• शनिबार-बैशाख-८-२०८१

मुख्यमन्त्रीसमक्ष रासस अध्यक्षद्वारा भवन निर्माणसम्बन्धी अवधारणापत्र पेस

 

सुदूरपश्चिम, १८ चैत (रासस) : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आज रासस धनगढीको जग्गामा आमसञ्चार विकाससम्बन्धी भवन निर्माणका लागि अवधारणापत्र पेस गर्नुभएको छ ।

 

राससका कार्यकारी अध्यक्ष झाको नेतृत्वको टोलीले धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्रीलाई भवन निर्माणको अवधारणापत्रसम्बन्धी प्रस्ताव पेस गरेको हो ।

 

सो अवसरमा मुख्यमन्त्री शाहले राज्यको आधिकारिक समाचार संस्था राससको भवन निर्माणका लागि आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशको पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

 

अध्यक्ष झाले राससका देशभरि रहेका राससका अचल सम्पत्ति (भवन र जग्गा) उपयोगका बारेमा प्रकाश पार्दै पेस गरिएको प्रस्तावमा प्रदेश सरकारको सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

 

प्रदेश सरकारसँग रासस सहकार्य गर्न तयार रहेको बताउँदै अध्यक्ष झाले भन्नुभयो, “राससलाई जनस्तरमा पु¥याउन हामी लागिपरेका छौँ ।” टोलीमा रासस सञ्चालक बोर्डका सदस्य कृष्ण अधिकारी, बजार शाखा प्रमुख राजाराम कार्की, रासस सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख सिद्धराज भट्ट सहभागी हुनुहुन्थ्यो ।

 

सुदूरपश्चि आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र धनगढी निर्माणसम्बन्धी उक्त प्रस्तावमा हाल रहेको पुरानो भवनलाई भत्काएर सो ठाउँमा बहुउद्देश्यीय नयाँ भवन बनाउने प्रस्ताव छ ।

 

प्रदेशका सञ्चारकर्मीका लागि क्षमता विकास गर्दै नयाँ जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको सो भवनमा राससको कार्यालयका अतिरिक्त आमसञ्चारमाध्यम तथा तालिम, अभिमुखीकरण लागि तस्बिर, रेडियो र टिभी स्टुडियो, पुस्तकालयलगायतका लागि कक्ष हुनेछन् ।
–––
 

 

प्रतिकृया दिनुहोस