• मंगलबार-बैशाख-१८-२०८१

रौतहटको गरुडाका मेयरसहित कर्मचारी भारत भ्रमणमा, सेवाग्राही मारमा

 

रौतहट,५ बैशाख । जिल्लाको गरुडा नगरपालिकाका मेयरसहित ३० जनाको टोली भारत भ्रमणमा हिँडेपछि नगरपालिकाको दैनिक कामकाजमा समस्या उत्पन्न भएको स्थानीयको गुनासो रहेको छ ।

 

मेयर कन्थमणी प्रसाद कलवार, उपप्रमुख पुनम कुमारी चौधरी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर परिषद सदस्यहरु सहितका तीन दर्जनको जम्बो टोली भ्रमणमा हिँडेपछि दैनिक कामकाजमा समस्या भएको गरुडाका सेवाग्राही दीनानाथ सहनीले गुनासो गरे ।

 

जनप्रतिनिधिहरु नै नगरपालिका र वडा कार्यालयमा नभएपछि सेवा प्रवाहमा समस्या भएको उनको भनाइ रहेको छ । रोचक कुरा त के छ भने सो नगरपालिकाका मेयर बिरुद्ध आन्दोलनमा उत्रेकी उपमेयर समेत हिसाव-किताव मिलेपछि मेयरसँगै धार्मिक भ्रमणमा निस्केकी हुन । उपमेयर पुनम कुमारी चौकरीले मेयरले नगरपालिकाको रकम हिनामिना गरेको भन्दै केही समय पहिला नगरपालिकाको मूल गेटमा ताला लगाएर धर्नामा बसेकी थिइन । 

 

अहिले नगरपालिकाका सबै जनप्रतिनिधि धार्मिक भ्रमणको नाममा झोलितुम्बा बोकेर भारत तिर लागेपछि अहिले गरुडा नगरपालिकाको कार्यालय सुनसान देखिएको छ । यहाँका जनप्रतिनिधि र कर्मचारी  भ्रमणका लागि जिल्ला बाहिर मात्र नभई छिमेकी मुलुक भारतमा पुगेका छन् । उनीहरु तिर्थयात्रा भनि भारतको हरिद्वार, अयोध्या लगायतका ठाउमा तिर्थ भ्रमणमा पुग्ने योजना रहेको भ्रमण दलका एक सदस्यले बताए । नगरपालिकाका जनप्रतिनिधि सहित कर्मचारी र सदस्यहरुको टोली भ्रमणमा गएको हो ।  टोली नै एकैपटक भ्रमणमा निस्किएपछि नगरपालिकाको दैनिक काम प्रभावित भएको छ । नगरपालिकामा विभिन्न कामले आउने सेवाग्राही यतिबेला नगरपालिकाबाट रित्तो हात फर्कन बाध्य भएका छन् । 

 

जनप्रतिनिधि नभएपछि नगरपालिकाको प्रबिधिक, स्वास्थ्य, कृषि, पशु, सामाजिक सुरक्षा, महिला विकास लगायत शाखाका कर्मचारीहरु समेत मोबाइल चलाएर  दिन बिताउँदै देखिन्छन् । अहिले नगर प्रमुख कलवार सहितका टोली भारत पुगेका छन् । 

 

गरुडा नगरपालिका प्रमुख कन्थमण्ी कलवार सहित नगरको टोली भारतको बिभिन्न धार्मिक तिर्थस्थल  भ्रमणका लागि ६ लाख खर्च गरेर भारतको अयोध्यासम्म पुग्न लागेको स्रोतको भनाइ रहेको छ । राम नवमी पर्ब परेर नगरप्रमुख कलवारले कार्यपलिकाका असन्तुष्ट पक्षलाई  तिर्थस्थलको भ्रमण गराएर खुसी पार्न खोजेको आरोप स्थानीयको रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस