• सोमबार-जेठ-२६-२०८२

अमरेश कुमार सिंहको रहस्यमय दिल्ली भ्रमण


काठमाडौंमा भारतीय राजदूतको दौडधुप धेरै देखिन थालेकै बेलामा भारत निकट भनिएका कांग्रेस नेता तथा सांसद अमरेश कुमार सिंह भने नयाँ  दिल्ली पुगेका छन् । २०७९ मंसिर १६ गते शुक्रवार सांसद सिंह नयाँ दिल्ली पुगेको बताइएको छ । कांग्रेसभित्रको घरझगडाका कारण सर्लाहीमा टिकट समेत नपाएका सिंहले स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेर सम्मानजनक मत ल्याएर जितेर देखाइदिएका छन् । निर्वाचन क्षेत्रमा आफ्नो सामर्थ्य देखाएका सिंहले कांग्रेसभित्र किन टिकट पाएनन् ? भन्ने कौतुहलता पनि रहेको छ ।


  जिल्लाका नेताहरुबीचको झगडाका  कारण उनी सिफारिशमै परेका थिएनन् । अन्तिममा टिकट नपाउने सूचीमा पनि परे । यसले गर्दा उनी कांग्रेस नेताहरुसँग आक्रोशित थिए । त्यही  कारणले नेताहरुलाई आफूले टिकट नपाउनुको कारण सोधेका पनि  थिए । तर, नेताहरुले अमरेश कुमार सिंहका लागि नयाँ दिल्ली सकारात्मक नभएका कारण  टिकट नदिएको सन्देश सभापति शेरवहादुर देउवाले दिएका थिए । चुनावअघि यस्तो सन्देश पाएका सिंहले चुनाव जितेलगत्तै नयाँ दिल्ली पुगेको खबर छ ।  


   स्रोतका अनुसार, सिंह दिल्लीसँग बिग्रेको सम्बन्ध सुधारका लागि भारत गएका हुन् । भारतमा कांग्रेस आईसँग नजिक मानिने सिंहसँग श्यामशरण र एसडी मुनिस“ग विशेष सम्बन्ध रहेको छ ।  कांग्रेस आई सत्तामा हुँदा त्यही पार्टीको दूतको रुपमा नेपालको राजनीतिमा हावी भएका थिए । तर, भारतीय जनता पार्टी सत्तामा  आएपछि सिंह किनारामा परेका थिए ।

 

कांग्रेसभित्रको राजनीतिमा पनि कमजोर बन्न थालेका थिए । त्यहीकारण अहिले भारतीयहरुले पनि सिंहले स्वतन्त्र उम्मेदवार उठेर चुनाव जित्लान भन्ने  कल्पना पनि गरेका थिएनन् ।


  चुनाव जितेर नै नेपाली कांग्रेस र नयाँ दिल्लीलाई आफ्नो शक्ति र जनप्रियता देखाईदिएका  कारण उनीप्रतिको धारणा नयाँ  दिल्ली परिवर्तन गर्न सक्ने विश्लेषण पनि भइरहेको छ । भारतसंग बिग्रेको सम्बन्ध सुधारको यो प्रयासले सांसद सिंहलाई कति फाइदा गर्छ त्यो भने भविष्यमा देखिने नै छ ।


 विक्रम सम्वत २०६३ मा अन्तरिम संविधान जारी गर्ने समयमा र त्यसपछिको नेपालको राजनीतिमा भारतले गतिलैसँग उपयोग गरेका नेता हुन् सिंह । त्यसैले, उपयोग हुने नेताको छवि  बनाएका कारण सिंहलाई अहिले पनि भारतले साथ लिएर उपयोग गर्न सक्ने आंकलन पनि गर्न थालिएको छ । सिंह २०७९ मंसिर १६ गते भारत गएको भोलिपल्ट मंसिर १७ गते शनिवार देउवा भेट्न भारतीय राजदूत नवीन श्रीवास्तव बालुवाटार पुगेका थिए ।


 एक  साताको बीचमा दुईपटक राजदूत श्रीवास्तवले देउवालाई भेटेका छन् । नयाँ दिल्ली र भारतीय राजदूत नवीन श्रीवास्तवलाई आगामी गठबन्धन सरकार कसको नेतृत्वमा बन्छ र प्रधानमन्त्री को हुन्छ  ? भन्ने चासोमा रहेका छन् ।  कांग्रेस स्रोत भन्छ, नयाँ दिल्ली र भारतीय राजदूत नवीन श्रीवास्तव वाम गठबन्धनको सरकार नबनोस् भन्ने प्रयासमा रहेका छन् ।

(साँघु साप्ताहिक, २०७९ मंसिर १९ गते)

 

प्रतिकृया दिनुहोस