• आइतबार-बैशाख-२८-२०८२

म जस्ताे एउटा स्वतन्त्र शिक्षकमाथि यस्ताे अन्याय किन हुन्छ ?- शिक्षक ब्रम्हदेव पासवान

(काठमाडौँमा शिक्षक आन्दोलन सेलाउन नपाउँदै बारामा एक शिक्षक आफू अन्यायमा परेको भन्दै हारगुहार गरिरहनुभएको छ  । बाराको जितपुर सिमरा उपमहानगरपालिका -२, निवासी ब्रहमदेव पासवान विगत ४१ वर्षदेखि सोही वडाको  राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षण गर्नुहुन्थ्यो   । आफ्नो आधा उमेर शिक्षणमा खर्चिनुभएको पासवानलाई अहिले उपमहानगरले  सोही उपमहानगरको हरपुर सरुवा गर्दियो । तर, त्यहाँ पनि विद्यालयले अयोग्य ठहर्‍याउँदै हाजिर नगराएपछि अहिले उपमहानगरमा हाजिर गरेर बसिरहनुभएको  शिक्षक  पासवानसँग साँघु न्युज डट कमका लागि रिकेश विश्वकर्मा( क्षितिज)ले गरेको कुराकानीको मुख्य अंश)


० शिक्षा विधेयक चित्त बुझ्दो भएन भनेर शिक्षकहरू आन्दोलन गरिरहेका छन् । यही बिचमा तपाईंलाई उपमहानगरले ४१ वर्ष शिक्षण गरेको विद्यालयबाट थाहा नै नदिई सरुवा गरेकाे  त हो ?

- हो, मलाई अरु केही होइन,  राजनीति पहुँच हुनेहरुले त्यहाँबाट योजनागत रुपमा निकालेका हुन् ।

० तपाईं शिक्षण पेशामा लाग्नुभएको कति भयो ? सुरुवातबाट नै त्यहीँ विद्यालयमा पढाउनु हुन्थ्यो हो ?

-हो, मैले जुन विद्यालयमा  पढाइरहेको थिएँ । म पनि त्यहीँ विद्यालयमा पढेको विद्यार्थी  हुँ। एसएलसी पास भएपछि २०३९ सालदेखि मैले निजी स्रोतमा पढाउन थालें ।  त्यसपछि २०४१ साल माघ ७ गतेबाट स्रोत स्थायी भएपछि  निरन्तर नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मै पढाइरहें।

० तपाईंको शैक्षिक योग्यता कति हो ? कति कक्षाका विद्यार्थीलाई पढाउनु हुन्थ्यो ?

- मेरो शैक्षिक योग्यता भनेको एसएलसी मात्र हो। पहिला पहिला त्यहीँ एसएलसी गर्न कति मुस्किल थियो र मान्यता पनि हुन्थ्यो। म कक्षा १ देखि ५ कक्षासम्म सबै विषय पढाउथें । विशेष गरि मैले पढाउने भनेको गणित हो ।

० तपाईंलाई केही थाहा नदिएर उपमहानगरले किन सरुवा गर्यो त ? कतै तपाईंले शिक्षण गर्नुभएको राम्रो नभएर पो हाे कि ?
 

- त्यस्तो केही होइन । मैले पढाएको विद्यार्थी नै आज जनप्रतिनिधि छ्न्, कति शिक्षक छ्न् । पढाएको  ४१ वर्ष हुँदै गर्दा  पढाएको ठिक भएन भनेर कोही आएनन् त । कुरा के हो भने मैले कुनै राजनीतिक दलसँग निकटता राख्न सकिन यति मात्र हो।

० अहिले शिक्षणमा पनि नयाँ  पद्धति आएको छ। अब झन प्रा वि शिक्षक पनि ब्याचलर गरेको हुनुपर्छ भन्ने कुरा आइसक्यो ? तपाईं त एसएलसी गरेको शिक्षक त्यसले पनि हो कि ?

- त्यस्तो हो भने ८ पास गरेको मान्छे कसरी प्रधानमन्त्री बन्छ ? त्यो जमाना त्यस्तै थियो त । त्यतिबेला ८ पास गरेको एसएलसी गरेको मान्छे प्रधानअध्यापक बनेर रिटाएर भएका छन् । जसरी हामीले शिक्षण गरेका छौं अहिले पनि त्यस्तै गर्ने होइन र नत्र हामी ४१ वर्षसम्म कसरी टिक्याैं त त्यतिखेर नै हटाइदिएकाे भए भैहाल्थ्यो। रिसराग केही होइन मात्र मैले राजनीतिक व्यक्तिको गुलाम गर्न जानिन्।

० तपाईंलाई त्यहाँबाट सरुवा गरेर कुन विद्यालयमा पठाइयो ? त्यहाँ पनि हाजिर गराएनन् भन्ने कुरा छ हाे ?

