा किन्ने र त्यो पनि चीनको  सर्ट लगाउन पाउँदा गौरवको अनुभूति हुने । सर्टमा लगाएको पिन, प्याकिंग हेर्दा अर्कै अनौठो अनुवभव हुने गर्दथ्यो I काठमाडौँ, बनारस लगायत ठाउँबाट आफ्ना आफन्तजनहरु दशैं मान्न घर आउने  I  आएपछि  भेट्न  जाने, त्यो संस्कारमा हुर्केका हामी I


 पानीको समस्याले गर्दा विहान २ बजे  उठेर गाग्रोसहित निशान धारमा पालो राख्न  जानु पर्ने बाध्यता  I अष्टमी  पछि प्रत्येक दिन नुहाउन  रुमाल, कट्टु, गन्जी , ने , चोखो लुगा , साबुन लिएर सिन्दुरे धार (खुला ढुंगे धारा)मा नुहाउन जानु  पर्ने I


नवमीको दिन नयाँ लुगा लगाई बोका अगाडीिलगाई पूजा सामग्री बाेकेर (लिएर)  भगवती थान जानु पर्ने I बुवाले अगुवाई गर्दै अरु छोराहरु पछि पछि लाग्दै जाने   गर्दथ्याैं I फूलपातीको दिन धन्वन्तरीको पूजाको लागि सबै सामान खल,  तराजु ,  मोर्टर र पेस्सल, सफा गरि अष्टमीको लागि  तयार गर्नुपर्ने जिम्मा हामी  बच्चाहरुलाई लगाइन्थ्याे I अष्टमीको रातमा कुसी भ्वयेँ, नवमीमा खसी र हाँसको मासु को अनेक परिकार खाने र ह्याकुला खाएकाे अहिले विशेष स्मरण हुन्छ I


दशैं सुरु हुनु अगाडि नै भोजको लागि केराको पातको बन्दोबस्त गर्नुपर्ने, करिब १५- २० दिन अगाडि नै रोटीहरू खास गरि सेल राेटी, अर्सा, अनार्सा, सयगुली, पाते  रोटी, सिन्का रोटी , फिनी रोटी, झिर, आदि विविध रोटी तयारी गरि आमाले त्यसको  व्यवस्थापन गरेर बेतको डालीमा सुरक्षितसाथ राख्ने  गर्नु हुन्थ्यो I


टीकाको दिनमा  घरको मुलीले अर्थात् बुवाले  टिका लगाई दिने र त्यसबेला दक्षिणाको रकम मोहर, सुका र बढीमा  दस रुपैयाँसम्म हुन्थ्यो कि ? त्यो पनि महिला छोरी बेटी  र बुहारीलाई I सायद येही क्रम को  निरन्तरता  स्वरूप  इन्द्र गुठि काठमाडौँले हाम्रो यो परम्परामा त्यति देखावटी रवाफ गरेको छैन I


अष्टमी कालरात्रिमा भगवती माताको दर्शन, फुर्सदको समयमा वनदेवीकाे दर्शन, नवमीको दिन सबै  देवी देवताहरुको मन्दिरमा पूजा अर्चना हुने गर्दथ्यो I कामको सिलसिलामा काठमाडौँमा रहँदा  बस्दा काठमाडौँकै हिसाबले दशैं  हर्षाेल्लाहसका साथ मनाउादै आई रहेका छौं I  भक्तिभावमा समानता भएपनि  पाल्पाको  “फ्लेवर” पाउने अपेक्षा गरिएको हुन्छ I  जुन  समयसंगै बदलिएको उलटपलटबाट पाउन कसरी सम्भव होला ?


 अहिलेको दशैँ प्रविधि अनुसार सेल्फी लिने र तपाईंको खानाको तस्बिरहरू क्लिक गर्ने र तिनीहरूलाई अनलाइन पोस्ट गर्ने गरेकाे बढी नै पनि देखिन्छ। दशैंमा यति धेरै बालबालिका लगातार आफ्नो फोन, आईप्याड र ट्याब्लेटमा व्यस्त रहेको देख्दा स्क्रिन समय घटाएर मानव सद्भाव, प्रकृतिप्रतिकाे समय बढाए कति राम्राे हुने थियाे हाेला ? तर, आजकाे समय र समाजमा याे कति सम्भव छ थाहा छैन । अहिलेका पुस्ताहरूले चाडपर्वको आनन्द वा आफन्तको संगत पाएनन् । स्पष्ट रूपमा, आजको संसारमा “भर्चुअल खुसी” बढी महत्त्वपूर्ण छ I


 अहिले दशैंमा चङ्गा उडाउने चलन हराउँदै गएको छ । अन्य हिन्दू चाडहरू जस्तै दशैं  रमाइलो अवसर त बनेको छ ।  तर, दुखद पक्ष चाडपर्वको महत्व हराउँदै गएको छ I परम्परागत नेपाली खाना पनि आजकल घरमा कमै पकाइन्छ । यो चाडको सिजनले धेरै मानिसहरू रेस्टुरेन्टहरूमा गएर बन्द बुना समूहसँग आफ्नो समयको मजा लिइरहेको देखिन्छ ।


 सांस्कृतिक र धार्मिक महत्व अहिले लगभग हराइसकेको  हो र ?,’ रमाइलोसँगै बालबालिकालाई आफ्नो माैलिक संस्कार, परम्परा, संस्कृति र परम्पराको संरक्षणको महत्त्व पनि सिकाउनुपर्छ भन्नेहरुको पनि कमी छैन ।


एकातिर दशैंको पर्वमा आएको परिवर्तनप्रति धेरै मानिस असन्तुष्ट देखिएका छन् भने धेरैजसो युवाहरूले हाम्रा संस्कृतिहरू परिवर्तन भइरहेका छन् र राम्रोका लागि विकसित भइरहेका छन् । पुरुषका लागि परिकार पकाउन महिलालाई भान्साकोठामा मात्रै सीमित राख्ने परम्परागत धारणा परिवर्तन हुँदै गएको छ ।


दशैं सामूहिक भेला र सामूहिक प्रार्थनाको समय थियो ।  यो एकता, पवित्रता र शुभताको पर्व थियो। जन संख्या बढे अनुसार अहिले मन्दिर जाने प्रचलन त बढेकै छ ।  बिदा भयो कि मन्दिरमा लामो  लाईन लाग्ने गरेकाे त देखिन्छ I


हिन्दू पौराणिक कथा अनुसार दशैंको नौ दिन दुर्गा र महिषासुर बीचको युद्धको प्रतीक हो जसले देवलोकमा देवताहरूको बासस्थानमा आतंक मच्चायो। दशौँ दिनमा दुर्गाले महिषासुरलाई परास्त गरेको भनिन्छ । महाकाव्य रामायणका अनुसार यस दिनलाई रामले रावणलाई पराजित गरेको दिनको रूपमा पनि मनाइन्छ।


पहिले दशैंमा आशीर्वाद लिनका लागि मानिसहरू आ-आफ्ना ठूलाघरमा जाने गर्दथे । अहिले टिका लगाउनुको मुख्य उद्देश्य ती तस्बिरहरू सामाजिक सञ्जालमा देखाउनु जस्तै अलिक नाटकीय महसुस हुन थालेकाे छ । टिका लगाएपछि तस्बिर खिच्न अनेक पोज दिन्छन्, कहिलेकाहीँ राम्रो तस्बिर खिच्नका लागि अभिनय दोहोर्‍याउँछन् I टिकटकमा रमाउँछन् । यस्तै छ, याे युगकाे चाडबाडकाे चहलपहल ।

प्रतिकृया दिनुहोस