• शुक्रबार-चैत-१६-२०८०

चीफ सा’ब ! हाम्रो स्वास्थ्य–शिक्षाको बिजोेग कसले हेर्ने ? : पौने खर्बको कल्याणकारी कोष सदुपयोग गर्न मिल्दैन ? 

 

श्रीमान् सम्पादकज्यू
 कुरा एक महिना अगाडि म मेरो संस्था नेपाली सेनाबाट सञ्चालित सैनिक अस्पताल छाउनीमा आफ्नो उपचारको क्रममा एक कप चिया पिएर विहान ८ बजे अस्पतालको गेटमा प्रवेश गरेको थिएँ । त्यसपछि २०। रुपैयाँको टिकट काटी आफ्नो शरीर चेकको लागि विभिन्न वडाहरुमा जाँदा करिब ९ बजे देखि २ बजे भित्रमा मलाई त्यस हस्पिटलमा आफ्नो उपचार गराउन एउटा कठिन लडाइँ नै जिते सरह भयो । किनकि बिहान ९ बजे देखि २ बजे भित्रमा हाम्रो आर्मी अस्पताल छाउनीमा एक किसिमको ठूलो मेला नै लाग्दो रहेछ । 


जता गयो उता लाइनको लावालस्कर अनि एउटा वार्डबाट एउटा रोगको चेकअप गरेर निस्कँदा नै मेरो रोगी शरीरको धेरै शिथील भएको महसुस भइसकेको थियो । फेरि करिब करिब दिउँसोको १ः३० बजेतिर अर्काे ग्यास्ट्रो वार्डतिर मेरो नजर र मेरो शरीर प्रवेश ग¥यो । किनकि हामी आर्मीका सिपाहीलाई सायद ग्यास्ट्रो सम्बन्धी समस्या नहुने त कुरै भएन । विरामी किताब इन्ट्री गर्नलाई के हात अगाडि बढाएको थिएँ, डाक्टरी पोशाकमा रहेका एकजनाले कडा वचन र लछारपछारले मलाई आफ्नो संस्था र एक एक थोपा रगत र पसिनाले सिर्जित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित अस्पताल पुन जान मनै लागेन । 


हुन पनि बिहानदेखि बेलुकासम्म अव्यवस्था, भिडभाड र असंख्य विरामीलाई उपचारमा सघाउनभन्दा पनि सकेसम्म थर्काएर भोलि आउनुस्, पर्सि आउनुस्, आज तपाईंको हुँदैन भन्दै लगार्दै विरामीको चाप कम गराउने प्रयास गर्दछन् । यहाँका डाक्टर, नर्सको कर्कस शैली, हेप्ने स्वभाव देख्दा त मलाई सेनाको व्यक्ति भएको कारण खासै त्यस्तो नराम्रो सोचिन । किनकि हाम्रो कमाण्ड र अर्डर नै कडा हुनुपर्दछ र हुन्छ ।

 

तर, मसँगै साथमा रहेका भर्खरै विवाह बन्धनमा बाँधिनुभएका मेरा छोरी ज्वाईंलाई त्यो व्यवहार पाच्य नभएर उहाँले केही शब्द राम्रैसँग भन्नुभयो, ‘सर अस्पतालमा यस्तो शब्द प्रयोग गर्दा तपाईंको सेतो डे«सलाई गिज्याउँछ । राम्रैसँग कुरा गर्दा भैहाल्छ नि, त्यसमा त्यस हुद्दाको जवाफ थियो, ‘साले मलाई सिकाउँछस् । डेढ दशक तिमीहरुजस्ता भेंडालाई तह लगाएर बसेको मान्छेलाई’ भनेर ! निजले क्रुद्ध भएर गाली गर्दा मैले कान थुनेर नसुनेझैं गरी त्यहाँबाट निस्केको म, मेरो आफ्नै सैनिक अस्पताल जान पनि पाइला अगाडि बढ्दैन । खै यसमा दोष कसको हो ? 


