• शुक्रबार-चैत-१६-२०८०

खतराको घन्टीले ग्रस्त भ्रष्टतन्त्रको षड्यन्त्र !

 

वर्तमान समयका सबै जसो ठूला दलका नेताहरुका धोकाधडी, विश्वासघात, वचन भंगता, वादाखिलाफी, निम्नस्तरका धूर्ततना, निर्लज्जता र दण्डमुक्त भ्रष्टाचार र राजश्व लुटाहाहरुको भद्दा सत्तालिप्साका नग्न प्रदर्शनहरु रोजै गरिरहेको दैनिकहरु, साप्ताहिकहरु, अन्य सञ्चारका माध्यमहरु सामाजिक सञ्जालहरुमा पढेर ज्ञात गर्दैछौं । 


मेरो नाम सँधै विराटनगर शहरको भोटर लिस्टमा छ । २०५१–२०५६ सम्म मलाई विराटनगर शहर र ग्रामीण क्षेत्रका जनताले प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि सभामा निर्वाचित गर्नुभएको थियो । २०७९ वैशाखको स्थानीय निकायहरुको निर्वाचनताका पनि म विराटनगरमा थिएँ । २०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा पनि मतदान गर्नु र प्रचार गर्न पुगेको थिएँ । 


२०७९ वैशाखको स्थानीय निकायहरुको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) पनि नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) कै साथवाला गठबन्धनमा थियो । मैले कांग्रेसका मेयरका उम्मेद्वार र जसपाका उपमेयरका उम्मेद्वारको लागि हाम्रो पार्टीका पारुल क्षेत्रीद्वारा आयोजित सभा र कार्यक्रमहरुलाई सम्बोधन गरेँ । तर, सात महिना पछि २०७९ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा जसपा त्यो गठबन्धन छोडेर नेकपा (एमाले), नयाँ नेतृत्व आएदेखि खुलारुपले आफूलाई राजतन्त्र फर्काउँछौं र संघीयता नेपालका लागि अफाप छ भन्ने राप्रपावाला गठबन्धनमा सामेल भयो । सिद्धान्त र आदर्श कुन चराको नाम हो वर्तमान नेपालका भागवण्डेतन्त्रका ठूला नेताहरुको लागि बेमतलवको कुरा देखिँदै आएको छ । 


जसपाका नेता उपेन्द्र यादवको प्रकाशित कुराहरु अनुसार पहिले अर्कै जिल्लाको बढी सुरक्षित क्षेत्रबाट चुनाव लड्ने सोच बनाएको हुनुहुन्थ्यो । तर, सप्तरी पुगेपछि त्यहाँका स्थानीय नेताहरुले सप्तरीको त्यो क्षेत्रबाट लड्नैपर्छ । निश्चित जित हुन्छ, हामी छौं भनि विश्वस्त पारे रे । त्यस क्षेत्रबाट अमेरिकाको नासाजस्तो विख्यात कम्पनीको वैज्ञानिककर्मी पद छाडेर नेपाल फर्केको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उहाँलाई हराईदिएको घटना भयो । चुनाव हारेपछि उपेन्द्र यादवले सुनियोजित ठूलो धोखाधडी गरिएको अनुभव गर्नुभयो । किनभने त्यही क्षेत्रबाट लड्नुपर्छ, जित निश्चित छ । हामी छौं भनि ठूलो भरोसा दिई विश्वस्त पार्ने लम्पट कार्यकर्ताहरु उहाँले त्यस क्षेत्रबाट नामांकन दाखिल गर्नासाथ गायब भएर देखापर्न पनि छाडे ।

 

हामीहरुले राष्ट्रिर राजनीतिमा भएको अर्काे घटना पनि देख्यौं । निर्वाचन हुन्जेल एउटा गठबन्धन निर्वाचन सम्पन्न हुनासाथ टुट्यो । कांग्रेस, माओवादी, समाजवादी इत्यादि मिलेर बनेको गठबन्धनको चुनावी सफलतापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव अघि र चुनावताकासम्म प्रचण्डलाई दिएको वचन भंग गरेको घटना भयो । चुनाव अघि ५ वर्षमध्ये पहिलो २ वर्ष प्रचण्ड प्रधानमन्त्री र पछिको ३ वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री हुने वचनबाट शेरबहादुर देउवा चटक्कै पछि हटेको घटना भयो । तर, ७२ घण्टाभित्रै रातारातै के के गुप्त मन्त्रणा र सौदा अर्काे नेताहरुसँग भयो । राष्ट्रपतिले प्रधानमन्त्रीको दाबी गर्न दिएको म्यादभित्र एमालेसहित बहुमत सांसदहरुको सूचीसहित प्रचण्ड राष्ट्रपति भवन पुग्नुभयो । 


  राष्ट्रपतिले उहाँलाई प्रधानमन्त्री नियुक्त गरेर संविधान बमोजिम एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्ने समय दिनुभयो । तर, फेरि हामी जनतासमक्ष अर्काे नाटकीय अनौठो घटना के देखाप¥यो भने वर्तमान वर्णसंकर निर्वाचन प्रणाली अन्तर्गत आफ्नो नेतृत्वमा गठबन्धन बनाएर सबैभन्दा ठूलो संसदीय दल भएको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत प्रदान गर्दा ९९.२५ प्रतिशत वर्तमान सांसदहरुको मत प्राप्त हुन पुग्यो । केवल नेमकिपाका प्रेम सुवाल र जनमोर्चाका चित्रबहादुर केसीको मात्र विपक्षमा मत प¥यो । 


तर, २०७९ मंसिरमा वर्णसंकर निर्वाचनमा एउटा सानो सुखद सुरुआत हो जस्तो लाग्ने नौलो नयाँ कुरा के भयो कि मात्र ६ महिना अघि बनेको पार्टी प्रतिनिधि सभामा २० स्थान जितेर चौथो सबैभन्दा ठूलो संसदीय दल बन्न पुग्यो । ६ महिनाअघि राजनीतिमा अस्तित्व नै नरहेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी मंसिर २०७९ को निर्वाचनमा त्यसरी अगाडि आयो । 


यो पार्टीको सभापति रवि लामिछाने एउटा संचारकर्मीका रुपमा करिब १०÷१२ वर्षदेखि टेलिभिजनमा देखा परे पनि डा.तोसिमा कार्की, सोविता गौतम, मनिष झा, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, शिशिर खनाल इत्यादि र अरु धेरै सबै जसो युवा नयाँ अनुहारहरु निर्वाचित हुनुभयो । प्रवक्तामा डा.मुकुल ढकाललगायत युवा अरनिको पाण्डे इत्यादि । तर, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाइसक्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति चितवनका जनता मतदाताले देशभरमा सर्वाधिक ठूलो मतान्तरसाथ जिताएको प्रतिनिधि सदस्य, उपप्रधान तथा गृहमन्त्री पद ३० हजार जति मुद्दा पेन्डि¨ राखेर पदमा बसेका सर्वाेच्च अदालतका न्यायाधीशहरुले बडो फास्ट ट्रयाकबाट ३२ दिनमै फैसला गरी समाप्त पारिदिए । यसप्रकार नव युवाहरुको नवोदित राजनीतिक दलको प्रतिनिधि सभा सदस्य २० बाट घटेर हालै १९ सदस्यमा झरेको छ ।

 
हेरौं आगामी समय र वर्तमान प्रतिनिधि सभाको ५ वर्षे कार्यकालमा के के हुन्छ र यो नवोदित पार्टीको भविष्य के कस्तो हुन्छ ? रवि लामिछानेलाई गत साता २०७९ माघ १५ गते आइतबार नागरिकताको प्रमाणपत्र फेरि प्राप्त भइसकेको छ । तर, चितवनको उपनिर्वाचन लड्नु अघि थुनाउने थुन्ने चर्चा पनि पत्रपत्रिकामा आएको छ । रास्वपा संयुक्त सरकारबाट पनि बाहिरिएको छ ।  हेरौं कुन कुन राजनीतिक षड्यन्त्र र कानूनी सर्कस भ्रष्टाचारका परम्परागत खली नेताहरु र तिनीहरुको धावा रहँदै आएको भ्रष्ट शासनतन्त्रले गर्ने हो ? तर, अर्काे एउटा डर पनि छ । के नवयुवा नवयुवतीहरुको नवोदित पार्टी पनि नवजागरण नभई पुराना भ्रष्ट नेताहरु भएको पार्टी झैं हुँदै जाने त होइन ?
 

प्रतिकृया दिनुहोस