• बिहीबार-चैत-१५-२०८०

भृकुटी मण्डपमा अवैध रूपमा पार्किङ्ग सञ्चालन गरेर लाखाैं असुल्ने काे हाे ?

काठमाडाैं । पटक-पटक अनियमित क्रियाकलापमा मुछिँदै आएको र काण्डै-काण्डमा फँसेको समाज कल्याण परिषद् फेरि एउटा देख्दा सामान्य लाग्ने तर, भित्रभित्रै राम्रो आम्दानीको स्रोत रहेको पार्किङ्ग प्रकरणको विवादमा तानिएको छ ।


भृकुटी मण्डपस्थित नेपाल ल क्याम्पसको गेटै अगाडि पिच सडकमा यतिबेला स:शुल्क पार्किङ्गको तुल झुण्ड्याइएको देखिन्छ । उक्त तुलमा "भृकुटीमण्डप पार्किङ्ग" भनेर लेखिएको छ । प्रति घन्टा चार पाड्ग्रे सवारीको ५०। रुपैया र दुई पाड्ग्रे सवारीको २५। रुपैया शुल्क तोकिएको छ । अचम्म के भने, सरकारी जग्गामा कसको स्वीकृतिमा कसले त्यसरी खुलेआम महंगो स:शुल्क पार्किङ्गको धन्दा चलाएको हो ? कसैलाई चासो छैन ।


 स्वयम् जग्गा धनी समाज कल्याण परिषद्को भृकुटीमण्डप सञ्चालन कार्यालय त उक्त क्रियाकलाप बारे मौन मात्रै होइन, बेखवर जस्तै देखिन्छ । तर, त्यसरी असुल गरिएको मध्ये ठूलै रकम भृकुटीमण्डप सञ्चालन कार्यालयका केही कर्मचारीलाई घुस वापत उपलब्ध गराउने गरिएको पार्किङ्ग सम्वद्ध स्रोतले जानकारी दिएको छ ।


राजधानीमा पार्किङ्गको धन्दा गर्ने समूह-समूहमै छन्, उनीहरुको पहुँच माथिल्ला शक्तिकेन्द्र सम्मै हुन्छ । देख्दा सामान्य लाग्ने यो धन्दाबाट मासिक लाखौं-लाखको कारोबार हुन्छ । त्यसमाथि पनि भृकुटीमण्डप क्षेत्र व्यापारिक एवम् कलेज क्षेत्र भएकाले दैनिक राम्रै कारोबार हुने गर्छ । आखिर त्यसरी असुल गरिएको रकम कहाँ-कहाँ जान्छ ? कसकसलाई भागवण्डा हुन्छ ? त्यो अज्ञात नै छ ।


देख्नमा हरिगोपाल अमात्य सञ्चालक रहेको अमात्य सप्लायर्सले खेल मनोरञ्जनका लागि उक्त सडकसँगैको जग्गा ५ वर्षका लागि लिजमा लिएको छ । तर, उसले उक्त क्षेत्रमा सञ्चालनमा ल्याएको खेल मनोरन्जनको नाम 'भृकुटी फनपार्क' राखेको छ ।

 

आफ्नो अधिनमै नभएको सार्वजनिक पिच सडकमा "भृकुटीमण्डप पार्किङ्ग" नाम राखेर अवैध रूपमा घन्टे शुल्क उठाइरहँदा स्वयम् समाज कल्याण परिषद् र काठमाडाैं महानगर पालिका मौन छ । महानगर पनि ले थाहा पाए नपाए झैँ गरिबसेको अवस्था छ ।


उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा पार्किङ्ग गर्न रोक लगाएपछि खुलेआम भृकुटीमण्डप नाम दिएर यो अवैद्य पार्किङ्गको जन्म भएको हो । कसले, कसको आदेशमा, कोसँग स्वीकृति लिएर सार्वजनिक स्थानमा सडकमै पार्किङ्ग शुल्क उठाउन थालेको हो ? कहीँकतैबाट खोजीनीति होला कि ?

 

प्रतिकृया दिनुहोस