• शुक्रबार-चैत-१६-२०८०

आन्तरिक राजस्व सवा अर्ब किन घट्यो ? : वैशाख मसान्तमा १ अर्ब २० करोड कम

 

काठमाडौं । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष र यो वर्षको वैशाख महिनासम्मको राजस्व संकलनको समीक्षा रिपोर्ट तयार गरेको छ । ०७९ को वैशाखमा ३५ अर्ब ६६ करोड ५४ लाख ६२ हजार राजस्व संकलन भएकोमा ०८० वैशाखमा भने घटेर ३४ अर्ब ४६ करोड ७५ लाख ८२ हजारमा झरेको छ । यो आँकडालाई हेर्दा अघिल्लो वैशाखको तुलनामा यो वैशाखमा रु. १ अर्ब १९ करोड ७८ लाख ८० हजार राजस्व कम संकलन भएको विभाग स्रोतले जानकारी दिएको छ । 


प्रत्येक शीर्षक अन्तर्गको आँकडालाई अध्ययन गर्दा गत आर्थिक वर्षको वैशाख महिनामा आम्दानी कर रु. ७ अर्ब ९४ करोड ७० लाख ६९ हजार संकलन भएको थियो । जारी चालु आवको वैशाखमा ८ अर्ब ८३ करोड १७ लाख ४३ हजार संकलन भएको विभागले जानकारी दिएको छ । घर बहाल कर बापत गत आ.व.मा १ करोड ५९ लाख ३७ हजार संकलन भएको थियो । तर चालु आ.व.को यो अवधिमा १७ करोड ७९ लाख १९ हजार संकलन भएको विभागले जानकारी दिएको छ ।


त्यसैगरी, ब्याजमा गत वर्ष ४ अर्ब ८९ करोड ४१ लाख ५४ हजार संकलन गरेको थियो । तर चालु आ.व.को वैशाखमा भने ५ अर्ब ६ करोड ७८ लाख ८० हजार जम्मा भएको छ । आन्तरिक मूल्य अभिबृद्धि करतर्फ ९ अर्ब ७७ करोड १८ लाख ३ हजार संकलन भएकोमा गत वैशाखमा ९ अर्ब ७७ करोड ७० लाख ३९ हजार जम्मा भएको छ । बाह्य मुअकमा भने अघिल्लो आवमा ११ अर्ब ८३ करोड ८० लाख ३७ हजार संकलन भएको र चालु आ.व.मा ९ अर्ब ८२ करोड ८९ लाख ८४ हजार जम्मा भएको विभाग स्रोतले जानकारी दिएको छ । 


स्वास्थ्य सेवामा गत आव ०७९ वैशाखमा ७८ करोड ६५ लाख राजस्व संकलन भएकोमा चालु आवको वैशाखमा भने ५२ करोड ९५ लाख ३४ हजार मात्रै जम्मा भएको छ । शिक्षातर्फ ०७९ वैशाखमा २६ करोड ७७ लाख २ हजार रहेकोमा ०८० वैशाखमा २३ करोड ५३ लाख ८३ हजार मात्रै संकलन भएको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस