• शुक्रबार-बैशाख-१४-२०८१

‘एक बागी’माथि विमर्श

 

गण्डकी, २४ माघ । उज्ज्वल प्रसाईको कृति  ‘एक बागी’को विषय र पात्र हुनुहुन्छ, लेखक खगेन्द्र सङ्ग्रौला । “ सङ्ग्रौलाले आफूलाई हेर्ने ऐना हो– एक बागी”, उहाँ भन्नुहुन्छ, “मेरा असङ्गति र अन्तरोविरोधसहित कोही मलाई चिन्न चाहन्छ भने यो पुस्तक पढे हुन्छ ।”

 

सोमबार बागलुङमा गरिएको पुस्तकमाथिको विमर्शमा सङ्ग्रौलाले लेखक प्रसाईले आफ्नो भण्डारफोर गरेको बताउनुभयो । “जब तपाईँलाई अर्काको आँखाले हेर्छ, तपाइँले नदेखेका, लुकाउन खोजेका कुराको उसले छिद्र खोल्छ”, सङ्ग्रौलाले भन्नुभयो, “उज्ज्वले पनि खगेन्द्र भन्ने पात्रको भण्डाफोर गरेको हो ।”

 

भण्डाफोर कम्युनिष्टको भाषा भएपनि आजकालकाले बिर्सेको भन्दै उहाँले कटाक्ष गर्नुभयो । “पहिले कम्युनिष्टहरुले दृष्ट, पापी, अत्याचारी, देशीविदेशी प्रतिक्रियावादीको भण्डाफोर गर्थे, अहिले उनीहरु आफै भण्डाफोरित भइसके”, सङ्ग्रौलाले भन्नुभयो ।

 

७७ वर्षीय उनले जीवनको एक भाग अरुका लागि बाँच्ने प्रयास गरेको सुनाउनुभयो । “जिन्दगी दुई किसिमले बाँचिन्छ, आफ्ना लागि र अरुका लागि”, उहाँले भन्नुभयो, “मैले जीवनको एक खण्ड समाजलाई अर्पण गरेँ, उत्पीडिनमा परेकाहरुको न्याय र अधिकारका पक्षमा बोल्ने प्रयास गरेँ ।”

 

आफ्नै जीवनवृत्त समेटिएको पुस्तक ‘एक बागी’ पढेपछि जीवन दुर्गुण, असङ्गति र अन्तरविरोधले भरिपूर्ण रहेको पाएको उहाँले उल्लेख गरेँ । सङ्ग्रौलाले आफ्नो निन्दा र प्रशंसामा नभई वस्तुनिष्ठ र गम्भीर अनुसन्धान गरेर पुस्तक लेखिएको बताउनुभयो ।

 

थोरै छापिएका, कमैले पढेका, कतिले बिर्सिसकेका आफ्ना पुराना कृतिलाई पनि लेखक प्रसाईले स्मरण गराएको उहाँले उल्लेख गर्नुभयो । सङ्ग्रौलाका पुराना रचनाको सन्दर्भ, विषयवस्तु र समयबोधलाई लेखक प्रसाईले पुस्तकमा सन्दर्भित गर्नुभएको छ ।

 

लेखक प्रसाईले ‘एक बागी’ खगेन्द्र सङ्ग्रौलालाई विषय बनाएर लेखिएको जीवनीपरक पुस्तक रहेको बताउनुभयो । “पुस्तकमा सात दशकको नेपाली समाजको एक सरो कथा भन्न खोजिएको छ”, उहाँले भन्नुभयो, “यसले राणाकाल, पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्मको नेपाली समाज र राजनीतिबारे बुझ्न सघाउँछ ।”

 

लेखक प्रसाईले पाँच÷छ वर्षको खोज र अध्ययनपछि ‘एक बागी’ लेखेको सुनाउनुभयो । “यो खगेन्द सङ्ग्रौलाको जीवनी हो, उहाँ कुनै ठूलो र असाधारण मान्छे भएर जीवनी लेखेको होइन, उहाँ आम मान्छे हो, साधारण लेखक हो”, उहाँले भन्नुभयो, “खगेन्द्र सङ्ग्रौलाले बाँचेको जीवन र समयका कथाहरु पुस्तकमा छन् ।”

 

विर्मशमा लेखकद्वयले पाठकसँग सम्वाद पनि गरे । पुस्तकको रचनागर्भदेखि लेखक  सङ्ग्रौलाको साधना र सङ्घर्षबारे पाठकले जिज्ञासा राखेका थिए । सङ्ग्रौलाले सामाजिक न्याय र समानताको लागि आफू सँधै ‘बागी’ विचार र चिन्तन लिएर हिँडिरहेको बताउनुभयो । 

 

नयाँ विश्व अनलाइनद्वारा आयोजित सो कार्यक्रममा पुस्तक हस्ताक्षरलार्इ समेत जोडिएको थियो । पाठकले लेखकको हस्ताक्षरसहित पुस्तक लिएका थिए । नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले लेखक–पाठकबीच अन्तरसम्वादसमेत भएको बताउनुभयो । ‘एक बागी’ बेला पब्लीकेशनबाट केही महिनाअघि प्रकाशित भएको थियो । ———
 

 

प्रतिकृया दिनुहोस