• आइतबार-बैशाख-२८-२०८२

प्राविधिक सचिवमा कस्ले मार्ला बाजी ? 

 

काठमाडौं । शहरी विकास सचिव रविन्द्रनाथ श्रेष्ठले २०८० असोज ११ गते ५८ वर्ष उमेर हदकाकारण अनिवार्य अवकास पाएका छन् । उनको अवकाशसँगै रिक्त सचिवमा जानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका मणिराम गेलाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी विज्ञान तथा प्रविधितर्फकी प्रमिलादेवी बज्राचार्य, खानेपानीका रामआधार साह, राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत सुरेश प्रसाद आचार्य र नेपाल ट्रष्ट कार्यालयका सचिव सर्जु बैद्यले चाहना राख्दै आएको चर्चा छ ।


 प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्ड र मुख्यसचिव डा. बैकुण्ठ अर्यालले भोलि असोज १५ गते मंगलबार बस्ने मन्त्रिपरिषद बैठकबाट नै संभवत नयाँ शहरी सचिव नियुक्त गर्न सक्ने बताइएको छ । शहरी सचिव श्रेष्ठको अवकाससँगै एक जना प्राविधिक सचिव पद रिक्त भएको छ । श्रेष्ठको अवकाश भएसँगै इन्जिनियरिङ सेवाबाट एकजना वरिष्ठ सहसचिव विशिष्ट श्रेणीको सचिव पदमा बढुवा हुँदैछन । सचिव बढुवा सिफारिस समितिले तीनजना वरिष्ठ प्राविधिक सहसचिवको नाम सिफारिस गर्नेपर्ने कानूनी प्रावधान रहेको छ ।


इन्जिनियरिङतर्फको वरीयताक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुख रहेका ससहसचिव विश्वबाबु पुडासैनी पहिलो एक नम्बरमा रहेका छन् । उनले आठ वर्ष गुणस्तर तथा नापतौल विभागका महानिर्देशक भएर काम गरेका थिए । उद्योग मन्त्रालय, प्रदेश मन्त्रालयको सचिव भएर काम गरिसकेका छन । सहसचिव पुडासैनीको सेवा अवधि धेरै रहेकोले उनी हतारिएर सचिव बन्ने पक्षमा नरहेको कर्मचारी स्रोतले बताएको छ ।

 

दोस्रो नम्बरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख रहेका हाई वे समूहका सुई अर्जुनजंग थापा रहेका छन् । उनले सडक विभागको दुई पटक महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन । यसअघिको प्राविधिक सचिव बढुवामा कार्यसम्पादन मूल्यांकनका आधारमा सुई थापाको बढुवा हुनुपर्नेमा शक्ति केन्द्रले चलखेल गरी हाल खानेपानी मन्त्रालयमा कार्यरत सचिव रामआधार साहले सचिवमा बाजी मारेका थिए । सचिव बढुवा हुने लाइनको तेस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडी रहेको स्रोतले जानकारी दिएको छ ।

 

सहसचिव दवाडीको पनि सेवा अवधि प्रसस्तै रहेकोले यस पटक सरकारले विगतमा अन्यायमा परेका सिनियर सुई थापालाई बढुवा गर्ने सम्भावना रहेको स्रोत बताउँछ । सहसचिव थापाको सचिवमा बढुवा भएको खण्डमा पनि उनले उमेर हदका कारण एक महिना मात्र सचिव हुन पाउने छन । त्यसपछि लगत्तै उनको ठाउँमा विश्ववावु पुडासैनीको सचिवमा बढुवा हुने सम्भावना रहेको स्रोतले बताएको छ । आगामी पुसमा सिंचाई सचिव दिनेश कुमार घिमिरे अवकास भएपछि भने सुई दवाडीको पनि बढुवा हुने स्रोत बताउँछ ।

 

श्रेष्ठको अवकास पछि उनको ठाउँमा बढुवा गर्न लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको समितिले तीन जनालाई बढुवाका लागि छिटै नै सिफारिस गर्ने भएको छ । जसमा पुडासैनी, थापा र दुवाडी सिफारिसमा पर्ने निश्चित छ । उनीहरु मध्येबाटै मन्त्रिपरिषदले एक जनालाई सचिवमा बढुवा गर्ने छ । अवकाशमा मुखमा रहेकालाई नै सहसचिवलाई सम्मान र पेन्सन सुविधा बढ्ने गरी सचिव बनाउने प्रचलन रहेको छ । यही कारण थापा नै सचिव बढुवा हुने प्रवल सम्भावना रहेको बताइन्छ ।
 

प्रतिकृया दिनुहोस