• शनिबार-बैशाख-८-२०८१

ठुला राजनीतिक दलका नेता विदेशी प्रभावमा छन्

नेपालमा इमान–जमानको बाँझो परेको छैन 

 

(शर्मा ०५७ देखि ०६३ सालसम्म राष्ट्रिय अनुसन्धान विभागको प्रमुख भएर सेवा निवृत्त भएका हुन । उनको राष्ट्रिय राजनीतिमा विशेष चासो रहँदै आएको छ । २०७९ मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठन भएको छ महिना नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र लहरलाई उनले स्वभाविक रुपमा लिएका छन् । मुलुकमा ठुला दलको कुशासन बढकै कारण नयाँ नयाँ दलको उदय भएको उनको ठहर छ । आम निर्वाचनको मत परिणाम, सरकार गठन, मुलुकको आम राजनीति भविष्य, विदेशी सुरक्षा चासोलगायत विषयमा केन्द्रित रहेर साँघु साप्ताहिकका लागि रामहरि चौंलागाईं र बोधराज पौडेलले गरेको कुराकानीको मुख्य अंश : सम्पादक) 


० भर्खरै सम्पन्न भएको आम निर्वाचनको मत परिणामलाई तपाई कसरी मूल्यांकन गर्दैहुनुहुन्छ ?
–आम निर्वाचन भनेको लोकतन्त्रको सबैभन्दा उत्तम विधि हो । जनताको आफ्नो हक अधिकारका लागि यो हुनु भनेको राम्रो पक्ष हो । समयमा भएको निर्वाचनले धेरै कुराको निकास दिन्छ । केही छिटपुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भयो । अहिलेको निर्वाचनमा मतदाताको उत्साह भने कम देखिएको छ । काठमाडौं जस्तो क्षेत्रमा आठ हजारभन्दा कम मत ल्याएर जित्नुले यो पुष्टि गरेको छ । चितवनमा भन्दा काठमाडौंको मत खस्नेक्रम कम देखिएको छ । यो प्रणालीका लागि नै खतराको संकेत हो । 


० कम मतदान हुनुको कारण के ठान्नुहुन्छ नि ?
–हाम्रो मतदान गर्ने उमेर समूहका धेरै मतदाता मुलुक बाहिर छन् । अहिलेको तथ्यांकलाई हेर्ने हो भने ६० देखि ७० लाख मतदाता बाहिर रहेका छन् । हरेक दिन बाहिर जाने युवालाई रोक्नका लागि हामीसँग कुनै योजना छैन । उनीहरु आफ्नो परिवार पाल्नका लागि दशैं, तिहार परिवार सबै छोडेर बाहिर गएका छन् । यो निरन्तर रुपमा भइरहेको छ । चुनावकै दिन पनि ७ सयको हाराहारीमा विदेशिए । सरकार, राजनीतिक दल र कार्यकर्ताले समेत यसरी विदेशिनेलाई रोक्न सकेनन् । उनीहरुलाई देशको भन्दा बढी परिवारको चिन्ता भएका कारण यसो भएको हो । अर्को कुरा भनेको सत्तामा बसेका र सत्ता चलाई सकेका ठूला दलहरु र तिनका नेता र पार्टीप्रति मतदाताको वितृष्णा पनि हो । यो राम्रो संकेत होइन ।


० यो क्रमलाई रोक्नका लागि के गर्दा उपयुक्त हुन सक्छ त ?
–यस्तो गम्भीर विषयमा राज्यका निकाय र राजनीतिक दलले विशेष समीक्षा गर्नुपर्छ । पूर्व प्रधानमन्त्री र पार्टीका महासचिवहरु हार्नु राम्रो पक्ष होइन । पटक पटक मन्त्री भएका व्यक्तिहरु किन हारे भनेर त्यसको कारण खोज्नुपर्छ । यो मतका कारण मात्र होइन नेताको सामाजिक र राजनीतिक व्यवहारका कारण पनि भएको हुनसक्छ । यो विषयलाई एउटा बहसको विषय बनाउनु पर्छ भन्ने हो । अब पार्टीले नयाँ औजार र उमेदवारको चयनमा ध्यान दिनुपर्छ । अहिलेको चुनाव युवाप्रति आकर्षित भएको देखिन्छ । नयाँप्रति आकर्षित हुनुपनि राम्रो हो ।

