• बिहीबार-बैशाख-१३-२०८१

गृहमन्त्री रविको चटक र बर्खास्ती !

 

गृहमन्त्री रवि लामिछानेले दल खोल्ने वित्तिकै प्रतिनिधि सभामा चमत्कारिक नतिजा ल्याउनु नेपाली राजनीतिमा देखिएको एउटा दुर्लभ घटना थियो । सांगठानिक आधारबिना नै मतदाताले किन र कसरी घन्टीमा यसरी मत जाहेर गरे ? के यो नेपाली राजनीतिमा देखिएको सामाजिक विद्रोह थियो ? उनको चटक त्यतिबेला राम्रैसँग बिक्यो । तर, उनी गृहमन्त्री भएपछिका सबैजसो गतिविधि र क्रिया चाहिँ एउटा चटकेले देखाउने चटक बाहेक केही हुन सकेका थिएनन् । सर्वाेच्चबाट उनको पद बर्खास्तीमा परेपछि अब २०७९ माघ १३ गतेबाट उनको चटक कसरी प्रस्तुत होला त्यो समयक्रममा देखिनेछ ।


रविको बर्खास्ती
नेपाली नागरिकता त्यागेर अमेरिका भासिएका रविले ढांटेर आफ्नो पुरानो नागरिकताको गैरकानूनी प्रयोग गरी दुरुपयोग गरे । अनेक अडकलवाजीका बीच उनी सर्वाेच्चबाट बर्खास्तीमा परे । त्यसपछि नेपाली राजनीतिमा अनेकौं सवाल भने उठेका छन् । अबको गृहमन्त्री को बन्ने हो ? के फेरि उनकै पार्टीबाट बन्ने हो ? बने को बन्ला ? फेरि उनले गृहमन्त्री सिफारिस गरेका व्यक्तिले पछि उनैलाई क्वाप्पै नखालान भन्ने आधार के ? चितवन–२ मा फेरि कहिले उपनिर्वाचन होला ? के उनी आफ्नो दलको सभापति रहने कानूनी र नैतिक आधार बाँकी छ कि छैन ?

 

यस्ता अनेकौं सवाल ज्युँदैछन् । जे होस् एउटा चटके प्रवृत्ति, चटके चालाढाला, व्यवहार, शैली, सोच, चिन्तन, चर्को स्वर र तरिका धेरै टिक्दैन भन्ने चाहिँ प्रष्ट देखियो । कानूनले स्ट्रीक रुपमा लिने नागरिकता जस्तो संवेलनशील विषयमा खेलाँची गर्लाको परिणाम निस्कियो । देश सानो, ठूलो, धनी, गरिब जेजस्तो सुकै भएपनि उसको लागि नागरिकताको विषय पेचिलो हुन्छ र बन्दछ । मान्छे वा व्यक्ति पद वा हैसियतमा जतिसुकै ठूला वा चर्चामा भएपनि कानून भन्दा माथि कोही पनि हुँदैन र छैन भन्ने कुरा सर्वाेच्चको फैसलाले फेरि प्रमाणित गरिदियो ।


लामिछानेका दुःख
राजनीति भनेको नीतिको पनि नीति हो । राजनीतिका माध्यमबाट राज्य संचालन हुने हो । राजनीति एउटा दर्शन र मान्यता हो । यही दर्शन र मान्यतालाई वैचारिक, सांगठानिक, दार्शनिकतामा ढाल्दै विचार, कार्यक्रम, संगठन र दृष्टिकोणको माध्यमबाट गरिने संगठित तथा सचेत अभियान र आन्दोलन हो । तर रविले यो पक्षलाई पूरै अनदेखा गर्दै आफूलाई ‘स्वतन्त्र’ देखाउन र भन्न खोजे । राजनीतिमा विचारको, संगठनको, दृष्टिकोणको तथा कार्यक्रमको दलीय पक्षधरता हुन्छ, हुनुपर्दछ । तर, रवि लामिछाने यही आधारभूत मान्यता र मूल्यमानै चुकेका छन् । उनलाई राजनीति गर्न, देशको उन्नति, प्रगति र समृद्धिमा सहयोगी बन्नको लागि दल र पार्टी खोल्न कसैले रोक्ने थिएन, रोक्दैन । लुकेर, लुकाएर, ढाँटेर दल बनाउनु पर्ने अवस्था दलीय प्रजातन्त्रमा छैन्, हुँदैन । नेपाली नागरिक बन्न पनि कसैले रोक्ने थिएन । 


 त्यसरी राज्य र आफूलाई ढाँटेर, लुकाएर नेपाली बन्नुपर्ने अवस्था नै थिएन । स्वतन्त्रको जामा लगाएर आफूलाई ढाँट्नुपर्ने पनि थिएन । तर उनले ढाँटे, ढाँट्दैछन् । दलीय प्रजातन्त्रमा कसैले पनि आफूलाई पूर्ण स्वतन्त्र हुँ भन्छ भने कि राजनीतिक चेतना र विचारशूल्य मान्छे हो, होइन भने ऊ ढँटुवा र मतलबी हो । अर्थात् चटके हो । राजनीतिशास्त्रले कुनै खास अवस्था र समयमा पूरै मौन रहनु पनि कुनै विचार, दल र पक्षको समर्थन वा विरोध गर्नु हो भन्ने मान्यता राख्ने भएकोले दल खोलेर चुनावमा भाग लिने स्वतन्त्र भन्नु आवश्यक छँदैथिएन । प्रष्टै फलानो दल भन्दा हुन्थ्यो । यसो नगर्नु रवि लामिछानेको पहिलो विचारधारात्मक कमजोरी, चटक र चुनौती एवम् दुःख भयो, हो । यसैले उनी चम्किए । यही भ्रमले उनी सकिन्छन् ।