श्रीमान प्रधानसेनापतिज्यू, म नेपाली सेनाको अवकाश प्राप्त मेजर, देश युद्धबाट शान्तिमा रुपान्तरण भएपछि सेनाबाट अवकाश भएँ र आफ्नै जन्मघर दुर्गम पहाडी जिल्ला गोरखामा बाँकी जीवन सामाजिक कार्यमा बिताइरहेको छु । मलाई यी केही शब्द सेनाको अस्पतालको बारेमा लेख्न मन नलागी नलागी केही बेथितिहरु अन्त्यका लागि केही पहल होला कि भन्ने आशामा आफ्ना जीवन भोगाई र केही भावी आशाका योजनाहरु चीफ सा’ब समक्ष पस्किने अनुमति चाहन्छु । 


चीफ सा’ब, आज हामी सबैको जनजिब्रोमा एउटा शब्द धेरै प्रयोग हुन्छ नेपाली सेना पवित्र सेना हो, नेपालकै सबैभन्दा धनी संस्था पनि । हो यसै विषयमा मेरा  मनमस्तिकष्मा छचल्किएको केही भावनाहरुलाई यसै पत्रिकामार्फत हजुर समक्ष पु¥याउने जमर्काे गरेको छु । 


हो नेपाली सेना नेपालकै सबैभन्दा धनी संस्था अवश्य हो । किनकि हरेक वर्ष सेनाको आयव्यय विवरण विभिन्न समाचार र पत्रपत्रिकाबाट सुन्दा लाग्छ करिब करिब पौने खर्ब रुपैयाँको कोष भएको संस्थालाई हामीले धनी संस्था भन्न पाउनु र सुन्नुमा मनमा एक किसिमको गर्वको महसुस पक्कै हुन्छ । तर, यस संस्थालाई धनी बनाउन कसरी सकियो ? अर्थात कसरी भयो त कुरा स्पष्ट छ । करिब आधा शताब्दीदेखि जब नेपाली सेनाको कोष विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा शान्ति कायम गर्न प्रवेश गरेसँगै सो कार्यमार्फत प्राप्त भएको सैनिकको एक तिहाई रकम संस्थाले कल्याणकारी गर्ने कार्यसहित फण्ड खडा गरी जम्मा गरेको रकम आज करिब पौने खर्ब जति जम्मा भयो । 


यस कोषबाट सेनाले केही रकम अस्पताल, विद्यालय, पेट्रोल पम्पमा लगानी गर्नुबाहेक अरु सबै रकम विभिन्न बैंकमा ब्याज खानबाहेक अरु प्रत्यक्ष गरिब जवानहरु वा सकलदर्जालाई लाभ पुग्ने कुनै पनि उत्पादनमूलक क्षेत्रमा प्रगति देखिएको छैन । हुनतः केही हुँदै नभएका भने पक्कै होइन । तर आज सेनाका २५ प्रतिशतले मात्र लाभ लिने अस्पताल र स्कूलले हरेक जवानको भावनालाई कसरी समेट्ने भन्ने कुरा पीएसओज् बैठकमा नउठ्नु र सेनाका नेतृत्वले दीर्घकालीन रुपमा बहुसंख्यक जवान(सकलदर्जा)को हितको लागि काम गर्न नसक्ने नै आजको दुखदायी अवस्था हो । हुनतः प्राय जोसुकै नेतृत्वले पनि संस्थाको लागि र राष्ट्रको लागि नराम्रो र नाजायज कार्य पक्कै पनि गरेका छैनन् ।

 

कुनै चीफसा’बले धेरै गरे होलान, व्यक्तिगत फाइदा पनि कोषबाट लुटे, कसैले कम फरक त्यत्ति हो । आज संस्थाको हितको लागि वा सकलदर्जाको हितको लागि प्रत्यक्ष केही लाभ देखिने काम गर्नेमा पहिलो नम्बरमा तत्कालीन सेनापति पूर्णचन्द्र थापाको नाम अग्रपंक्तिमा आउँछ । अरु चीफसा’बले पनि प्राय केही न केही राम्रो कार्य अवश्य गर्नुभएको छ । तर, फरक यति हो कि एउटा सिपाहीले बुझ्ने भनेको कसको कार्यकालमा कति रकम जम्मा भयो भन्दा पनि कुन चीफसाबले जवान वा सकलदर्जालाई प्रत्यक्ष रुपमा लाभ हुने योजना के के गर्नुभयो भन्ने हो । यस्तै कुराले नै बढी अर्थ राख्छ सेननाका जवानहरुका लागि । 


चीफ सा’ब, आज सेनामा प्रवेश गरेको जवानहरु कहिले १७ वर्ष जागिर पुग्ला र खाली हात भएपनि जागिर छाडेर बालबच्चाको पालनपोषणको लागि खाडी मुलुक गई आर्र्थिक अवस्था सुधार्न सकिएला भनि मेनपावर धाउँदा ठगिने तथा विदेश गएर अलपत्र पर्ने गरेका छन् । कोही गाउँघरमै बेरोजगार भई मेलापात गरी आफ्नो जीवन गुजार्न बाध्य छन् । उदाहरणको लागि मेरो जिल्लामा एकजना हुद्दामा जागिर छाडेर बिना पेन्सन घर बसेका छन् । एक पूर्व सैनिक जवानको मेनपावरले पेन्सन निस्कँदा बाँकी रहेको रकम खाइदियो र सो पैसा उठाउन नसकि घरगाउँमै अरुको ज्यालादारी, मजदुरी गर्दै आफ्नो जीवन चलाइरहेका छन् । 


यो त एउटा उदाहरण मात्र हो । चीफ सा’ब एउटा निश्चित समय पूरा गरी सेनाबाट अवकाश भएका जवानहरु बिना पेन्सन र बिना सिप आफ्नो गाउँमा अरुको दैनिक ज्यालादारी गरी बाँच्न बाध्य हुन्छ भने वर्षेनी नेपाली सेनाको कल्याणकारी कोष यति अर्ब रुपैयाँ थपियो भन्दै बिगुल बजाउनु भनेको गरिब सिपाहीको मनमा संस्थाप्रति आक्रोश बढाउनु होइन र ? हिजो द्वन्द्वको समयमा कमाण्डरको एक आदेशमा आफ्नो ज्यानको कुनै प्रवाह नगरी आहुति दिने र दिन पछि नपर्ने सैनिक जवानको आर्थिक अवस्था सुधार गर्ने नेतृत्वसँग कुनै योजना र कुनै बजेट छैन र चीफसाब ?


करिब ७५ प्रतिशत जवानका छोराछोरी पब्लिक स्कूलमा महंगो शुल्क मासिक कम्तीमा पनि ७, ८ हजार तिरेर पढाउनुपर्ने बाध्यता छ । अनि दुईवटा छोराछोरी पढाउन कम्तीमा १५, १६ हजार मासिक खर्च लाग्छ । परिवारलाई पालन पोषणको लागि संस्थाले एक रुपैयाँ पनि राशनको व्यवस्था गरेको छैन भने २२, २४ हजारको मासिक आम्दानीबाट एउटा सिपाहीले कसरी आफ्नो परिवारको गुजारा चलाउन सक्छ ? बाहिर सडकमा गाडामा मम बेच्ने व्यक्तिले बरु दैनिक २, ३ हजार कमाउँछ भने बन्दुक बोकेर दिनरात डिउटीमै समय बिताउने जवानको आयस्रोत दैनिक ६÷७ सय हुँदा उसको दिमाग कहिले १६ वर्ष पुग्छ र विदेश जाने भन्ने बाहेक अरु केही हुँदैन । के हाम्रो रु. पौने खर्बको कल्याणकारी रकमलाई ८÷१० प्रतिशत मात्र सैनिकहरुको कल्याणकारी कार्यमा लगाउने र अरु सबै ब्याज खाने भन्ने नै हो त चीफसाब ?


