• शनिबार-बैशाख-८-२०८१

चौथो कुम्मायक गोल्डकपको उपाधि याङवरकलाई

कुम्मायक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि याङवरक टीमलाई

पाँचथर, १५ चैत (रासस) : पाँचथरको कुुम्मायक गाउँपालिकाको यासोकमा आयोजित चौथो कुम्मायक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि याङवरक गाउँपालिकाले जितेको छ ।

 

    आज पृथ्वी माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित फाइनल खेलमा फाल्गुनन्द गाउँपालिकामाथि ३–१ को सहज जित निकाल्दै याङवरकले उपाधि उचालेको हो । खेलको छ मिनेटमै याङवरकका कप्तान सुुमन योङ्याले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

 

रक्षात्मक बनेको फाल्गुुनन्दले खेलमा फर्किंदै ३३औँ मिनेटमा बराबरी गोल ग¥यो । फाल्गुनन्दका लागि विनोद नेम्बाङले गोल गरे । तर आक्रामक खेल प्रदर्शन गरेको याङवरकका लागि पुुष्कर काम्बाङले ३८औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

 

    दोस्रो हाफमा दुवै टिमले गोल गर्न पाएका केही मौका गुुमाएका थिए । दोस्रो हाफको ३१औँ मिनेटमा फाल्गुनन्दका विनोद नेम्वाङ ‘वान भर्सेस वान’ को स्थितिमा गोल गर्नबाट चुकेका थिए ।

 

दोस्रो हाफको १७औँ मिनेटमा याङवरकका लागि कप्तान सुुमन योङ्याले पुुनः गोल गर्दै गोलअन्तरलाई फराकिलो बनाए । फाल्गुनन्दले गोल गर्न गरेका केही राम्रा प्रयासमा याङवरकका गोलरक्षक रबिन बेघा बाधक भइदिँदा याङवरकका लागि जित सहज बनेको थियो ।

 

    उपाधिसँगै याङवरकले रु एक लाख ११ हजार एक सय ११ पुरस्कारसहित तीन वर्षे ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता फाल्गुनन्दले रु ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष रोहन घिमिरेले जानकारी दिनुुभयो ।

 

प्रतियोगिताका विजेता र उपविजेतालाई प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि कुुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले पुुरस्कार प्रदान गर्नुुभयो ।

 

    फाइनल खेलमा दुुई गोल गरेका याङवरकका योङ्या प्रतियोगिताका उत्कृष्ट फरवार्ड घोषित हुँदै पुरस्कृत भए । फाइनल खेलको उत्कृष्ट खेलाडी याङवरककै पुुष्कर काम्बाङ घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी याङवरकका जमिन लिम्बू घोषित हुँदै रु १५ हजार पुुरस्कार प्राप्त गरे ।

 

प्रतियोगिताको उदीयमान खेलाडी कुम्मायक गाउँपालिकाका सुशील लावती, उत्कृष्ट गोलकिपर याङवरकका रविन बेघा, उत्कृष्ट डिफेन्स फाल्गुनन्दका विदेश आङ्देम्बे, उत्कृष्ट मिडफिल्डर फाल्गुनन्दकै ऋतिक आङदेम्बे र उत्कृष्ट प्रशिक्षक याङवरकका तुफान क्षेत्री घोषित हुँदै जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

 

    प्रतियोगितामा जिल्लाका आठ स्थानीय तहको सहभागिता थियो ।
–––

 

प्रतिकृया दिनुहोस