 

पार्टीभित्र भएको सिन्डिकेट तोडिनुपर्छ । सिन्डिकेटले आफू र आफूले चाहेको मात्र जिताउने जुन नीति छ त्यो राम्रो होइन । सिन्डिकेटले जनताको अभिमत जित्न सकिन्न भन्ने कुरा अहिलेको निर्वाचनको परिणामले देखाएको छ । कतै लोकप्रिय उम्मेदवार नपाएका कारण मतदाताले अर्को उम्मेदवार छानेको अवस्था पनि छ । यसले भोट क्रसिङ भयो । पहिला एउटै मात्र पार्टी भनेकाले पनि नयाँ पार्टीलाई मतदान गरे । यसले पार्टीभित्रको घात अन्तरघातलाई प्रश्रय दिन सहयोग ग¥यो भने कतिपय अवस्थामा उदासिनता पनि देखियो । यी सबै कुरामा पार्टीले ध्यान पु¥याउन सकेको भए अहिलेको अवस्था आउने थिएन ।


० नयाँ राजनीतिक दलको रुपमा स्वतन्त्र पार्टीहरुको धमाधम उदय भइरहेको आम निर्वाचनमा उनीहरुको उपस्थिति आश्चर्यजनक रुपमा देखिएको छ । यो विषयलाई यहाँले कसरी विश्लेषण गरिरहनु भएको छ नि ?
–यो विषयलाई हामीले सुखद रुपमा नै लिनुपर्छ । नयाँ राजनीतिक दल प्रचार प्रसार पनि धेरै गर्न नसकेको दलले ल्याएको यो परिणामले आशा जगाएको छ । एउटा संचारकर्मीले देखाएको यो हिम्मतले बौद्धिकता पनि प्रकट गरेको छ भनौं वा तार्किक क्षमता भनौं । त्यसका कारण एउटा भोट घण्टीलाई दिउँ भन्ने मतदाताको मनमा परेको हुनसक्छ । योभन्दा पहिला राप्रपाको पनि यस्तै भएको थियो । त्यो बेला कमल थापाको पार्टीले २५ सिट जितेको थियो । त्यसलाई पार्टीले बचाउन सकेन । अर्को चुनावमा एकसिट पनि जित्न सकेन । अहिलेको अवस्था पनि यही । अव रविको पार्टीले आफ्ना एजेण्डालाई जनतामा स्थापित गर्न सकेको खण्डमा त्यसले निकासको एउटा बाटो देखाउन सक्छ । नत्र कमल थापाको जस्तै हालत हुन्छ ।  


० पुराना राजनीतिक पार्टीप्रति मतदातको कम उस्ताह हुनु र नयाँमा चाख बढ्नुको कारण के हुन सक्छ नि ?
–हामीसँग दुईवटा समस्या छन् । पहिलो भनेको २०४८ सालदेखि निरन्तर तिनै अनुहार चुनावमा देखिएका छन् । अर्को भनेको हामीले आफ्नो उत्तराधिकारी जन्माउन सकेनौँ । आफूमात्र चुनाव लड्नु पर्ने अरुले जिते केही गर्न सक्दैन भन्ने सोच छदैछ । यसले एक व्यक्तिले मात्र सेवा सुविधा पाएर लाभान्वित हुने प्रवृत्ति बढ्यो । 


० मुलुकको बागडो सम्हालिसकेका पार्टीलाई पाखा लगाएर नयाँ राजनीतिक दललाई मतदाताले विश्वास गर्नुको कारण के हुन सक्छ ?
–नयाँ शक्तिको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नीति अपनाएको छ । हेरौँ यसले केही गर्न सक्छ कि । अहिले हाम्रोमा रु. २१ खर्ब ऋण छ । त्यसमा १० खर्ब आन्तरिक र अन्य बाह्य ऋण रहेको छ । जनताले विदेशी ऋणको भार किन बोक्ने भन्ने छ । यसको कारण के हो विकासका योजना नबन्ने तर ऋण मात्र लिने प्रवृत्ति मौलाउनु राम्रो होइन । एक पटक ऋण लिएर लगानी गरेपछि त्यसले आत्मनिर्भरता बढाउनु पर्ने हो त्यो हुन सकेको छैन । अर्को कुरा भनेको रोजगारीको कुरा हो । अहिलेका राजनीतिक दलले कुनै प्रकारको रोजगारीको सिर्जना गर्न सकेका छैनन् । रोजगारीको विकल्प भनेको वैदेशिक रोजगारीमात्र हो भन्ने भएको छ । भ्रष्टाचार चुलिएको छ । यसका लागि ठुलो कसरत गर्नु पर्दैन । महालेखाको प्रतिवेदन हे¥यो भने यो कुरा पुष्ट हुन्छ । कुनैपनि कार्यालयमा जाँदा पैसा विना काम हुँदैन । यसले पुरानालाई विश्वास गर्न कठिन हुन थालेको हो ।


० प्रदेश सरकारले देशको आर्थिक व्यभार बढाएको गुनासो बढेको छ । प्रदेश आवश्यकता छैन भन्ने सन्देश दिनका लागि केही दलले उम्मेदवारी नदिएको देखियो नि ?
–रवि लामिछानेको पार्टीको कुरा गर्न खोज्नु भएको हो भने यो कुराको संकेत गरेको छ भन्न सकिन्छ । उसले प्रदेशमा एउटा पनि उम्मेदवार उठाएको छैन । मतदातालाई बुझाउनका लागि उदाहरण गर्न सकिने यो एउटा विषय हुन सक्छ । उसको घोषणा पत्रमा पनि यो विषय उठेको छ । अर्को रोजगारी र सुशासनको विषय छ । पुराना दलले शून्य सहनशीलताको नारा भन्ने तर व्यवहारमा लागु नगर्ने पाइएको छ । यो पार्टीले के गर्छ त्यो भने हेर्न बाँकी छ । लाभका पदमा आफ्नो झण्डामुनी रहेकालाई पठाउने परम्परालाई यो चुनौती हुनसक्छ । सरकारमा रहनेलाई पनि यो कदमले खबरदारी गर्न सक्छ । अब यो पार्टीले संगठन विस्तार र आफूले गरेका घोषणाको परिपालना गर्न सके टिक्ने हुुन । नत्र यी पनि अरुको बाटोमा जाने निश्चित छ । नत्र केपी ओलीले भने जस्तै यी खहरे हुन आउँछन, जान्छन् भन्न सकिन्छ । 


० राष्ट्रिय स्वतन्त्र पार्टी गठनदेखि निर्वाचनसम्म पनि बाह्य शक्तिबाट चलखेल  भएको समाचारहरु बाहिर आएका छन । तपार्ई पूर्व गुप्तचर प्रमुखको हैसियतले यो विषयलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
–अन्तर्राष्ट्रिय समुदायले स्थापित नेताहरुको विषयमा चासो राख्नु स्वभाविकै हो । चितवनमा सुरेन्द्र पाण्डेले चुनाव हार्नु भयो । स्वतन्त्र पार्टीले दुईवटा निर्वाचन क्षेत्रमा विजय हासिल ग¥यो । त्यस्तै, काठमाडौंमा उपत्यकामा रहेका १५ सिट मध्ये ४ सिटमा उसले विजय हासिल ग¥यो । स्थापित नेताहरु विस्थापित भए । बालेनको महानगरमा जसरी उदय भयो नि अहिले यी पनि उसै गरिआएको देखिन्छ । फरक के हो भने बालेन स्वतन्त्र भएर चुनाव जितेका हुन् । रवि लामिछानेहरुले पार्टी गठन गरेर  चुनावमा होमिए ।

 