  हाम्रै रगत र पसिनाले खडा गरिएको कोषलाई सेनामा आवद्ध रहेका व्यक्ति र उसका आश्रित परिवारलाई स्वास्थ्य सुलभ, सहज र दुई जना बच्चा पढाउन शिक्षा सहज रुपमा उपलब्ध गराउन कल्याणकारी कोषमा जम्मा भएको रकमलाई लगानी गर्न के ले रोकेको छ चीफसाब ? सैनिक स्कुलमा पढ्ने सैनिकका छोराछोरीभन्दा गैरसैनिकका छोराछोरी बढी छन् किन ? कल्याणकारी रकम वृद्धि गरी कतिसम्म बनाउनुपर्ने हो र ? के काठमाडौंको प्रत्येक नाकामा जस्तै एक बाहिनी, कोटेश्वर, लगनखेल, थानकोट, छाउनी, सूर्यविनायक, कीर्तिपुर, सितापाइला आर्मीको ब्यारेक भएका सातै प्रदेशका केही सैनिकको जमिनलाई स्कुल र अस्पतालमा प्रयोग गरी प्रत्येक सैनिक तथा अवकाश प्राप्त सैनिकका छोराछोरी इच्छुकले  सैनिककै स्कुलमा पढ्न र सैनिक अस्पतालहरुमा सहज उपचार गराउन पाउने थिए । यसले सैनिकलाई राहत हुने र सैनिकको आर्थिक स्थितिमा फेरबदल अवश्य हुने थियो । 


काठमाडौं भ्याली बाहिर कम्तीमा पनि ८, १० वटा सुविधा सम्पन्न सैनिक अस्पताल र सैनिक विद्यालयको विस्तार भएमा दक्ष जन शक्ति पूर्व सैनिकको रोजगारी साथै आवश्यक सैनिक परिवारले स्वास्थ्य र शिक्षामा सहज हुने थियो । त्यसको लागि नेतृत्व नै अग्रसर भई बोल्ड निर्णय लिन सक्ने हुनाले कम्तीमा पनि सेनाको विभिन्न विभागमा रहनुभएका जर्साबहरुको बढी राय, सल्लाह र सहयोग भएमा पक्कै पनि एउटा जवानले आफ्नो परिवारको स्वास्थ्य र शिक्षामा धेरै चिन्तित हुनुपर्ने थिएन कि ? हुनतः नेपाली सेनाले काठमाडौंका केही स्कुलमा पढ्नको लागि केही रकम संस्थाले प्रदान गर्ने परिपत्र त गरेको छ । तर  त्यो त्यति सहज र सरल पक्कै छैन । किनकि प्राय जवानहरु चक्रपथ बाहिर कुना काप्चामा अहिलेको महंगीले गर्दा केही सस्तोको लागि टाढाटाढा कोठा लिएर बस्न बाध्य छन् भने उनीहरुको पनि आफ्नै पारिवारिक समस्या हुन सक्छ ।


संस्थाले भनेको स्कुलमा आफ्ना बालबच्चा पढाउन र पु¥याउन स्कुलको शुल्कभन्दा पनि गाडी भाडा र समय बढी भयो भने पनि खासै त्यति फाइदा नहुन सक्छ । त्यसैले सबैभन्दा उत्तम भनेको संस्थाले आफ्नै स्कुल र अस्पतालको विस्तार गर्नुभन्दा अर्काे विकल्प नहुनु पनि सक्दछ । 


