• शुक्रबार-बैशाख-१४-२०८१

बेइमान बाह्र कम्पनी कालो सूचीमा 

 

काठमाडौं । निर्धारित समयमा काम नगर्ने कम्पनीहरुलाई सार्वजनिक खरिद कार्यालयले कालो सुचीमा दर्ज गरेको छ । तल उल्लेखित सबै फर्म तथा कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालो सूचीमा परेका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर व्यवसायी÷आपूर्तिकर्ताहरुले सार्वजनिक निकायका कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने कार्यालयको सूचनामा उल्लेख छ ।


कुन कुन व्यवसायी र आपूर्तिका कालो सूचीमा ?
कार्यालयको कालो सूचीमा परेको युनिर्भसल मुक्ति सर्भिस लिमिटेडका संचालक गोपाल ढकाललाई कालो सूचीमा राख्नका लागि नेपाल दूरसंचार प्राधिकरण लिमिटेडले लेखि पठाएको थियो । सो कम्पनीले समयमा सामान आयात गर्न नसकेको भन्दै कालो सूचीमा राखिएको कार्यालयले सार्वजनिक सूचना जारी गरी उल्लेख गरेको छ ।


त्यस्तै, स्वर्गद्वारी महाप्रभु विल्डर्स प्रा.लि प्यूठानका संचालक कुमार भण्डारीलाई कालो सूचीमा राख्नका लागि सडक डिभिजन कार्यालय प्युठानले सिफारिस गरी पठाएको थियो । कम्पनीले आफ्नो दायित्व भित्र पर्ने निर्माण सम्बन्धी ठेक्का पट्टाको काम निर्धारित समयमा नगरेको भन्दै कालो सूचीमा राख्न सिफारिस गरिएको हो । सुकृति निर्माण सेवा घोराहीका संचालक कृष्णबहादुर खड्कालाई अन्नपूर्ण गाउँपालिका म्याग्दीले कालो सूचीमा राख्नका लागि लेखि पठाएको बताइन्छ ।


त्यसैगरी, एस.डी कन्ट्रक्सन प्रालिका संचालक निरजकुमार मिश्र पनि कालोसूचीमा परेका छन । उनीविरुद्ध परवानीपुर गाउँपालिकाले तोकिएको समय सीमाभित्र जिम्मेवारीपूर्ण रुपमा गर्नुपर्ने काम सम्पन्न नगरेको भन्दै कालो सूचीमा राख्नको लागि सार्वजनिक खरिद कार्यालयालाई सिफारिस गरी पठाएको थियो ।  उता, राष्ट्र सेवा निर्माण सेवा डडेल्धुराका संचालक जगत बहादुर जोरा र उनको निर्माण सेवा पनि कालो सुचीमा परेको छ । सो निर्माण सेवाले तोकिएको समयमा आफूले जिम्मा लिएको काम सम्पन्न नगरेको भन्दै सडक डिभिजन कार्यालय डोटीले कालो सूचीमा राख्नको लागि सिफारिस गरेको हो ।


यस्तै, मुक्तिनाथ विल्र्डस कम्पनी टोखाका संचालक जनार्दन धिताल र उनको कम्पनी पनि कालो सूचीमा परेको छ । उक्त कम्पनीले समयमा काम सम्पन्न गर्न आनाकानी गरेको भन्दै धादिङको धुनिवेसी गाउँपालिकले कालो सूचीमा राख्नका लागि सिफारिस गरेको बताइन्छ । उता, लक्ष्मी निमार्ण सेवा अर्घाखाँचीका संचालक रामबहादुर राना र उनको निर्माण कम्पनी पनि सार्वजनिक खरिद कार्यालयको कालो सूचीमा परेको छ । उक्त निर्माण सेवालाई छत्रदेव गाउँपालिका अर्घाखाँचीले कालो सूचीमा राख्नका लागि सिफासिर गरेको हो ।


यसैगरी, जलेश्वर निर्माण सेवा धादिङका संचालक प्रकाश कोइराला र उनको निर्माण सेवा पनि कार्यालयको कालो सूचीमा परेको छ । सो निर्माण सेवालाई कालो सूचीमा राख्नका लागि इच्छा कामना गाउँपालिका चितवनले सिफारिस गरेको छ । । डी.भी. घिमिरे कन्ट्रक्सन चितवनका संचालक माधव बहादुर घिमिरे पनि कालो सूचीमा परेका छन । घिमेर कन्ट्रक्सनलाई कालो सूचीमा राख्नका लागि इच्छा कामना गाउँपालिका चितवनले लेखि पठाएको बताइएको छ । चितवनकै अन्जना निर्माण सेवाका संचालक पुष्कर प्रसाद गौतम पनि कार्यालयको कालो सूचीमा दर्ज भएका छन । उनले समयमा काम सम्पन्न गर्न नसकेको भन्दै इच्छा कामना गाउँपालिका चितवनले कालो सूचीमा राख्नका लागि लेखि पठाएको हो ।


यता, दिल्ली ट्रेडिङ पर्साका संचालक रानी कुमारी रौनियरलाई वीरगञ्ज महानगरपालिकाले कालो सूचीमा राख्नका लागि लेखिपठाएको हो । यो कम्पनीले महानगरपालिकाको लागि आवश्यक पर्ने सामान खरिद तथा दुवानीको जिम्मा लिएको भएपनि समयमा काम सम्पन्न गर्न नसकेका कारण कालो सूचीमा परेको हो । बी मेनेजमेन्ट प्रा.लि पोखराका संचालक शिवहरी पुडासैनीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्ने नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सम्झौता बमोजिमको काम नगरेको भन्दै कालो सूचीमा दर्ज गरेको छ । 


 

प्रतिकृया दिनुहोस