• बिहीबार-चैत-१५-२०८०

‘शताब्दी विशेषाङ्क’ले सर्वोच्च बारमा हंगामा   

 

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनमा भर्खरै निर्वाचन सम्पन्न भई बार कार्य समितिमा लोकतन्त्र पक्षधर हरिशंकर निरौलाको नेतृत्वमा नयाँ टिम आएको छ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रमशेर ज.ब.रा.विरुद्धको आन्दोलनका कारण संविधानविद् रहेका निवर्तमान अध्यक्ष पूर्ण मान शाक्य नेतृत्वको समितिले राम्रो काम गरेको जस पाइरहेका बेला जाँदाजाँदै एउटा कामका कारण ‘हलुवामा बालुवा’ झैं हुन पुगेको वकिलहरु बताउछन् । बयोवृद्ध ९७ वर्षीय वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीको ‘विशेषाङ्क’का कारण शाक्यलाई हिंड्ने बेलामा नमजा भएको हो । 


  शाक्य नेतृत्वको समितिले यसपल्टको सर्वोच्च बार जर्नलमा कानून शताब्दी पुरुष कृष्ण प्रसाद भण्डारी विशेषाङ्कका रुपमा प्रकाशन गरेको थियो । उक्त जर्नलका कारण भण्डारीको सम्मान भन्दा मर्यादामा आँच पुगेको टिप्पणी कानून व्यवसायीले गरेका छन् ।

 

भण्डारीका विषयमा प्रकाशित सामाग्री, तस्बिर, भाषा र लेखको शीर्षकका कारण सम्मान भन्दा होच्चिने अवस्था आएको सर्वोच्च बारका निवर्तमान सदस्य रहेका पीएलए सम्बद्ध एकजना अधिवक्ताले साँंघुलाई जानकारी दिए ।

 

उनका अनुसार, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आफ्नो लेखको शीर्षकलाई लिएर कडा आपत्ति जनाउँदै नसच्याएसम्म सार्वजनिक नगर्न भनेपछि झण्डै एक महिनासम्म पुस्तक बाहिर आएन । 


गएको २०७९ माघ ७ गते सर्वोच्च बारको पद हस्तान्तरण कार्यक्रममा ‘विशेषाङ्क’ सार्वजनिक गरी विक्रीवितरण गर्ने कार्यक्रम रहे पनि कार्कीलगायतका कानून व्यवसायीका कारण रोकिएको ती अधिवक्ताले जानकारी दिए । उनका अनुसार, एक महिनापछि आएर कतिपय लेखमा कागज टाँसेर टालटुल पारेर शीर्षक सच्याएर बाँडिएको छ ।

 

विशेषाङ्कमा भण्डारीको फोटो समेत बारको ट्वाइलेट अघि उभिएको प्रयोग भएको जनाइएको छ । जीवित मध्येका सबै भन्दा अग्रज कानून व्यवसायीको फोटो यसरी विगारेर छापिएको विषयमा पनि कानून व्यवसायीहरुले आपत्ति जनाएका छन् । काँग्रेस वृत्तका वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको संयोजन र अधिवक्ता विकास भट्टराईको सम्पादनमा भण्डारी विशेषाङ्क प्रकाशन भएको जनाइएको छ । 


ती कानून व्यवसायीले भने,–‘राम्रो ध्येयले विशेषाङ्क निकाले पनि टीमको विश्वासमा पर्दा हिंड्ने बेला निवर्तमान अध्यक्ष र हामी सबैका लागि लाजमर्नु भयो । यति हुँदा पनि न कसैले जिम्मेवारी लिन्छ, न गल्ती स्वीकार गर्छन् ।

 

एउटाले अर्कोलाई पोलापोल गरेर मुख र दोष लुकाउने प्रयास भइरहेको छ ।’ विवादमा परेका कारण हजार प्रति छापिएको विशेषाङ्क विक्री समेत नभएको बताइन्छ । प्रकाशनको लापरवाहीका कारण कानून व्यवसायीको सदस्यता शुल्क र सहयोग रकमबाट छापिएको विशेषाङ्कको लगानी सबै डुबेको स्रोत बताउछ ।

 

कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीलगायतको शुभकामना समेत छापिएको जनाइएको छ । कतिपय कानून व्यवसायीले नेपाल बारएशोसिएसनले ‘वाङ्मय शताब्दी पुरुष’को सम्मान दिइसकेको अवस्थामा प्रकाशन समितिले ‘कानून शताब्दी पुरुष’ मा सीमित गरेको विषयमा पनि विरोध गरेको जनाइएको छ । शाक्य कार्य समितिले राम्रो काम गरेको भनेर सबैतिर प्रशंसा भइरहेका बेला जाँदाजाँदै एउटा कामले खिस्रिक्क पारेको भन्दै कानून व्यवसायीहरुले नै चिन्ता व्यक्त गरेका छन् ।
 

प्रतिकृया दिनुहोस