• बिहीबार-बैशाख-१३-२०८१

विद्युत् प्राधिकरणको बाक्सिला सव-स्टेशन अलपत्र

खोटाङ, १९ फागुन । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला (सिमपानी)मा नेपाल विद्युत प्राधिकरणको निर्माणाधिन सव–स्टेशन अलपत्र परेको छ ।

 

भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुईपा–बाक्सिला प्रशारण लाईन, ट्रान्सफर्मर जडान गर्ने र सव–स्टेशन निर्माणको काम तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ साल भदौमा सम्झौता गरेको थियो ।

 

ठेकेदार कम्पनीले बुईपा–बाक्सिला ३३ केभि र ११ केभि प्रशारण लाईनको काम पुरा गरेपनि ट्रान्सफर्मर थप गर्ने र सव–स्टेशन निर्माणको काम अलपत्र पारेको हो ।

 

सम्झौताअनुसार २०७६ सालमै बनिसक्नुपर्ने सव–स्टेशनको क्वाटर र कन्ट्रोल बिल्डिङको काम अधुरै छ । निर्माणस्थलमा सव–स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन् ।

 

खुला चौंरमा थुपारिएका कतिपय उपकरण टुटफुट र काम नलाग्ने अवस्थामा पुगेको अनुमान छ । कतिपय संरचनाको पिलर मात्र ठड्याइएको देखिन्छ । बिराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा लगिएकै छैन ।

 

सव–स्टेशनको बाँकी काम पुरा गर्नका लागि पटक–पटक विद्यूत प्राधिकरण पुग्दा पनि सुनुवाई नभएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए । सव–स्टेशन निर्माणमा ढिलासुस्ती हुँदा सेवाग्राही गुणस्तरिय विद्युत सेवाबाट बञ्चित छन् ।

 

केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उत्तरी क्षेत्रका सेवाग्राहीलाई लक्ष्यित गर्दै बाक्सिलामा सव–स्टेशन निर्माणको काम थालिएको थियो ।

 

बाँकी काम सम्पन्न हुँदासम्ममा आयोजनाको कुल खर्च करिब ११ करोड पुग्ने प्राधिकरणले जनाएको छ । सरासर काम गरे डेढ÷दुई महिनामै काम सकिने अवस्था छ तर निर्माण कम्पनीले काममा चासो नदेखाएको स्थानीयको गुनासो छ ।

 

सम्झौता म्यादभित्र सव–स्टेशन लगायतका संरचना निर्माणको काम नसकिएपछि भेरिएसन गर्दै पटक–पटक म्याद थप भएको छ ।

 

पटक–पटक पेटी ठेकेदार परिवर्तन हुँदा सव–स्टेशन र ट्रान्सफर्मर जडानको कामले गति लिन नसकेको नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजना प्रमुख बोधराज ढकालले बताए ।

न्युज कारखाना

प्रतिकृया दिनुहोस