सैनिक अस्पतालमा पसल किन ?
 सेनापतिज्यू, आज कयौं सैनिकका आश्रित परिवारको गुनासो र भावना सैनिक मिलिट्री अस्पतालमा ठोकिन्छ ।  मैले धेरै सेनाको जुन आवाज सुनें ती आवाज र गुनासाहरु यसै पत्रिकामार्फत प्रेसित गरेको छु । एकदिनको कुरा हो, छाउनी अस्पताल बाहिर करिब ३ बजेतिर एकजना सैनिककी आमा ज्वरो आएर छाउनी अस्पतालमा चेकअप गर्न आउनुभएछ । चेकअप सकेपछि ३ बजेदेखि टेम्पोको प्रतिक्षा गर्दा कुनै पनि टेम्पोमा आधाघण्टा पर्खिंदा पनि सिट नपाएपछि थकानले चिया पसलमा चिया खाने क्रममा उहाँ भावनाले भनौं वा आक्रोशले बोलिरहेको मैले सुनिरहें । 


 उहाँ भन्दै हुनुहुन्थ्यो, बाबु हाम्रो मिलिट्री अस्पताल महांकालमा चाहिं अब हाम्रो विरामी उपचार नहुने हो र ? मैले भनें, आमा त्यहाँ त दाँतको मात्र हुन्छ । उहाँले भन्नुभयो अनि त्यति ठूलो घरमा दाँतको मात्रै विरामी आउँछन् र ? मैले भने हैन आमा अगाडिको सेतो सानो घर मात्र हो । दाँतको उपचार हुने अरु त सबै सपिङ मल हो । आमा त्यसपछि उहाँ भावुक भएर रुन पो थाल्नुभयो र भनुभयो बाबु म बिहान काभ्रेबाट ५ बजे निस्केकी थिएँ, अहिले ३ बजेदेखि गाडी पर्खेको ट्याम्पुमा उभिएर जान सकिन ।

 

कमसेकम हामीलाई पुरानै महांकाल अस्पतालमा चेक गर्ने व्यवस्था गरे कति सुविधा हुन्थ्यो होला, त्यत्रो भवन सबै भाडामा लगाएर सेनाले एउटा अस्पतालको भवनमा आफ्नै अस्पताल पनि राख्न नसक्ने यति धेरै सास्ती हामी सैनिक परिवारलाई किन दिएको होला बाबु ? यही सेनामा लडाइँमा छोरा गुमाए, श्रीमान् पनि अहिले २, ३ वर्ष भयो बित्नुभएको । अब त आफ्नै जीवन पनि आफैंलाई भार भयो बाबु भन्दै ती करिब ७०, ७५ वर्ष जस्तो देखिने आमाको रुवाईले मलाई यी शब्द नलेखी मनै मानेन । यस्ता पीडित धेरै आमाहरुको स्वास्थ्य र सुविधालाई सहयोग पुग्नेगरी महांकालमा रहेको न्युरोड गेटस्थित मिलिट्री अस्पतालले सबै किसिमको रोग उपचार गर्न सहज हुने निर्णय लिन हाम्रो सैनिम नेतृत्वको ध्यान अवश्य पुग्नेछ भन्ने आशा राखेको छु । 


छात्रवृत्ति र सैनिक आवास ऋणको आश्वासन 
चीफ सा’ब, हजुरका लगभग आधाआधी नेतृत्वको कार्यअवधिको समयको अवस्थामा आइपुग्छ र हिजो सेनापतिको कार्यभार सुम्पेको पहिलो सम्बोधनमा भन्नुभएका वाचाहरु सैनिकका छोराछोरीलाई ३ कक्षाबाट नै अर्थात ४ कक्षाबाट छात्रवृत्ति दिने भन्ने कुरा फेरि पहिलेको नै अवस्थामा फर्केको हो र ? चीफसाब के आफ्ना बोलीहरु पक्कै पनि फिर्ता लिनुभएको भने पक्कै होइन होला । अर्काे केही आशा लाग्दा काम जवानलाई आवासको लागि २५ लाखसम्मको सहुलियत ऋण हो । तर, यसमा केही त्रुटीहरु सच्याउनुपर्ने हजारौं सैनिकको आवाज बोलिरहेको छ । चीफसाब जस्तै २५ लाखको ऋण लिन ऋणीको र उसको श्रीमतीको नेपालभर कतै पनि घर हुन नहुने रे ? यो कस्तो अव्यवहारिक नीति किन ? 


 देशमा २०७२ सालको भूकम्पपछि प्रायः भूकम्पको रकमको सदुपयोगको लागि प्रायजसो व्यक्तिले आफ्नो गाउँघरमा २ कोठा मात्रै भएपनि जस्ताको ट्रस बनाइएका छन् । त्यसका लागि श्रीमान श्रीमतीमध्ये एउटाको नाममा त अवस्य पुर्जा बन्छ । अनि जवानले डेढ दुई दशक सेनामा बिताएर सदरमुकाम अर्थात् काठमाडौं कुनाकाप्चामा बल्ल बल्ल शान्ति सेना, गाउँको खेतबारी बेचेर जोडेको घडेरीमा चार कोठाको घर बनाउनलाई पनि आफ्नै रगत र पसिनाले सिर्जित कल्याणकारी कोषबाट ऋण लिन पनि किन बाधा खडा गर्नु ? चीफसाब आखिर त्यत्तिकै अनुदान पनि होइन । 


 आफ्नै आयबाट कटौती भएको कल्याणकारीको रकमबाट ऋणलाई पनि सहजयोग्य नहुनु भनेको सबैभन्दा धनी संस्थाको सबैभन्दा गरिब र अभागी हुनु के हाम्रो भाग्य यस्तै हो कि धनी संस्थाको सिपाही हुनुको बिडम्बना हो चीफसाब ? आज देशका सयौं बैंक र वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु जनताको रकमबाट करोडौं रकम न्यून ब्याजमा आफ्ना घर जग्गामा प्रयोग गरी आर्थिक अवस्था सुदृढ गरेका छन् भने हाम्रो आफ्नै आयबाट कटौती भएको सैनिक कल्याणकारी कोषबाट पनि आवास ऋण लिन पनि योग्य नहुनु ज्यादै दुखदायी र अभागी हुनुबाहेक केही छैन । 


तसर्थ, जुनसुकै व्यक्तिले पनि निश्चित समयपश्चात आफ्नो जिम्मेवारी र संस्थाबाट अलग हुनु अवश्य पर्दछ र उसको मूल्यांकन सेवाबाट अलग भएपछि मात्र हुने गर्दछ । किनकि भावी सन्ततिले सम्झिने भनेको कुन नेतृत्वले संस्थालाई कति रकम जम्मा गरी भन्दा पनि कसको नेतृत्वमा कल्याणकारी योजना अन्तर्गत आश्रित सैनिक परिवारलाई लाभ देखिने के के काम र योजना भए भन्ने नै हो ।

 

तसर्थ, प्रभुराम शर्मा प्रधानसेनापति भएपछि गरेका बाचा र सम्बोधनबाट पछि हट्नुभन्दा पनि प्रत्येक सैनिकका छोराछोरीलाई तत्काल दुई जनाको लागि सम्भव भए आफ्नै सैनिक स्कुलमा शिक्षा दिने हो । सम्भव नभए १ कक्षादेखि नै १ सैनिकको दुई जवान छोराछोरीलाई छात्रवृत्ति रकम प्रदान गर्ने निर्णय भएमा र संस्थाको हितको र सैनिक परिवारको शिक्षा र स्वास्थ्यको लाभको लागि सहज र सरल रुपमा सेवा दिनको लागि तत्काल शतप्रतिशत स्कुल र अस्पतालको विस्तार गर्दा सारा भावी पुस्ताका सैनिक र आश्रित परिवारले तपाईलाई बाँचुञ्जेल मनमा सजाएर राख्नेछन् र तपाईको इतिहास सिपाहीको डायरीमा स्वर्ण अक्षरले लेखिने छ ।


भवदीय : अवकाश प्राप्त सेनानी, नेपाली सेना

प्रतिकृया दिनुहोस