तर, जे जसरी आएपनि योजना बनाएर आएका छन् । उनीहरुले आफ्नो योजना अघि सारेका छन् । पुराना नेताप्रतिको विकर्षणका कारण फाइदा उठाउन सफल भए । मतदाताले युवा चाहे, परिवर्तन चाहेको पाइयो । कतिपय नेताको अनुहार टिभीमा पनि हेर्न नचाहाने परिस्थितिका कारण पनि घण्टीले अवसर पाएएको हो । नेताहरुमा मौलाएको पक्षपात, काखापाखा, परिवारवाद, नातावादका कारण पनि धेरैको मन मस्तिष्कमा यो नेता खराब हो भन्ने भान परेको छ । यो र ऊ नेता भन्ने होइन । अहिले देखिएका प्राय ः सबै जसो नेताको यस्तै खराब प्रवृत्ति छ । यसलाई रोक्न पनि यो शक्ति बलशाली हुन सक्छ भन्ने ठानेर मतदाताले मत दिएका हुन् । 


० ठुला दलको अत्याचार र परिवारवाद रोक्ने क्षमता स्वतन्त्र पार्टीमा होला त ?
–आफू सकुञ्जेल आफू, नभए छोरा छोरी र श्रीमतीलाई राजनीतिमा ल्याउने गलत परम्परा बस्यो । यो प्रवृत्ति हरेक जसो पार्टीमा देखियो । पार्टीभित्र पनि गुट उपगुटको कुरा उधुम रुपमा मच्चियो । कुन नेता र कसले देश र जनताका लागि राम्रो गर्छ उसलाई अघि ल्याउ भन्ने भएन ।  मतदाताले राम्राको कदर भएन हाम्राको मात्र कदर भयो भन्ने बुझे ।  नियुक्ति र बढुवामा पनि थैलीको चलखेल, यस्तै गलत प्रवृत्ति नै हावी भयो । राजनीतिक नियुक्ति सबै ठेक्कापट्टा जसरी चल्न थाल्यो । यी समग्र प्रक्रियाले गर्दा  नै हो नयाँ पार्टीको जन्म र लोकप्रियता बढ्न पुगेको हो । 


० नेताहरु विदेशी दवाव र प्रभावमा छन् भनिन्छ, रास्वपा पनि त्यसमा जोडिन आएको एउटा समूह मात्र हो भन्ने हिसाबले चर्चा हुने गरेको छ, यस विषयमा तपाईंको धारण के छ ?
–विदेशी शक्तिको कुरा गर्ने हो भने पुराना किन विस्थापित भएर नयाँ स्थापित हुन खोज्दैछन् ? यो उनीहरुले नेपालको अवस्था कसरी अगाडि बढ्छ भनेर सोच्ने एउटा कारण हुन सक्छ । अर्को के हो भने रास्वपा वा रविलाई टीभीमा चिनेको हिसाबले पनि मत दिएको हो । तर, लामिछानेको दुईवटा पासपोर्ट (अमेरिकन र नेपाली) । अमेरिकाको नागरिकता नत्यागी संचार गृहमा काम गरेको पाइएको छ । उनको अमेरिकामा पनि दुई तीन वटा मुद्दा छन् भन्ने कुरा पनि सार्वजनिक भएका छन् ।

 

यही कुरालाई आधार मानेर सहयोग गरे भन्ने कुरा सत्य होइन । यसका लागि प्रमाणको आवश्यकता पर्छ । त्यो तथ्य र प्रमाण कसैसँग छैन । यसले उनी विदेशबाट संचालित छन् भन्ने भ्रम चिर्न सहयोग गर्छ । हारेका दलका नेताले लगाएको यो एउटा आरोप हो । यसका लागि त नेताले आउनुस् मिलेर काम गरौँ भन्नु पर्ने हो । विदेशीको सहयोगीको कुरा गर्ने हो भने २०४८ सालदेखि अहिलेसम्म कुन चाहिं नेता विदेशीबाट प्रभावित हुन बाँकी छन् र ? भन्ने प्रश्न उठ्छ । 


० मुलुकको ठुला नदी नाला, राष्ट्रिय सम्पदा, योजना विदेशीलाई सुम्पनुको पछाडिको कारण नेता अरु देशको प्रभावमा परेको प्रमाण हो ? 
–राष्ट्रघातका सन्धि संझौताले यो प्रश्नको पुष्टि गर्छ । एमसीसीमा १२ बुँदे व्याख्यात्म्क टिप्पणी केका लागि ? गलत भएको छ अव सुधार गरौँ भनेर  गरिएको होइन ? महाकाली सन्धिलाई हेरौँ । नौ हजार मेगा वाटको अपर कर्णाली नौ सयमा दिए । सेतीको कुरा गरौँ । नेपालले गर्न सक्दैन के गर्ने भन्ने लाचारी प्रस्तुत गरे । नेपाल जलस्रोतमा धनी मुलुक अब यही हिसाबले काम गर्ने हो भने ५०/५२ प्रतिशत पनि हुँदैन । सम्पूर्ण जलस्रोत विदेशीको कब्जामा गइसक्यो । महाकाली, कालापानी र सुस्ताको हालत सबैलाई थाहा भएकै विषय हो ।

 

अर्को प्रसंग
० सीमा विवाद कसरी हल गर्न सकिन्छ ?

 –दिनदिनै सीमाना सारिएको छ, नेपालको सीमाना मिचिएको छ । सरकारले सो विषयमा बोल्न सक्दैन । अहिलेसम्म नेपालको क्षेत्रफल यति हो भनेर किटान गरेर राख्न सकिएको छैन । यी कुरा राष्ट्र र राष्ट्रियताका गम्भीर विषय हुन् । यहाँ कुन विदेशी पाहुना कुन प्रधानमन्त्रीको पालामा आएर बस्छ, त्यसपछि नयाँ खेल सुरु हुन्छ यी कुरा नेपाली जनताले बुझिसकेका छन । त्यसपछि सरकार परिवर्तनको संकेत बाहिर आउछ । यी सबै कसरी भइरहेको छ भन्ने कुरा जगजाहेर भएको विषय हो । यसको अर्थ के हो भने मुलुकमा वैदेशिक हस्तक्षेप र वैदेशिक चासो बढ्दै गइरहेको छ भन्ने संकेत हो । यसलाई सच्चा राष्ट्रवादी, देशभक्त मानिसहरुले चासो राख्नुपर्छ । नेपालमा इमान जमानको बाँझो परेको छैन र नयाँ सांसद र दलले केही गर्छन् कि भन्ने आश गर्न सकिन्छ । 


० आम निर्वाचनबाट उदाएका साना दलले यी काम गर्न सक्लान र ?
–उनीहरुको संसदमा बहुमत हुँदैन । सरकार बनाउन पनि सक्दैनन् । तर, राष्ट्रिय मुद्दाका विषयमा दह्रोसँग बोल्न सक्छन् । संसदमा बोलेपछि जनतामा चासो बढ्छ । चोसोले सत्यको खोज गर्न÷ अघि बढाउन सहयोग गर्छ । विरोध गर्न पनि बाहिरको सांसद चाहिन्छ । पार्टीका सांसदले त दलले उठाएको विषयलाई समर्थन र प्रतिपक्षकोलाई विरोध गर्छन् । स्वतन्त्रले राष्ट्रलाई आहात हुने कुरालाई रोक्न सक्छन् । यति गर्न सके भने जनताको हित हुन्छ । अहिलेको अवस्थामा यो पनि ठूलो कुरा हो ।  


