• मंगलबार-बैशाख-१८-२०८१

सिड्नीको एक चर्चमा प्रार्थनाको क्रममा चक्कु प्रहार, एक १६ वर्षीय किशोर पक्राउ

 

काठमाडौँ । अस्ट्रेलियाली प्रहरीले सिड्नीको एक चर्चमा सोमबार भएको चक्कु आक्रमणलाई धर्मको आधारमा प्रेरित ‘आतंकवादी कार्य’ भनेको छ ।

 

अस्सिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको क्रममा विशप, एक पादरी र अन्यलाई चक्कुले आक्रमण गरिएको थियो। यस मामिलामा एक १६ वर्षीय किशोर पक्राउ परेका छन् । घटनामा कम्तीमा चार जना घाइते भएको प्रहरीले जनाएको छ । यस घटनामा आक्रमणकारी पनि घाइते भएका छन् । सिड्नीको उपनगर वेकेलीमा रहेको यस चर्चमा प्रार्थनाको प्रत्यक्ष प्रसारण भइरहेको थियो र आक्रमणको पनि प्रसारण भएको थियो ।

 

घटनापछि सयौं मानिस चर्च बाहिर जम्मा भएका थिए र प्रहरीसँग झडप भएको थियो । सो क्रममा दुई प्रहरी घाइते भएका छन् भने २० प्रहरी गाडीमा क्षति पुगेको छ । घाइतेको उपचारका लागि त्यहाँ पुगेका स्वास्थ्यकर्मीलाई पनि करिब तीन घण्टासम्म जनताले बन्धक बनाएका थिए ।

 

प्रधानमन्त्री एन्थोनी अल्बानीजले राष्ट्रिय सुरक्षा एजेन्सीहरूसँग बैठक गरेका छन् र आक्रमणलाई चिन्ताजनक भनेका छन् । उनले भने, ‘हामी शान्तिप्रेमी देशवासी हौँ । यहाँ हिंसा र अतिवादको लागि कुनै ठाउँ छैन ।'

 

अस्ट्रेलियामा एक साताभित्र चक्कु प्रहारको यो दोस्रो घटना हो । सिड्नी शहरको एक मलमा एक व्यक्तिले चक्कु प्रहार गर्दा छ जनाको ज्यान गएको थियो भने धेरै घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस