• शनिबार-बैशाख-८-२०८१

बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि...

 

तनहुँ, २३ माघ । जिल्लाको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ ।

 

जुकाले फोक्सो र कलेजोमा गुँड बनाएर अण्डा पारेसँगै हिडाटिड सिस्ट भन्ने रोगका कारण फोक्सो र कलेजोमा आक्रमण गरेपछि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोग्नुपरेको हो ।

 

सोही वडास्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत मौरतीका बाबुको निधन भइसकेकाले घरका अन्य सदस्यको आयस्रोत नहुँदा उपचारमा समस्या भएको स्थानीय समाजसेवी गल गुरुङले जानकारी दिनुभयो ।

 

आर्थिक अवस्था अत्यन्त न्यून रहेका मौरती परिवारले उपचार खर्च जुटाउन नसकेपछि गुरुङकै सक्रियतामा करिब रु दुई लाख ३० हजार सङ्कलन गरी उपचारमा सहयोग गरिएको उहाँले बताउनुभयो । बालक मौरतीको उपचारको लागि खर्च जुटाउन सोही वडा निवासी देशविदेशमा रहनुभएका व्यक्तिले सहयोग गरेका कारण उपचारमा केही हदमा सहज भएको उहाँले बताउनुभयो । 

 

फोक्सो र कलेजोमा समस्या भएपछि काठमाडौँ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पहिलो फोक्सोको ‘ओपन सर्जरी’ गरिएको छ भने दोस्रो पटक कलेजो पाइपमार्फत शल्यक्रिया गरिएको थियो ।

 

अबको दुई हप्तापछि पुनःफलोअपका लागि चिकित्सकले सम्पर्क गर्न जानकारी दिएको र अहिले दोस्रो शल्यक्रियापश्चात बालक मौरती घर फर्किनुभएको हो । बालकको उपचारका लागि अझै आर्थिक अभाव हुने देखिएकाले सहयोगी मनले सहयोग गरिदिन आर्थिक सङ्कलन अभियन्ता गुरुङले आग्रह गर्नुभएको छ । 
–––
 

 

प्रतिकृया दिनुहोस