• बुधबार-बैशाख-१९-२०८१

‘नियम मिच्नेका लागि म आतंक नै हुँ’

पैदलयात्रीको हक छिन्नुहुन्न भन्ने मेयरसाबको धारणा हो


० तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको कामगराईबाट कस्तो अनुभव सँगाल्नुभएको छ ?


मलाई कस्तो लाग्छ भने मुख्यतः काठमाडौं महानगरपालिकाको प्रहरी बलको प्रमुखमा म नियुक्त भएको आउँदो भदौं २ गते दुई वर्ष पुग्दैछ । त्यो भन्दा अगाडि म प्रमुख थिइनँ । म आइसकेपछि नवनियु्क्त महानगर प्रमुख, उपप्रमुख प्रमुख प्रशासकिय अधिकृतहरुसँग काम गर्न पाउँदा छुट्टै अनुभूती भइरहेको छ । पहिले म प्रमुख नभएको कारणले के कस्तो छ भन्ने कुरा समेत थाहा हुँदैनथ्यो । अहिलेको अवस्थामा इतिहासमै पहिलोचोटि कानूनले दिएको म्याण्डेट अनुसार काम गर्न कँहीकतै कुनै पनि दबाब छैन ।

हामी पनि मेयरसाबको जुन केही गरौं भन्ने हुटहुटी छ, काम गरौं भन्ने जाँगर छ । जसरी उहाँले हामीलाई केही गर्न प्रोत्साहन गर्नुहुँदा र जनताले पनि हाम्रो कामप्रति सकारात्मक व्यवहार देखाउँदा काम गर्न एकदम खुशी लाग्छ । हाम्रै पालामा केही गर्न सकिन्छ भनेर आफ्नो व्यक्तिगत र पारिवारिक जीवनबाट पर बसेर काठमाडौंलाई सुव्यवस्थित शहर निर्माणका लागि केही गर्न पाउँदा एकदम खुशी लागेको छ । कामको प्रेसर त होला र त्यसमा पनि आनन्द महसुस गरिरहेको छु मैले ।


० चुनौती पनि धेरै होलान् नि सुरक्षा र व्यवस्थापनका । कस्ता कस्ता चुनौति बेहोरिरहनुपरेको छ  ?


चुनौती त धेरै नै छन् । तर हाम्रो काम गर्ने भनेको नै महानगर सुव्यवस्थाको काम हो । शहर सुव्यवस्थाको काममा फोहोरमैलादेखि लिएर काठमाडौं महानगर क्षेत्रभित्रको सम्पूर्ण कामहरु सौन्दयीकरणको कुरादेखि लिएर सार्वजनिक जग्गा अतिक्रमण हटाउने बिषय पनि छन् । त्यसपछि अव्यवस्थित रुपमा राखिएका पसलका कुराहरु हुनसक्छन् । त्यस्तैगरी ध्वनी प्रदुषणका कुराहरु, अनधिकृत विज्ञापनका बोर्डहरु हटाउने कुराहरु पनि छन् । जात्रा व्यवस्थापनका कुराहरुमा सक्नेजति गरिरहेका छौं ।

 

काठमाडौं महानगर फेरि यस्तो शहर हो जहाँ सम्पदाले भरिएको शहर र मन्दिरैमन्दिरको शहर । नयाँ मेयर आएपछि जुन किसिमको जात्रा, यहाँको पर्व, यहाँको सम्पदाहरुप्रति उहाँको जुन अगाध माया छ, त्यसभित्र पनि त्यसको संरक्षण गर्ने महानगरको जिम्मेवारी हो । महानगरले स्थानीयस्तरमा जसरी स्वस्थ महानगर बनाउने योजना छ यस्तै काममा व्यस्तता छ । तर हामी आफ्नो कार्य क्षेत्रमा निर्वाध ढंगले काम गर्न पाउँछौं त्यसैले कामको नतिजा पनि जनताको नजरमा परिरहेकै छ ।


० महानगर क्षेत्रमा अनेक किसिमका बिकासे काम भैरहेका हुन्छन् तर समन्वय भने देखिँदैन ।  सधैं यस्तो किन हुन्छ, कसरी काम गरिरहनु भएको छ  ?


मैले महसुस गरेको सबैभन्दा ठूलो इमानदारिता हो । इमानदारितामा एक किसिमको शक्ति हुन्छ जस्तो लाग्छ मलाई । त्यो चुनौतीपूर्ण भएको कारणले र चुनौतीपूर्ण भएपनि हामीले आफूले सक्नेजति काम आफैंले गर्ने र हामीलाई अप्ठेरो परेको बेलामा सम्बन्धित लाइन एजेन्सीसँग सहकार्य, समन्वय गरेर उहाँहरुलाई कन्भिन्स गरेर गइरहेको अवस्था छ । तर अहिले कतिपय अवस्थामा हामीलाई बिहानदेखि लगातार साँझसम्म खटिँदाखेरि सरकारी निकायबाट नै गरिने कामहरुमा सहयोग भैरहेको देखिँदैन । मैले महसुस गरेको विद्युत प्राधिकरण, दुरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी योजना लगायत जुन सरकारी तथा अर्धसरकारी निकायहरुले जुन जिम्मेवार ढंगले काम गर्नुपर्ने हो त्यस्तो गरिरहनुभएको छैन ।

 

धुँवा र धुलोमुक्त काठमाडौं महानगर भन्ने मेयर साहबको जुन एजेण्डा छ त्यो कुरालाई साकार पार्नका लागि  हामीलाई अड्चन आईराख्ने, आज खनेको खाल्डो बनाएर नपुरिदिने, जनताबाट वायु प्रदुषण भयो भन्ने गुनासो आइरहेको छ । त्यो गुनासो व्यवस्थापनको लागि हामी जान्छौं । कतिपय ठाउँहरुमा दुई वर्षदेखि खाल्डो खनेर छोडेको अवस्था छ । स्थानीयहरु आएर हामीसँग गुनासो गरिरहनुहुन्छ । महानगर कहिले सुत्दैन, सुत्नहुँदैन भन्ने मेयरसाबको जुन भनाई छ  यसलाई कार्यान्वयन गर्नका लागि चुनौती पनि छ । त्यो चुनौतिलाई चिर्दै अगाडि बढिरहेका छौं ।


० महानगरमा फुटपाथमा अनेक अवरोधहरु छन्, कतै त हिँड्दाहिँड्दै फुटपाथ कसैको घरकम्पाउण्डभित्र छिर्छ कतै हराउँछ । किन यस्तो भएको होला  ?


यो त पक्कै पनि हो । हिजो पनि जुन सडक विस्तारको काम भयो यो अवस्था देखिएको हो । सडक विस्तारको काम हुँदाखेरि सबैभन्दा पहिलो प्राथमिकता त पैदलयात्रीलाई दिनुपर्ने हो नि त । पैदलयात्रीको हक छिन्नुहुन्न भन्ने मेयरसाबको धारणा हो ।

 

कतिपय ठाउँमा सडक निर्माण गर्दा सडकपेटि हराएको अवस्था छ । त्यो ठाउँहरुमा सडकपेटि बनाउनुपर्छ । पैदयलयात्रु नै मुख्य प्राथमिकता हुनुपर्ने हो । पैदलयात्रीलाई चाँही सहज तरिकाले हिँड्ने वातावरण सिर्जना गर्नुपर्दछ । धेरै कुराहरु त तपाईंलाई थाहा नै छन् संघीय सरकार मातहत रहने कुराहरु हुन् ।

 

८ मिटर चौडाइसम्मको सडक महानगरको मातहत छ, त्यो भन्दा माथि त महानगरले हेर्दैन । प्रदेश सरकार र संघीय सरकारको मातहत रहेका छन् । आफू मातहतमा रहेका सडक र फुटपाथको त व्यवस्थापनका लागि हामी काम गरिरहेका छौं ।


० महानगरवासीका कस्ता कस्ता गुनासा आउँछन् अहिले ?


हामीलाई दैनिक रुपमा गुनासोहरु आउँछन् । अस्ति भर्खरैमात्र हामीलाई एउटा क्याम्पसबाट गुनासो आयो । गेटबाट विद्यार्थीहरु निस्किदाँखेरि चुरोट तान्दै निस्किए भन्ने हामीले तुरुन्त रेस्पोन्स गर्यौं ।


हामीसँग यस्ता गुनासाहरु धेरै नै आइरहेका हुुन्छन् । समाजिक सञ्जालदेखि टेलिफोन र मेयर साहबको सचिवालयमा पनि । मलाई व्यक्तिगत रुपमा पनि गुनासोहरु आइरहेका हुन्छन् । हामी पनि गर्न खोजि नै रहेका हुन्छौं । हामीले माइकिङ गर्ने, सम्झाउने काम त जारी नै राखेका छौं । नमानेको खण्डमा त्यस्ता व्यक्तिहरुलाई जरिवाना गर्ने, पक्राउ गर्ने पनि कामहरु गर्दै आएका छौं । जस्तै यहाँ काठमाडौंको सन्दर्भमा गुट्खा र चुरोटको प्रयोग र फोहर व्यवस्थापनका सन्दर्भमा हामी गरि नै रहेका छौं ।

 

सार्वजनिक सम्पदाको एक सय मिटरको दुरीमा सेवन गर्न नदिने विषयमा पनि हामी गरि नै रहेका छौं । हाम्रो यहाँ जनचेतनाको कमि छ । हामी जनचेतना जगाउँदै कारबारी गर्ने काम पनि गर्दै अगाडि बढिरहेका छौं । हामी त्यो विषयलाई सुक्ष्म रुपले हेरिरहेका छौं कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।


 ० महानगरका फुटपाथमा अनेक अवरोध छन्, चियापसल लगायतका ससाना पसल राख्ने अनि मानिसहरु पनि त्यतै बसेर खाने गरेका जताततै देखिन्छ ।  पैदलयात्रीलाई हिँड्न असुविधा भएपछि सडकमा झर्नुपर्छ अनि दुर्घटना हुनसक्छ । यस्ता समस्या महानगरले नै हेर्नुपर्ने होइन र ?


काठमाडौं महानगर क्षेत्रभित्र महानगरले गरिरहेको अवस्था छ । सडक भनेको सवारी साधनका लागि हो भने पैदलयात्रीका लागि फुटपाथ हो । काठमाडौंको सडक कति नै ठूलो छ र ? हिजो सडक साँधुरो भो भनेर व्यक्तिको घर नै हटाएर सडक बनाएको अवस्था छ । सडक र पेटि जुन प्रयोजनको लागि बनाइएको त्यही हुनुपर्छ ।

 

महानगरका व्यवसायीलाई महानगरले स्वागत गर्छ नै तर व्यवस्थित शहर र यहाँको सडक सुरक्षाको कुरालाई लिएर नागरिकको हिँड्न पाउने अधिकारलाई बेवास्ता गरेर सडक पेटिमा सार्वजनिक स्थलमा फुटपातमा व्यवसाय गर्ने कुरा महानगर नदिने पक्षमा छ ।

 

यो दिइनु पनि हुँदैन । तपाईंले सामाजिक सञ्जालमा हेर्नुभयो होला विगत ३० वर्षदेखि फुटपाथमा व्यवसाय गरेर सम्पन्न भएका व्यक्ति पनि त्यो सडक नछोडी बसिरहेको प्रवृति छ । त्यसकारण महानगरभित्र रहेको यो सम्पदाले भरिएको ठाउँ र सडकपेटिमा फुटपाथ व्यापारी निषेध गरिएको छ र अब कहिँकतै पनि त्यस्तो छुट दिइने छैन । नदिने नीति नै छ ।  


० सार्वजनिक स्थल र सम्पदा क्षेत्रको अतिक्रमण हटाईसकियो कि अझै बाँकी नै  छ । कत्तिको अवरोध र दवाव सामना गर्नुपरेको छ ?


यसमा मैले आज केही त भन्नैपर्ने हुन्छ । मैले यसो भन्दा कसैको चित्त नदुखोस् । एउटा कुरा के हो भने, काठमाडौं महानगरले विगतदेखि नै खोला किनारा जहाँ हामी सुकुम्बासी तथा अव्यवस्थित बस्ति भन्छौं त्यहाँ रिक्स पनि छ । कतिपय नदिका किनाराहरुमा करिडोर खोल्नुपर्नेमा त्यहाँ अवरोध भएको अवस्था छ । समय समयमा विभिन्न घटनाहरु घटेको त सबैले देख्नुभएकै छ । तर यसको लागि अरु सरकारी निकायको महानगरको साथमा छैनन् । अरु निकाय पनि कटिवद्ध भएर त लाग्नुपर्यो नि । महानगर त अहिले पनि तयार नै छ । नदि किनाराको बाटो खोल्नुपर्दछ ।

 

यहाँ बसोबास गर्ने ८० प्रतिशतभन्दा बढी मान्छेहरुको मुलुकको कुनै न कुनै ठाउँमा घर छ । उहाँहरु आएर बस्नुभएको छ । हामीले विगत एक डेढ वर्ष अगाडि हटाउन खोज्दाखेरि हटाउन तपाईंले देख्नु नै भयो त्यत्रो विरोध भयो । अवाञ्छनीय गतिविधि गर्ने र यस्ता बसोबासीलाई सम्बन्धित निकायले नियन्त्रणमा लिनुपर्दछ र कारबाही गर्नुपर्दछ । अहिले पनि हामीलाई सहयोगको आशा छ, आशा गरिनै रहेका छौं ।

 

यदि सम्बन्धित निकायले हामीलाई आवश्यक्ता अनुसारको सहयोग गर्ने हो भने हामी अहिले भर्खर पाँच मिनेटमा उठेर काम गर्न हामी तयार छौं । त्यसका लागि सम्बन्धित निकायले स्वार्थमुक्त सहयोग गर्न तयार हुने हो भने हामी पाँच मिनेट भित्र मुभ हुन तयार छौं ।


० गृह मन्त्रालय अन्तर्गतका दुई वटा प्रहरी संगठनहरु छन् । अरु पनि सुरक्षा निकायहरु छन् । उनीहरुसँग यहाँहरुको समन्वय कत्तिको हुन्छ ?


पहिलाको गृहमन्त्री रबि लामिछानेसँग कुरा भएको हो । उहाँसँग कुरा हुँदा तीन दिनको एक्सन प्लान बनाएर पेस गर्नु भनेको र हामी नेपाल प्रहरी सशस्त्र र हामी बसेर काठमाडौं परिसरमा बसेर एक्सन प्लान पेस पनि भएको हो । तीन दिन पछि त्यो विषय त्यत्तिकै रह्यो र पटक पटक मेयर सायबले पहल गरेको मलाई जानकारी छ ।

 

यो हटाउनुपर्छ भनेर पहल गरेको हो । पहल गरेपनि हटाउने भनेर कुरा हुन्छ तर अगाडि बढ्न सकेको छैन । त्यो पनि एउटा रहस्यकै कुरा रहेको छ । यसमा हामी लागिरहेको छौं । सुन्दर महानगर व्यवस्थित महानगर व्यवस्थित महानगर सम्पदाले भरिएको नेवारी सभ्यता बोकेको यो शहर यसलाई जिवन्त राख्नको लागि विदेशीहरुले आउँदा सभ्यता के हुन् भनेर देखाउन प्रयत्न गरिरहेको छौं ।


० पहिला पहिला चोक चोकमा कति धेरै फोहोर हुने गथ्र्यो । महानगर के गरेर बसेको छ भन्ने प्रश्नहरु पनि आउने गर्थे, अहिले किन कतैपनि फोहोर नभएको त ?


महानगरले फोहोरमैलाको व्यवस्थापनको सिलसिलामा निर्मम तरिकाले काम गरेको छ । हाम्रा प्रहरीहरु फोहोरमैला हेर्ने वातावरण विभागको सबै काम महानगरले गर्छ । बिहान ६ बजेदेखि बेलुका ढिलासम्म सडकपेटिहरुमा निगरानी गरिरहेको हुन्छ । फोहोर गर्ने व्यक्तिलाई सम्झाउने र नमानेको खण्डमा उहाँहरुलाई ल्याएर कारवाही गरिरहको छौं । यतिसम्म कि म कतै जाँदा बाटोमा फोहोर देखें भने गाडिबाट झरेर सम्झाउने गर्छु । महानगरले त्यस विषयमा निर्मम तरिकाले कारवाही गरिरहेको छ । पहिलो सर्त भनेको सरसफाई हो, त्यहि विषयमा रहेर काम गरेको हुनाले त्यसैको नतिजा हो भन्ने मलाई लाग्छ ।


० डम्पीङ साइड क्षेत्रमा स्थानीय जनताको कत्तिको सहयोग पाउनु भएको  छ ?


राजनीतिक विषय त मैले बोल्न भएन । तैपनि स्थानीय समस्या समाधान गर्नमा महानगरले प्रयत्न गरिरहेको छ । केहि नराम्रो गतिबिधि गर्ने र धमिलो पानीमा माछा मार्ने मानिसहरुले केही चलखेल गर्न खोज्छन् । तर त्यस विषयमा हाम्रो सुरक्षा निकायसँग बसेर त्यस्ता गतिबिधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ भनेर समन्वयात्मक ढङ्गले काम भइरहेको छ ।


० महानगर प्रमुख बालेन साहको कार्यशैली विगतका मेयरहरुको भन्दा फरक देखिएको छ । देशभरीका मानिसहरुले पनि यो कुरा महसुश गरिरहेका छन् । नयाँ पुस्ताका नेता र उहाँ फरक किसिमले निर्वाचित भएर आउनुभएको छ । उहाँसँग काम गर्दा तपाईंलाई कस्तो अनुभव भएको छ ? कत्तिको सहज हुनुहुन्छ उहाँ ?


काम गर्न धेरै सहज छ । नबुझने मानिसले आफ्ना मात्र स्वार्थ पुरा गर्न खोज्ने र महानगरसँग मतलब नराख्ने व्यक्तिले चुनौती दिन खोज्छन् । तर इतिहासमा नै यो कालखण्ड हो जहाँ यति सजिलो काम गर्न पाईएको छ । हाम्रो नेतृत्व तहबाट काम गर्न कानुनले दिएको परिधिभित्र रहँदासम्म कुनै अवरोध छैन ।

 

महानगरको कामममा कुनै किसिमको दवाव र प्रभाव सुरु सुरुमा म नियुक्ति भएर आउँदा केही प्रयत्न भएको जस्तो लाग्छ तर पछि काँही प्रभाव दवाव केही छैन । मैले व्यक्तिगत रुपमा भन्नुपर्दा महानगरलाई सुनौलो अवसर हो, यस्तो दिनहरु महानगरको लागि न विगतमा थियो न पछि नै आउँछ जस्तो लाग्छ मलाई ।


० यति धेरै जनसङ्ख्या भएको महानगरपालिकाको सुरक्षा प्रमुख हुनुहुन्छ तपाईं । यस्तो व्यस्त रहने जिम्मेवारी भएको मानिसको एक दिन कसरी बित्छ ?