-मलाई केही थाहा नदिइ सरुवा गरे । विद्यालयले रमाना पत्र दियो म केही नबोली होस् त भनेर आफूलाई सरुवा गरेको वडा नम्बर -२२ स्थित हरपुरमा रहेको रिते माध्यमिक विद्यालयमा पुगें । तर, त्यहाँ मा.वि. हेर्ने एकजना मात्र करार शिक्षक रहेछन् । त्यसपछि मलाई माविसम्म हेर्नु भनेर आदेश दिए । मैले सक्दिनँ भनेपछि मलाई अयोग्य ठहर्‍याएर हाजिर गर्न दिएनन्।

० तपाईंलाई त दरबन्दी मिलन गर्दा सरुवा भएको भन्छ्न् नि ?

- त्यस्तो हुँदै होइन । आफ्नो राजनीतिक कार्यकर्ता राख्न मिलाइएको झेललाई कसरी दरबन्दी मिलन भनिन्छ । यो त सबै बहाना मात्र हो। जब म त्यहाँबाट हिँडे मैले पढाएको विद्यार्थीलाई त्यहाँ ल्याएर विद्यालयले राख्यो। तर मलाई न त यता राख्यो न त हाजिर नै गर्न दियो।

० पहिला तपाईंले पढाउने स्कुलको एकजना अभिभावकले तपाईंलाई सधैँ मापसे गरेर  आँउथे र विद्यार्थीलाई राम्रोसँग नपढाएकोले सरुवा गरेको टिप्पणी गरेका छ्न्। तपाईंले यस्तो गर्नुहुन्थ्यो र ?

-मैले त्यस्तो केही गरिन, झुठाे आराेप हाे । मैले मापसे गरेर विद्यार्थी राम्रोसँग नपढाएको प्रमाण के छ ? प्रमाण ल्याउनु पर्यो नत्र मेरो चरित्र हत्या गर्न खोज्नेको लागि म पनि कानूनी बाटो अपनाउँछु।

o प्राय सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्नो बालबच्चालाई निजी विद्यालयमा पढाउँछन् भन्ने छ । तपाईंले कहाँ पढाउनु भएको छ नि ?

- म एउटा गरिब परिवारको शिक्षक हुँ । मैले मेरो बालबच्चा मैले पढाएको स्कुलमै  पढाएको हुँ । अहिले नातिनातिनी पनि त्यहीँ पढ्दै छन् ।

o तपाईंले उपमहानगरपालिकामा पनि हाजिर नगराएको सम्बन्धमा निवेदन दिनुभयो भन्ने छ, उपमहानगरपालिकाले केही सुनुवाइ गरेन त ?

- मेराे निवेदनमा अहिलेसम्म केही सुनुवाइ भएको छैन । मैले कतै हाजिर गर्न नदिएपछि उपमहानगरपालिकामा नै हाजिर गर्छु भनेर हाजिर चाहिँ गरिरहेको छु । अब तलब दिन्छ्न दिंदैनन् केही थाहा छैन ।

o अब तपाईं उपमहानगरले फेरि अन्त सरुवा गर्यो भने जानुहुन्छ ?

-म अब कतै जान्न । जबसम्म मलाई त्यहाँ हाजिर गराइँदैन । तबसम्म म कतै जान्न । किनकि मलाई राजनीतिक गर्नेहरूले जालझेल गरेर हटाएका हुन् ।

o अन्त्यमा सम्बन्धित निकायलाई के भन्न चाहनुहुन्छ ?

- न्याय हुनु पर्याे, अरू मेरो खास भन्नु केही छैन । के भनौँ हामी जस्तोका कुरा कसले के नै बुझ्छन् र ? म जस्ताे  एउटा स्वतन्त्र शिक्षकलाई जागिर खान कतिसम्म हेप्छन् पीडा कष्ट कति दिन्छन् ? यस्ताे अन्याय किन हुन्छ सम्बन्धित निकायलाई मेरो यहीँ प्रश्न छ।

 

प्रतिकृया दिनुहोस