• शनिबार-बैशाख-८-२०८१

आन्तरिक राजश्व विभागको डीजी बन्न मरिहत्ते ?

 

काठमाडौं । अर्थ मन्त्रालयको मालदार विभाग मानिने आन्तरिक राजस्व विभागको महानिर्देशक बन्न कर्मचारीहरु तछाड मछाड गर्नुको रहस्य के होला ? त्यसमाथि पनि राजस्व समूहका कर्मचारीबीच तीव्र प्रतिस्पर्धा चल्ने गरेको छ । विभागको महानिर्देशक बन्न कतिसम्म ठुलो चलखेल हुने गर्छ भन्ने रहस्य आम निर्वाचनको हक हप्ता अगाडि गरिएको सरुवालाई नै आधार मान्न सकिन्छ । 


विभागको महानिर्देशकमा बाजी मार्नेहरुरुले मन्त्री, सचिव र प्रधानमन्त्रीलाई थैली भेट गर्ने र पछि निरन्तर पार्टी र मन्त्रीलाई सहयोग गर्ने प्रतिवद्धता जनाउने गरेको बताइन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सहसचिव दीर्घ मैनालीले निर्वाचन अगाडि नै निकै ठुलो रकमको चलखेल र जोडबल लगाएर विभागमा जाने तरखर गरेको चर्चा थियो । तर उनको सरूवालाई निर्वाचन आयोगले सहमति नदिंदा अहिले उनी प्रधानमन्त्री कार्यालयमै थन्किरहेका छन् ।


अर्थ मन्त्री जनार्दन शर्माको कार्यशैलीसँग असन्तुष्ट रहेको अवस्थामा विगतमा राजस्व प्रशासन बुझेका वरिष्ठ सहसचिव विभागमा जान मानेका थिएनन् । मन्त्रालयका वरिष्ठ सहसचिव केदारनाथ शर्मा, चक्र बुढालगायतले विभागमा जान नमानेका कारण भन्सारमा थोरै राजस्व प्रशासन अनुभव बटुलेका कनिष्ठ सहसचिव रितेश कुमार शाक्यलाई काकताली परेको थियो । यही कारण उनी नौ महिना अगाडि आन्तरिक राजस्व विभागका महानिर्देशक बन्न सफल भएका थिए ।


तर, उनले विभागमा उत्कृष्ट काम गरेर देखाउन नसकेता पनि कर संकलनमा हानी नोक्सानी भने नपु¥याएको अर्थ मन्त्रालयका अधिकृतहरु चर्चा गर्दछन् । विभागले भ्याट, आयकर र अन्तशुल्क संकलन राजस्वको लक्ष्य समेत पूरा गर्न नसकेको विषयहरु बाहिर आएका छन् । विभागले ०७९ मंसिर ७ गते बुधबार दिन कर दिवस मनाएको छ । केही उद्यमी र व्यवसायीलाई उत्कृष्ट करदाताका रूपमा पुरस्कृत पनि गरेको छ । तर, लक्ष्य अनुसार राजस्व उठाउन कुनै ठोस नीति, योजना र कार्यक्रम बनाउन भने विभागले सकेको देखिंदैन । 


यही बहानामा अर्थ मन्त्री शर्माले आम निर्वाचनको ठिक एक हप्ता अगाडि शाक्यसँग सल्लाह गरेर नै तपाई हटिदिनु प¥यो भनेको स्रोतले बताएको छ । शाक्यले मन्त्रीको प्रस्तावलाई मौन समर्थन जनाएको उक्त स्रोतको दावी छ । निर्वाचनको मुखैमा महानिर्देशक शाक्यलाई हटाएर मैनालीलाई भित्र्याउनको लागि मन्त्री शर्माले निर्वाचन खर्च बापत ५ करोड बुझेको हल्ला प्रधानमन्त्री कार्यालयसम्म पुगेको थियो ।


प्रधानमन्त्री कार्यालयले यो कुराको सुइँको पाए लगत्तै विवादास्पद छविका सहसचिव मैनालीलाई तत्काल सहमति नदिन निर्वाचन आयोगलाई निर्देशन दिएको बताइएको छ । जसका कारण मैनाली विभागको महानिर्देशकमा सरूवा हुन पाएनन् । मन्त्री शर्माको सरुवा योजना निर्वाचन अगाडि असफल भएको छ । अब कामचलाउ सरकारका अर्थ मन्त्री शर्माले विभागको महानिर्देशक जस्तो महत्वपूर्ण पदमा सरूवा गर्न नैतिकताले पनि नमिल्ने बताइन्छ । निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।


यही समयमा ०७९ मंसिर ११ गते शनिवारका दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा नयाँ सरकार गठन बारेमा एकसरो छलफल चलिसकेको छ । जसले गर्दा मन्त्री शर्मा भने ढुक्कासाथ अर्काे सरकार गठन अगाडि नै मैनालीलाई विभागबाट सरूवा गर्नेगरी फाइल अगाडि बढाउने तयारीमा लागेको स्रोतले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस