• शुक्रबार-चैत-१६-२०८०

गणतन्त्र गलत भयो भन्दा शाह बंशीय बर्बरता बिर्सनु हुन्न : अध्यक्ष ओली

 

काठमाडौं, १५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणाली गलत भयो भन्ने भाष्य प्रति चिन्ता ब्यक्त गरेका छन् ।

 

१६ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले गणतन्त्रका बारेमा भईरहेका मिथ्या प्रचार चिर्नुपर्नेसमेत जनाएका छन् ।

 

‘नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको वंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुनु हुन्न,’ ओलीले आफनो सन्देशमार्फत भनेका छन, ‘यसले गणतान्त्रिक शासन व्यवस्था र जनतालाई कमजोर बनाउँछ ।’ 

 

उनले बिगतमा भएको क्रुर दमनलाई यति चाँडै बिर्सन नहुने पनि जनाएका छन । उनले आफनो शुभकामना सन्देशमा भनेका छन, ‘गणतन्त्रात्मक प्रणाली सञ्चालन गर्ने क्रममा भएका त्रुटिको अर्थ हिजोको निरंकुश कालमा जनतामाथि भएका क्रुर दमन, जनताका अधिकारहरू माथिका बन्देज र हुकुम नै कानून हुने परिपाटी सही थियो भन्ने होइन, त्यो बर्बरता बिर्सिइएको हुन सक्ला, सही सावित भएको किमार्थ होइन ।’ 


गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताउँदै ओलीले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने बताएका छन् । 

 

‘गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ । जहाँ सीमान्तकृत, अल्पसङ्ख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायको बीचमा विभेद र बहिष्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस,’ उनले आफनो सन्देशमा भनेका छन् ।

 

बाआमा, दाजुभाइ, दिदीबहिनीले शहादत गरेर, अङ्गभङ्ग हुनेगरी घाइते भएर र रगत बगाएर ल्याएको गणतन्त्र प्रणालीको दृढतापूर्वक पक्षपोषण गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष ओलीले गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव भएको उल्लेख गर्दै जनता वास्तविक अर्थमा सार्वभौम बनेको यस दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिनको रुपमा स्मरण गर्नुपर्नेमा पनि जोड गरेका छन्  ।


‘हामीले गणतान्त्रिक प्रणालीका लागि जीवन जोखिममा राखेर गरेको सङ्घर्ष राज्य सञ्चालनमा रहेको वंशीय एकाधिकार तोडेर जनता स्वयं आफ्नो मालिक बन्ने प्रणाली स्थापनाका लागि हो, सबैलाई अवसरमा समानता, न्यायमा पहुँच र जीवनमा सुखको प्रत्याभूति गर्नका लागि हो’ भन्दै ओलीले नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको वंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित नहुन आग्रह गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस