• बुधबार-बैशाख-१२-२०८१

कालजयी कवितामा तरबारको धार

 

कविताको रंग छुट्ट्याउनु कठिन काम हो । चामलमा रहेका बियाँ र कनिका छुट्ट्याउने काम सजिलो कहाँ हुन्छ र ? तर, पनि संकलनको परम्पराको निरन्तरता दिदै एक सय एक कविका कविता संकलन गरेर तयार गरिएको सङ्ग्रह हो यो । कवि, कलाकार पेशेवर होइनन् भन्ने गरिन्छ । पेशा भनेको त व्यापार वा रोजगारी मात्र हो । अहिलेको समाजले बुझेको यही हो । यसरी सबैले नरुचाएको तर धेरै लेखिदै आएको कविता विधा कसरी कालजयी भयो यो विषयमा केही चर्चा गरौँ ।


सिद्धहस्त कविता लेखनमा सक्रिय रहेका कवि कृष्ण कुमार सुवेदी (कृसु क्षेत्री)ले कालजयी नेपाली कविताको संकलन गरे । पहेँलपुर सुनको खानीमा कुन असल र कुन खराब छुट्ट्याउन पक्कै सजिलो काम हैन । फेरि यो काम जसरी आफूलाई न्याय गरे भन्ने हिसाबले गरिन्छ, अर्कोले आफू अन्यायमा परेको ठान्छ । यो स्वभाविक प्रक्रिया हो । सबै राम्रा काम गर्दा अपजसको भारी बोकेर आफैँलाई आफूले नदेखेझैं हिँड्नु पर्छ । यो आत्म समीक्षा हो । कसैमाथिको आरोप हैन । 


कालजयी कविता समयको प्रतिनिधित्व गर्ने कविताहरूको सङ्ग्रह हो । एक सय एक कविका रचनालाई तुलोमा राखेर बोडी, सासेर, हमाली, बिसौली र धार्नीमा विभाजन गर्न त्यति सजिलो छैन । फेरि समय, उमेर र लेखन चातुर्यताका हिसाबले न्याय गर्नु र गर्नका लागि भाग बनाउनु पूर्व खसी काट्ने हिम्मतभन्दा कम हुँदैन । 


खोजीको कुरा कहाँ के छ भन्ने थाहा पाउनु र पाएको कुरालाई गहिरिएर हेर्नु पनि हो । धर्तीमा भएका जडिबुटी त लोपभइसके । युगिन कागजमा लेखिएका लिखोट खोज्ने काम सजिलो छैन । त्यसमा काल, पक्ष र कविताको बोध र बोधगम्यतालाई उजागर गर्ने कुरा मामोली होइन । त्यसैले त कालजयी बन्यो ।


सुवानन्द दास, यदुनाथ पोख¥याल, भानुभक्त र सन्त ज्ञानदिल दास, राजीवलोचन जोशी पछि मात्र मोतीराम भट्ट भेटिन्छन् नेपाली कविता लेखनमा । यी सबैका कविता खोज्नु समुन्द्रमा हिरा खोज्नुभन्दा कठिन कार्य हो । भेटिएका कविताको भाव, बिम्व र भाषिक परिवेशलाई बुझ्नका लागि घोत्लिनु पर्छ । यदि यसमा कुनै कमजोरी भएको त्यसको दोषको भागिदार सम्पादक बन्नु त छँदैछ । 


मोतीराम भट्ट भन्दा पछिका कविका कविता पाउन केही सहजता छ । तर, छनोटको समस्या छदैँछ । कविता लेखनको परम्परामा छन्दलाई मानक मानिएको त्यो समय छन्दबाहेक कविता हुँदैन भन्नेहरुका लागि स्वछन्द कविहरुको उदय भयो । यसैले गण व्यवस्था र स्वछन्द कविले एक अर्कालाई अपनाउन सकेनन् । 


छन्द विना पनि सशक्त कविता बन्छ भन्ने कुरा बुझ्नका लागि गोपाल प्रसाद रिमालसम्म आइपुग्नु प¥यो । त्यसपछि नेपाली कविताको आँगन उर्भर कविताले हराभरा भइ बगैंचामा परिणत भयो । 