म बिहान ५ बजे नै उठ्छु । सामान्यतया बिहान ७ बजेभित्र कार्यालय आइ नै सक्छु । बेलुका ८ बजेसम्म पनि बस्छु । कहिले ९–१० सम्म यहि हुन्छु । घर गएर  बिहान १–२ बजे निदाको हुन्छु । काम केके छन् त भनेर योजना बनाइरहेको हुन्छु । हामी नतिजामुखि काम गर्ने हो । नतिजा जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको छ कि छैन । त्यो गर्न हामी निरन्तर रुपमा छलफलमा छौं ।

 

केही कमी कमजोरी भए सच्याउने काम भइरहेको छ । मेरो दुई वर्षदेखिको समय मेरो सम्पूर्ण सोचविचार महानगरलाई व्यवस्थित कसरी गर्ने भनेर म लागिरहेको छु ।  म कुर्सिमा भन्दा पनि बाहिर फिल्डमा रमाउँछु । फिल्डमा पुग्दा आफुले देखिन्छ आफुले देखेपछि अरुलाई भन्न पनि सजिलो हुन्छ ।

 

म स्वयम् फिल्डमा खटिँदा अफिसरहरु र जवानहरुलाई पनि उत्प्रेरणा मिल्छ । म आफैं गएर जे देखिन्छ र के सुधार्न पर्ने हो । तत्काल एक्सनमा जानुपर्छ भन्ने हिसाबले महानगर प्रहरी बलको नियन्त्रणमा र महानगरको कल सेन्टरमा हजारौ गुनासो आउँछन् । दश देखि १५ मिनेटमा हामीले गुनासो सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ । महानगरप्रति एक किसिमको विश्वास बढेको महशुस भएको छ र सुशासन छ भनेर जनताले जुन दिन अनुभुति गर्नुहुन्छ । त्यहि दिन हामीलाई सफल भएको अनुभूति हुन्छ ।


० तपाईं आफैंलाई चैं महानगरवासीले कसरी हेर्छन् र के भन्छन् जस्तो लाग्छ ?


महानगर प्रहरीले पहिला कस्तो काम गथ्र्यो म नेतृत्वमा थिइनँ । तर मलाई खुसी लाग्छ जनतामा जाँदा एककिसिमको उत्साह मायाँ पाउने गरेको छु । त्यहि नै हो हाम्रो काम गर्ने उर्जा । हाम्रो लागि त्यहि हो शक्ति जस्तो लाग्छ । जहाँ पुग्दा पनि  चिया अफर गर्नुहुन्छ । मसँग फोटो खिच्नुहुन्छ । यो जनताको माया हो, विश्वास हो जस्तो लाग्छ । यसले मलाई आनन्द आउँछ । जनता हाम्रो काम कारवाहीबाट सन्तुष्ट हुनुभयो भने ठूलो कुरा त्यहि हो । आफ्नो काम कारवाहीले स्वाभाविक रुपमा त्यो नजिता आउँछ जस्तो लाग्छ मलाई ।  


० राजु पाण्डेले महानगरमा आतङ्कै मच्चाए पनि भन्छन् नि मानिसहरु, यस्तो पनि सुन्नुभएको छ ?


कानुन विपरित हुने कारवाहीमा अवरोध गर्दा महानगर प्रहरीले सम्पादन गर्ने काममा अवरोध खडा गर्ने मानिसहरुका लागि म आतंक नै हूँ । तर महानगर सुव्यवस्थित हुनुपर्छ र महानगर सुदृढ र सुशासन हुनुपर्छ भन्नेको लागि नहुन सक्छ । मैले आतंक मच्चाएँ भनेर भन्नेहरु भनेका महानगर व्यस्थित गर्ने सिलसिलामा हामीलाई असहयोग गर्ने तत्वहरु हुन् ।


० महानगरबासीलाई सुरक्षा प्रमुखको नाताले के सन्देश दिन चाहनुहुन्छ ?


महानगर व्यस्थित गर्ने सिलसिलामा हामीलाई सहयोग गर्नुहुन आग्रह गर्छु । अब आउने पुस्ताहरुलाई हामीले भन्दा पनि हाम्रा छोरा छोरीको भविष्को लागि हामीले काम गर्नुपर्ने छ । आफ्नो छोराछोरीलाई सम्झेर कस्तो शहरको परिकल्पना गरिरहेको छन् ? त्यो सम्झेर उहाँहरुले सहयोग गर्नुभयो भने हामीलाई ठूलो सहयोग मिल्ने छ । सबैलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।

(नेपाल न्यूज बैंक)

प्रतिकृया दिनुहोस