• शनिबार-श्रावण-१२-२०८१

५ दिनभित्र भारत छाड्न क्यानडाली कूटनीतिज्ञलाई निर्देशन

 

काठमाडौं  । भारतले क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न निर्देशन दिएको छ । क्यानेडाली शिख नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणले दुई देशबीचको कूटनीतिक सम्बन्धमा दरार पैदा गराएको छ । 

 


भारतले क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न निर्देशन दिनुअघि क्यानडाले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (आरएडब्ल्यू–रअ)का अधिकारी पवनकुमार राईलाई देश निकाला गरेको थियो । 

 


यसको २४ घण्टा नबित्दै मंगलबार भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर एक जना क्यानडाली कुटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न निर्देशन दिएको जनाएको छ । 

 


यसअघि सोमबार संसदमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारत सरकारका एजेन्टले गत जुनमा निज्जरको हत्या गरेको र यसबारे सुरक्षा एजेन्सीले अनुसन्धान गरिरहेको बताएका थिए ।

 


उनले भारतमा हालै आयोजित जी–२० बैठकको बेला आफूले यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको पनि बताएका थिए । भारतले भने क्यानडाको आरोपको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोप लगाउनु हास्यास्पद रहेको बताएको छ । 

 


गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियाको एउटा गुरुद्वार नजिकै निज्जरको गोली हानेर हत्या भएको थियो ।
 

प्रतिकृया दिनुहोस