कविता लेखनको हिसाबले बिक्रम संवत १८२० मा जन्मिएका सुवानन्द दासदेखि २०३२ सालमा जन्मिएका कृसु क्षेत्रीसम्मका कविता छन् । कृसु यो सङ्ग्रहका कान्छा कवि हुन् । ९० जना पुरुषको अधिपत्य रहेको कृतिमा ११ जना महिला कविहरू समावेश छन् । पारिजातपछि महिला कविको लामो खडरी चिर्नका लागि कुन्दन शर्मा, बानिरा गिरी, भुवन ढुंगाना र कुन्ता शर्मालाई पर्खिनु परेको छ । 


बेञ्जु शर्मा, तोया गुरुङ, मञ्जु काँचुली, उषा शेरचन, शारदा शर्मा र कान्छी मोमिला छिन् । कविताका आधारमा यी सबै अब्बल छन् । आफ्ना कविताका विद्रोह र चैतन्यको सशक्त प्रयोग भएका यी कविमा कुन्ताको ‘पोथी बास्नु हुँदैन’ले अधिक चर्चा बटुलेको थियो । 


लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मी प्रसाद देवकोटा र माधव प्रसाद घिमिरेको युगपछि आएका भूपि शेरचन, भीमदर्शन रोक्का, रत्न शम्शेर थापा, कालीप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, दिनेश अधिकारी, भूपाल किराती र श्रवण मुकारुङका कविताभन्दा थोरै कविता लेखेर पनि चर्चामा रहेका मोहन कोइराला, वैरागी काइँला शेखर गिरीका कविता कमजोर छन् । तर, एक समयमा धेरै सुनिएका कविता भएका कारण क्षेत्रीले तिनै कविताको छनोट गरेका छन् । 


कालजयी शब्द आएपछि आफूलाई यौनवादी लेखकको रूपमा चिनाएका र परिचय बोकेका पुष्कर लोहनीको कविता यहाँ नराखेको भए हुन्थ्यो । त्यसैगरी गोपाल पराजुली, गोविन्द गिरी ‘प्रेरणा’ र शशी लुमुम्बूका यी कविता नपरेको हुन्थ्यो जस्तो लाग्छ । पाठकीय आँखाले अरुका कविताको ओजसँग दाँजेर हेर्दा । 


एउटा कुरा के हो भने, कृसुले लेखनलाई मात्र नभएर समयकोसमेत मापन गरेकाछन् भन्न सकिन्छ । यदि समयको मापन नगरी लेखनलाई मात्र हेरेका थिए भने आफ्ना लगौटिया साथीहरू मनोज न्यौपाने, ठाकुर वेल्वासे, चेतनाथ धमला र गोवद्र्धन पूजालाई समाहित गर्नुपर्ने हो । त्यो गरेका छैनन् । यसले उनले सकेको न्याय नै गरेका छन् भन्ने देखिन्छ ।


अघिल्लो समयमा लेखिएका कविताले भक्तिगान, स्तुतिगानको प्रतिनिधित्व गरेका छन् । दोस्रो चरणका कविताले विद्रोहको चेत सशक्त पारेका छन् । पछिल्लो समयका कविका कवितामा देशभक्ति, सामाजिक चिन्तन र देशको अवस्था माथि चित्रण गरेको पाइन्छ । कतै आफ्नै जीवनप्रतिको रोष र कुण्ठा पनि छ । दुबसुको कविताले आफैंलाई ‘साले’ बनाएर अनादर गरेको छ । यो आफूलाई गाली गरेको जस्तो देखाएर अहिलेको व्यवस्थामाथि निर्मम प्रहार हो भन्ने कुरामा दुविधा छैन् । 


कविताले मानवीय नियतबारे चर्चा गरेका छन् । हाम्रो लालसा केमा छ, हाम्रो लालित्य केका लागि हो भन्ने बुझाउनु कविताको धेय रहेको देखिन्छ । वी.पी कोइराला नेपाल–भारत फाउण्डेशनले प्रकाशनको जिम्मेवारी लिएको यो कृतिलाई साझा प्रकाशनले बिक्री गरिरहेको छ । यो पुस्तक बिक्रीबाट भएको आम्दानी साझा प्रकाशनको नै हुनेछ । यसले ओइलाउँदै गएको साझा प्रकाशनलाई केही थोपा सिञ्चित हुने छ । 


परराष्ट्र सेवामा रहेर नेपाली साहित्यको श्रीवृद्धिका लागि लागिरहेका क्षेत्रीका कविता, गजल, भाषा, साहित्य र संस्कृतिका विषयमा नौ वटा कृति प्रकाशित रहेका छन् । झापामा जन्मिएका उनी हाल काठमाडौंको विशालनगरमा बस्छन् ।

प्रतिकृया दिनुहोस