• शुक्रबार-बैशाख-१४-२०८१

राष्ट्रपतिमा माओवादी केन्द्र अत्ताे थाप्दै, अध्यक्ष ओलीले प्रचण्डकाे इमानदारिता जाँच्ने

    माओवादी केन्द्रको २०७९ माघ १२ गतेको स्थायी कमिटी बैठकमा स्वतन्त्र व्यक्ति र राष्ट्रिय सहमतिमा राष्ट्रपति  चयन गर्नुपर्ने विषयमा चर्चा भएको छ । केही स्थायी कमिटी सदस्यले धेरै शक्तिशाली पदहरु एउटै पार्टीलाई दिन नहुने मत आएको थियो ।

 

त्यसबारेमा प्रचण्डले औपचारिक रुपमा भने केही भनेका छैनन । तर राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने कुरा भने गरेका छन ।


  एमालेसँग २०७९ पुस १० गते भएको सहमति विपरीत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड किन राष्ट्रिय सहमतिकाे सरकार भनेर एमालेलाई बिच्काउन खाेजिरहेका छन् ? भन्ने प्रश्न  अहिले उठेको छ । प्रचण्डले त्यसो भन्नुका कारण दुईवटा भएको भन्ने गरिएको छ ।

 

पहिलो त, अहिलेको गठबन्धनमा एमाले अध्यक्ष केपी ओली हावी हुने स्थिति रहेको छ, त्यसलाई कम गराउने रणनीतिका रुपमा पनि लिएका हुन सक्छन् । दोस्रो कारण चाहिँ एमालेकै राष्ट्रपति हुने भएपनि आफूले पनि रुचाएको र आफ्नो सहज हुने खालको पत्रको खोजीका लागि पनि भएको हुनसक्छ ।


  प्रचण्डले आफ्नो अनुकूलताको पात्र खोजी गर्न सक्ने वातावरण् बनाउनका लागि पनि प्रचण्डले राष्ट्रिय सहमतिको व्यक्ति राष्ट्रपति हुन सक्ने बताइरहेका छन् । त्यसका स्वतन्त्र व्यक्ति पनि आउन सक्ने चर्चा गरिन्छ । तर, धेरै राजनीतिक नेताहरु भने स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने पक्षमा रहेका छन् ।


   एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा कसलाई समर्थन गर्छन् भन्ने अहिले यकिन भइरहेको छैन । एमालेमा राष्ट्रपतिका लागि आकांक्षीको संख्या भने निकै देखिएको छ । एमाले उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुवास नेम्वाङ, अनि नेताहरु गुरु बराल, डोरमणि पौडेल, गोमा देवकोटालगायतका नामहरु चर्चामा रहेका छन् । त्यतिबमात्र होइन, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम पनि चर्चामा रहेको छ ।


    यी नामबाहेक पनि एमाले अध्यक्ष ओलीले अकल्पनीय रूपमा राष्ट्रपतिकाे उम्मेदवार चयन गर्न सक्छन् । तर, प्रचण्ड चाहिँ एमालेले प्रस्ताव गरेको नाम आफ्नो पनि अनुकूलताको होस् भन्ने चाहन्छन् र त्यसै अनुसार दबाब बढाउने प्रयास पनि गरिरहेका छन् । त्यसैले अहिले नै गठबन्धन भत्किने भन्दा पनि आफ्नो मान्छेलाई राष्ट्रपतिमा ल्याउने स्वार्थसँग राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने कुरा जोडिएको पनि चर्चा गरिन्छ ।


  एमाले अध्यक्ष ओलीले भने आफूले चाहेकाे उपयुक्त पात्र अघि सारेर प्रधानमन्त्री प्रचण्डकाे इमानदारिता जाँच्ने र राष्ट्रपतिकाे निर्वाचनबाटै भविष्यमा एमाले र  माओवादी केन्द्रबीच सहकार्य हुने नहुने भन्ने टुंगाे लाग्ने एमाले निकट एक नेताले साँघुलाई  बताए ।

प्रतिकृया दिनुहोस