राजनीतिक संगठन र पार्टी अघि बढ्ने, टिक्ने र जनतामा बिक्ने मूल आधार भनेको वैचारिकता हो । विचारधारा, दर्शन, दृष्टिकोण, संगठन, राजनीतिक मूल्य र दर्शनको सहारा नलिई कुनैपनि पार्टी अगाडि बढाउन खोज्नु भनेको अराजक, आक्रोसित र उद्दण्ड भीड जम्मा गर्नु मात्र हुन्छ । जो कुनै पनि दिन वा समयमा आफैँ छिन्नभन्न हुन्छ, हुन्छ । लामिछानेको लागि यो चुनौती र दुःख हो । रविले प्रष्टसंग लोकतान्त्रिक, संवैधानिक, संघीय गणतन्त्र, प्रजातन्त्र, विधिको शासनका आधारभूत मूल्यलाई स्वीकार गर्नु सक्नु पर्दछ ।

 

सो मूल्यबाट आफू दायाँबायाँ हुन्न भन्न किन हिचकिटाहट ? क्षणिक केही मान्छेले हुइया गर्न र तालि खानको लागि दल र गणतन्त्रको विरोध गर्नु भनेको तत्कालीन उपेन्द्र यादवको मधेसी जनाधिकार फोरमले माइतीघरमा संविधान जलाएर त्यै नारा र नाममा पार्टी बनाएर संसदमा ५२ सिट जितेको जस्तो हुन्छ । जो पछि विलायो । यादवले पनि त्यतिबेला चटकै गरे । अर्काेतर्फ राजाराजा भन्दै अर्काे जोगी लिङ्देनले चटक देखाए । यस्ता चटक समयक्रममा आफै समाप्त हुन्छ, हुन्छ । 


राजनीतिक शक्ति मूलतः राजनीतिक संघर्ष, क्रान्ति, सामाजिक–राजनीतिक परिवर्तनमा सचेतनतापूर्वक सहभागी भई जनताको नेतृत्व लिएको हुनु आवश्यक हुन्छ । राजनीतिक संघर्ष र क्रान्तिले नै राजनीतिक दललाई जनताको साथी बनाउने हो । क्रान्ति र संघर्षसँग कुनै सम्बन्ध र राइनो नभएको संगठन र नेता अस्थायी हो । सांसद पद गैरकानूनी ठहर भएर गृहमन्त्रीबाट बखौस्तीमा परेका रविको दल केलल चटक र चटके भाषा बोल्दै अघि आएकोले त्यही शैली अपनाउँदै अघि बढ्ने हो भने उनको चटक धेरै बिक्ने र टिक्ने छैन । उनले दिनदिनै धेरै प्रकारका दुःख खेप्नेछन् ।


दल नै खम्बा
राजनीतिक पार्टी लोकतन्त्रका खम्बा हुन्, घरका पिलर जस्ता हुन् । त्यस्तो पिलर आफै संगठित हुन अत्यावश्यक हुन्छ । चुनावमा भोट बढी आउनु र आधारभूत जनताको तहमा संगठन हुनु वा नहुनुमा ठूलो अन्तर हुन्छ । संगठनको आधार नभएको राजनीतिक दल र शक्तिले ल्याएको कुनैपनि कार्यक्रम सफल हुन कठिन हुन्छ । संगठन नभई जनताले दलको अपनत्व लिने कुरा पनि हुन्न । यसैले लामिछानेको अर्काे प्रमुख चुनौती भनेको बिना संगठानिक आधार निर्वाचन जित्नु हो । जनतासँग प्रत्यक्ष सम्बन्ध र अन्तरक्रिया गर्ने भनेको संगठनको माध्यमबाटै हो । फिल्म र टेलिभिजनको चटक नाटक हो । 


हालैका दिनमा कार्यकारी पदमा पुग्दा पनि लामिछानेले उही चटक तथा चटकेशैली समात्दा नागरिकमा निराशा पैदा हुन थालेका थिए । अब हामीलाई चटकसटक होइन, काम र परिणाम नै चाहिएको हो । देखिनेगरी हुने परिवर्तन चाहिएको हो । पासपोर्टको दुःख हटाउने भन्दै रविले चटक गरे । तर नागरिकको दुःख झन बढ्यो । एउटा सवारी लाइसेन्स लिन महिनौं धाउनुपर्ने अवस्था छ । 


अनेकौं समस्याबाट राज्य जकडिएको बेला सस्तो प्रचारवाजी र चटकले नागरिकको दुखेको पीडामा नूनचुक छर्किने काम मात्र हुन्छ भन्ने कुरा रविले बुझ्नै सकेनन् । चटकैचटककाबीच उनको पदनै बर्खास्तीमा परेपछि अब उनले फेरि कस्तोकस्तो नाटक र स्टन्टवाजी गर्ने हुन् त्यो पछि प्रष्ट हुँदैजाला । तर चटकको आयु धेरै हुँदैन भन्ने चाहिँ सर्वाेच्चको फैसलाले पनि प्रष्ट गरिदियो ।
 

 

कसले कसलाई छिर्के हान्ने ?

प्रतिकृया दिनुहोस