० राष्ट्रियतासँगै सांसदले ख्याल गर्नैपर्ने अरु कुरा के–के हुन ? केपी ओलीले उठाउनु भएको चुच्ने नक्साको कुराले त समाधान दिन सकेन, यसको अन्तर विषय के हुन सक्छ ?
–राष्ट्रियता नेपालीलाई सबैभन्दा प्रिय भएको विषय हो । केपी ओलीको सन्दर्भ के हो भने त्यो नक्सामा मात्र आयो । नक्सामा मात्र आएर हुँदैन । त्यसलाई दुई देशका प्रतिनिधि बसेर टुङ्ग्याउनु पर्छ । भारतले नेपालकै सीमानामा बाटो बनाएको बनाएकै छ । नेपालीलाई सीमानामा हिँडडुल गर्न रोकेको छ । त्यो विषयमा कोही बोलेको छैन । यसले शंका उब्जाएको छ । गिरिराजमणि पोखरेल शिक्षा मन्त्री हुँदा प्रकाशित भएको पाठ्यपुस्तक किन विद्यालयसम्म पुग्न सकेन । यसको एउटै कारण हो, त्यसमा नेपालको नयाँ भू–भाग हो भनेर राखिएको छ ।

 

आफ्नो भू–भाग समेटिएको किताब किन विद्यालयसम्म पुगेन भन्ने मात्र होइन कि त्यो रोक्नुको कारण के थियो भन्ने पनि हो । अर्को भनेको नेपालले तयार पारेको प्रतिवेदनमा त यो कारण यो भू–भाग नेपालको हो भन्ने छ । त्यो प्रतिवेदन किन सार्वजनिक हुन सकेन ? यी सबै विषयमा नयाँ शक्ति अगाडि आउने वित्तिकै पूरा सिस्टम परिवर्तन हुन्छ भन्ने होइन । उनीहरु पनि नयाँ सिस्टम बनाउन सक्दैनन् । तसर्थ यही भएको सिस्टमलाई सुधार गर्ने पक्षमा लाग्नु पर्छ भन्ने हो । नेपालको संविधानले धान्न नसक्ने संरचना र अन्य विषयको निकास खोज्नु पर्छ । 


० अब ठूला दलको बहुमत त आएन, अबको सरकारको मोडल कस्तो होला भन्ने आंकलन गर्न सकिन्छ ?
–हाम्रो संविधानले दिएको अधिकारका आधारमा बहुमतको सरकार बन्ने कल्पना गर्नु हुँदैन । हाम्रो राजनीतिक प्रणाली अनुसार कसैले पनि बहुमत ल्याउन सक्ने अवस्था छैन । १ सय ६५ मात्र भएको भए कुनै दलको बहुमत आउन सक्थ्यो । समानुपातिक भन्ने सिस्टमले यो सबै बिगारेको छ । यसले एउटा दललाई बहुमत ल्याउन रोकेको छ । अव रह्यो सरकार कस्को बन्ने भन्ने कुरा, मिश्रित परिणाम आउनु भनेको मिश्रित रुपमा सरकार बन्नु हो । यसको अर्थ हङ्ग पार्लियामेन्ट नै हो । अब ठूलो पार्टीले सरकारको नेतृत्व गर्ने अभ्यास हो । तर अरु दल मिलेर बहुमत पु¥याए भने उनीहरुले पनि बनाउन सक्ने भए । हाम्रो संविधानले यही कार्यादेश दिएको छ । 


० अब बन्ने सरकारले पाँच वर्ष स्थायी सरकार भएर काम गर्न सक्ला त ?
–जुन दलको नेतृत्वमा सरकार गठन भए पनि त्यो सरकार पाँच वर्षसम्म चल्न सक्दैन । अहिलेको अवस्थालाई हेर्दा गठबन्धनकै सरकार बन्ने संभावना धेरै छ । उता एमालेको पनि तालमेल छ । त्यो पनि गठबन्धन नै हो । भाषा मात्र फरक हो । कांग्रेससँग मिल्यो भने शेर बहादुर देउवा नै प्रधानमन्त्री बन्ने प्रवल संभावना छ । एमालेबाट भयो भने केपी ओली बन्ने पक्का छ । प्रचण्डले ५०–५० गर्ने भनेर भनेका छन् । त्यो संझौता भोलि कतै तलमाथि भयो भने फेरि नयाँ समीकरण बन्न सक्छ । 


० एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्षलाई टेलिफोन गरेर बधाई साटासाट गर्दै मिलेर जाने संकेत गरेका छन । यसको संकेत के हो ?
–अहिले निर्वाचितलाई एकले अर्कोलाई बधाइ दिने गरेको हामीले देखिरहेका छौँ । यो समझदारिताका हिसाबले राम्रो हो । हारे पनि जिते पनि एउटा उमेदवारमा हुने राजनीतिक संस्कार पनि हो । तर, रामकुमारी झाँक्रीले गोकर्ण विष्टलाई बधाई दिएको सन्दर्भले पनि तिक्तता घट्दै गएको देखिन्छ । देव गुरुङ र पृथ्वीसुव्वा गुरुङले पनि यो संस्कार अपनाएर चर्चा नै बटुलेका छन् । यी मसिना झिल्काबाट बाम एकता अगाडि बढ्छ कि भन्ने आशा जगाएको पनि छ । मेरो बिचारमा  चुनावी गठबन्धनको संस्कृति सबैभन्दा खराब संस्कृति हो ।

 
०  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखलगायतको चुनावमा यो सदभाव कायम रहने संंभावना कतिको देख्नुहुन्छ ? 
–भोलि राष्ट्रपति र उपराष्ट्रपति बनाउने क्रममा फेरि चासो बढ्न सक्छ । यसले झगडा निम्त्याउन सक्छ । हामीले त्यता पनि सोच्नुपर्छ । राष्ट्रपतिको चुनावमा कुन दलले कसलाई अघि सार्छन् । त्यसमा हारेकालाई वा जितेकालाई ल्याउने भन्ने हुन सक्छ वा नयाँ कुनै ल्याउने भन्ने हुन सक्छ । त्यसमा पनि एकता कायम हुनुपर्छ । त्यो हुन सकेन भने फेरि किचलो सुरु हुन्छ । अहिले कल्पना गरेको समीकरण भत्किन सक्छ । कोही निष्कृय रहन सक्छन् । आफ्नो पार्टीको बन्न लाग्यो भने लाहाछाप लगाउन सक्छन् । रुकमाङ्गत कटुवाल र सुशीला कार्कीको घटनामा यी कुरा उजागर भइसकेका छन् । संवादहीनताको अवस्था तोडिएको छ । यो सकारात्मक पक्ष हो ।


० अबको स्वार्थ भनेको सरकार निर्माण र राष्ट्रपतिको चुनाव मात्रै हो कि अरु पनि सिलसिला चल्छन् नि ? 
–यो निरन्तर चलिरहन्छ । अबको स्वार्थ भनेको सरकार निर्माण र राष्ट्रपतिको चुनाव पहिलो चरणको भयो । त्यसपछि सभामुख, उपसभामुखको चल्छ । पार्टी भित्र पनि संसदीय दलको नेता उपनेतामा चल्छ नै । प्रमुख सचेतक, सचेतकमा पनि यो खेल पक्कै चल्नेछ । संवैधानिक परिषद्, समितिको सभापतिमा समेत यो खेल निरन्तर रहन्छ । 


० गगन थापाले अब कांग्रेसको संसदीय दलको नेता मै हो भनेर घोषणा गरेका छन् यो संभव होला ?
–गगन थापाले भन्नु वा दावी गर्नु एक जना सांसदको हैसियतले स्वभाविक हो । तर, भोलि शेखर कोइराला उठे भने उनी के गर्छन् भन्ने विषय चै सोचनीय छ । शेखर दोश्रो पटक संसदमा आएका हुन् । गगनलाई युवाको समर्थन हुन सक्छ । यतिवेला परिवर्तनको लहर चलिरहेको छ । तर, गुट उपगुटले कसलाई नेता छान्छ त्यसमा पनि निर्भर रहला । बाहिरबाट ल्याउन मिल्ला कि नमिल्ला । यसका लागि पार्टीले निर्णय गर्नुपर्छ । संसदीय प्रणाली भएको मुलुकको अभ्यास संसदीय दलको नेता नै प्रधानमन्त्री हुने भन्ने छ ।
 

प्रतिकृया दिनुहोस