• शनिबार-बैशाख-८-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

 

दशैं शुरु भइ सकेपछि मुलुकको मनोसामाजिक कोलाजमा
बाछिट्टा परेका आचमनि छिर्काहरुले निकालेको आभा रोमाञ्चक छ ।
कसैको कसैप्रति जवावदेहिता छैन र सबका सब मुलुकका हर्ताकर्ता ।
न पुगिने गन्तव्यमा छन कोही र कोही नपुगिने बाटोमा ।
र, पनि, सब मस्त देखिन्छन् दशैं मनाउन ।
सबसित मुलुकका गौरब अतीत सारथि छ ।
निस्तो वर्तमानमा गौरब अतीतको बर्को ओढेर हिंडेका हुलमा
मुलुकलाई काँध दिनसम्म कोई तयार छैनन् ।
सबका सब एक्ला र सबका सब फुक्काफाल ।
बजारमा किनमेल र कारोबार दुबैमा आर्थिक मन्दीको चिल छायाँ छ ।
झुसिल बोके मन्त्री र तिनका अनुचर विशेषज्ञहरु बेखबर गरिराख्या छन ।
तिनलाई लागेको छ, यो मन्दी क्यै होइन वाहियात कुरा हो ।
जिउको छालामा देखिएको सानोतिनो खोस्रिएको दाग मात्रै हो ।
यस्तोमा, मुलुकमा मुठभेड अवश्यंभावी छ ।
गैरदेशीय हुल भित्रिने संत्रास देखाएर एकथरि
आफ्नै मुलुकमा बोनाफाइडहरुलाई अनागरिक बनाउन नाभिको हुँइयामा छन ।
मानौ तिनीहरु बाहेक सबका सब भगौडा हुन, मुलुकका ।
उर्बर, उत्पादनशील उर्जालाई आफ्नो देशसित जोड्न नदिएर
शीतल निवासका बोसे आन्द्रेहरु के खोजिराख्या छन
इतिहास पनि धमिलोमा परेको छ । 
तिनले यो दशैं कल्की जमरा सिउरिएर मुलुक उधारेर बस्नेछन ।
यस्तोमा, मुलुकमा मुठभेड पक्कापक्की छ ।
आइएल टिएस र ए लेवलको जाँच दिने एक हुल किशोर जमात
कोठामा थुनिएर एक्लो परेको छ ।
मुलुकको स्क्रिनमा ती आफूलाई कतै भेट्दैनन् ।
तिनमध्ये आधाभन्दा बढीको ध्याउन्ना नक्कली कागजात बनाउन केन्द्रित छ ।
यस्तोमा, मुलुकमा मुठभेड भन्दा अर्थोक हुन पनि के सक्छ ।
हुलका हुल मानिस दशैंको मुखमा बेबारिसे भएर लस्करमा हिंडेका छन ।
न ठाउँ, न रहर दुबैको पत्तो छैन ।
ती मुलुकसित छन भनेर कोई खोक्छ भने, त्यो ध्वंस मात्रै हो ।
लाहुर भर्तीको दृश्यबाट उद्वेलित भएका कम्युनिष्टहरु जस्तै
सबका सब थकित र बेकामे भएका छन ।
तिनलाई भर्ती केन्द्र दुख्न छोडेको छ ।
पाए आफ्नै भाई भतिजालाई लाइनमा उभ्याएर माक्र्सवाद कन्न लागेका छन ।
आजको दिनमा,
कोही कसैसित जोडिन्नन्, सबका सब आफैमा मपाइँ र ठिस ।
मुलुकसित टालो हुनुको गर्व मात्रै बाँकी  छ ।
यस्तोमा, मुलुकको मनोसामाजिक कोलाजमा
तपाई आचमनि छिर्का रङ्गहरुमा आफ्नो अनुहार खोजी बस्नु हुन्छ भने
यो दशैंको सबभन्दा बेबारिसे मानिस तपाई हो ।
भो, लिङ्गे पिङ्ग र रोटे पिङ्गको कुरा छोडि दिउँ । 
भो, रातो टिकामा जमराको विजयी भवः भावको गौरब पनि छाडि दिउँ ।
दशैंको मुखमा गहभरि आँशु थापेर देशबाट निस्किनेहरुको लाममा
एक निमेष भए पनि उभ्भिएर हेर्नुस
धरोधर्म,
यो मुलुकसित तपाईको घृणा मात्रै होइन, शत्रुता पनि बढ्ने छ ।
भुँई मानिसको रिस नउम्लिएर
श्रीलंका हुनबाट जोगिएको मुलुक होइन, यो ।
यस्तोमा, मुलुकमा मुठभेड त हुन्छ हुन्छ ।
को कसरी कहाँ भाग्ने हुन र शरण लिने हुन ।
जोखना हेरिबसे हुन्छ ।

प्रतिकृया दिनुहोस