• मंगलबार-बैशाख-१८-२०८१

‘सिप मेला’ का लागि महानगरले, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघसँग सहकार्य गर्ने

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना गर्ने १ महिने ‘सिप मेला’ (छोटो अवधिको व्यवसायिक सिप प्रशिक्षण) का लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघ (एफ–पीटीइएन) सँग सहकार्य गर्ने भएको छ ।

 

तालिम सञ्चालन र व्यवस्थापनमा महासंघले काम गर्ने गरी सामाजिक विकास विभाग र महासंघ बिच सम्झौता भएको हो । सम्झौतामा विभागका निमित्त प्रमुख बिमला कोइराला र महासंघका वरिष्ठ उपाध्यक्ष प्रमोदकुमार वानियाँले हस्ताक्षर गरेका छन् । बैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना हुने ‘सिप मेला’ बाट १० क्षेत्रका ३६ पेशा सम्बन्धी २०८१ जनालाई तालिम दिने लक्ष्य राखिएको छ । 

 

महासंघका बागमती प्रदेशका सचिव राजन लोहनीकाअनुसार देशभरिका ४५० वटा र वागमती प्रदेशमा १५० वटा तालिम प्रदायक संघसंस्था महासंघमा आवद्ध छन् । महानगरपालिकाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत "सिप" मेला हुन लागेको हो । 

 

सम्झौताबमोजिम तालिमका प्रशिक्षक, आवश्यक पर्ने सामग्री तथा उपकरण व्यवस्थापन गर्ने, प्रयोगात्मक प्रदर्शनी गर्ने दायित्व महासंघको हुनेछ । महानगरपालिकाले स्वीकृत गरेको पाठ्यक्रममा तालिम सञ्चालन हुनेछ । तालिम सकिएपछिको दस्तावेज महानगरपालिकालाई बुझाउनु पर्नेछ ।  यो सम्झौता ज्येष्ठ मसान्तसम्मका लागि हो । 

 

तालिमका क्षेत्र र पेशा

तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । रोजगार संयोजक देवेन्द्र के. सी. का अनुसार यी क्षेत्रभित्र ३६ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने महानगरपालिकाको योजना छ । 

 

अहिले तर्जुमा गरिएका तालिमका क्षेत्रहरुमध्ये हलुका सवारी साधन एउटा हो । यसमा अटो इलेक्ट्रिक, अटो डेन्ट पेन्ट, अटो एअर कन्डिसन प्रशिक्षण राखिएका छन् । विद्युतीय सवारी साधनमा मोटरवाइक र स्कुटर रिपेयर, इलेक्ट्रिकल कार रिपेयर तालिम हुनेछन् । 

 

दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर र इलेक्ट्रिसियन तालिम हुनेछन् । यस्तै प्लम्बिङ्मा वाटर प्युरिफिकेसन टेक्निसियन, सोलार फिटिङ् टेक्निसियन, बोरिङ् वाटर टेक्निसियन, अल्मुनियम फेब्रिकेटर, वेल्डिङ् तालिम समावेश छन् ।   

 

हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, चाइनिज, इन्डियन र कन्टिनेन्टल फुड, वेकरी र वार टेन्डिङ्को प्रशिक्षण हुनेछ । सूचना प्रविधि चौथो क्षेत्र हो । यसमा डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा जडान तथा मर्मत, मोवाइल रिपेयरिङ्को तालिम हुनेछ । 

 

मेकानिकलमा रेफ्रिजेरेटर र एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ । यी क्रमशः पाँचौँ र छैटौँ क्षेत्र हुन् । 

 

सातौँ क्षेत्र टेलरिङ् हो । यसमा गार्मेन्ट फेब्रिकेटर र फेसन डिजाइनिङ्कको कक्षा हुनेछ ।

 

आठौँ क्षेत्र व्युटिसियन हो । यसमा नेल, मेक अप, आइलेस, हेअर कट एण्ड स्टाइल, माइक्रो व्लान्डिङ् प्रशिक्षण हुनेछ । नवौँ क्षेत्र इन्टेरियर डिजाइनिङ् हो । यसमा प्लटिङ एण्ड लेजर कटिङ्, साइन मेकिङ्, स्क्रिन प्रिन्टिङ्को प्रशिक्षण हुनेछ । 


दशौँ विधा ग्रीन सोलुसन हो । यसमा रिकाइकल फ्लेक्स इनटु स्कूल व्याग टे«निङ्, क्यान्भास व्याग्स, पोउच मेकिङ्, प्लाष्टिक रिसाइक्लिङ् लगायतका तालिम हुनेछन् ।

 

तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । 

 

प्रतिकृया दिनुहोस