• बिहीबार-बैशाख-२०-२०८१

साँघु सम्पादकीय : चोटै चोट दिएर २०८० विदा...!

अब यस्तो कहिल्यै नहोस् !!

 

नयाँ वर्ष २०८१ प्रारम्भ भएको छ । मानिसहरुको अघिल्तिर राजनीतिक अस्थिरता, आर्थिक संकट, सत्तापक्ष र राजनीतिक दल तथा नेताहरुको विचार शून्यताको तस्बिर र इतिहासको निर्माण गरेर वर्ष २०८० हामीहरुसँग विदा भएको छ । भ्रष्टाचारी जो कोही भए पनि कारवाही गर्छौं भनेर सत्तापक्ष र सरकार स्वयंले कोकोहोलो मच्चाएको र ललिता निवास प्रकरण, स्वयम् गृह सचिव र गृह मन्त्री सामेल भएर रचिएको नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरण जस्ता ठुला तथा बहुचर्चित भ्रष्टाचार प्रकरणमा मुख्य र निर्णयकर्ता ठुला भ्रष्टाचारीलाई चोख्याउने काम गरेको वर्षको रुपमा समेत मानिसहरुले २०८० साललाई सम्झिने भएका छन् ।  सत्ता वा सरकारको विपक्षमा रहेका र सत्तापक्ष र खास गरी प्रधानमन्त्री र तत्कालीन गृह मन्त्री नारायणकाजीले आफूलाई रीस उठेका खास खास मान्छेलाई भ्रष्टाचार प्रकरणमा डाम्ने, दुःख दिने नौटंकी प्रदर्शन गरेको वर्षका रुपमा समेत मानिसहरुले २०८० साललाई सम्झिने गरेको पाइन्छ । 


 सत्ता समीकरणको फेरबदलका हिसाबले पनि २०८० साल स्मरणीय वर्ष रहेको छ । संसद पनि जनभावना अनुसार देश र जनताको पक्षमा कानून निर्माण गर्ने संस्थाको रुपमा भन्दा नेताको स्वार्थ र सत्तालिप्सा पूरा गर्ने हिसाबले सत्ता समीकरणमा फेरबदल गर्ने र विदेशी चाहना पूर्ति गर्ने हिसाबले बनाइएका कानून र गरिएका सम्झौता जस्ता निर्णय र काममा आफ्नो विवेक प्रयोग नगरीकन आँखा चिम्लेर ठप्पा लगाउने औजारको रुपमा सीमित हुँदै जाने त होइन भन्ने आशंका बढेको पाइन्छ ।  

 

नागरिकता कानूनलाई देश र जनताको दीर्घकालीन हितमा प्रत्यक्ष रुपले प्रभाव पार्ने संवेदनशील विषयको रुपमा लिइन्छ । त्यस्तो संवेदनशील विषयमा समेत तत्काल बहाल रहेको संसदमा छलफल समेत नगराई प्रक्रिया र प्रचलन मिचेर विदेशीलाई रिझाउने नियत राखेर देशको बृहत्तर हितमा आघात पुग्ने व्यहोरा समावेश भएको भनी आशंका गरिएको नागरिकता कानून जारी गर्न प्रधानमन्त्री र राष्ट्रप्रमुख दुबै एकमत र  अग्रसर भएको वर्षको रुपमा समेत २०८० साललाई नेपालीहरुले सम्झिनुपर्ने भएको छ । ब्यवस्थापिका संसद र राजनीतिक दलहरु सरकारले विघटित संसदले पारित गरेको निउँ पारेर संसदमा छलफल समेत नगराई नागरिकता ऐन जारी गर्दा समेत दह्रो प्रतिवादमा नउत्रेर लाचारीको प्रदर्शन गरेको वर्षको रुपमा समेत २०८० सालको सम्झना हुने अवस्था बनेको छ ।  

 

सरकार प्रमुख विदेश भ्रमणमा निस्किदा अब देशको हितको विरुद्धमा के कति र कस्ता सन्धि सम्झौता होलान् भनेर आशंका गर्नुपर्ने र संसदको अधिवेशन चलेको बेलामा देश र जनताको बृहत्तर हितमा आघात पुग्ने के कति कानून र विदेशीसंगका सन्धि सम्झौताको अनुमोदन गरिने हो भनेर देशभक्त नागरिकहरु विचलित हुनुपर्ने अवस्थालाई कायमै राखेर बिदा भएको वर्ष २०८० सालमा देश र जनताको पक्षमा भएको काम र निर्णय फेला पार्न भने निकै गाह्रो अवस्था देखिन्छ ।

 

साँच्चै  हो भने विक्रम सम्वत २०८० सालमा सरकार, राजनीतिक दल, तिनका नेता सबैको चरित्र मध्ययुगीन सामन्तहरु र दासयुगीन दासमालिकहरुको भन्दा पृथक छ भनेर फेलापार्न नसकिने अवस्था नै कायम रहेको देखिन्छ । नेताहरुले बाटोमा २/४ सय रुपैयाँका मिठाई बाँड्ने र सार्वजनिक सवारी साधनमा १०÷१५ मिनट चढेर तस्बिर खिंचाई फेसबुक र इन्स्टाग्राममा राखेर आफूबाट देश र जनताको हित विरुद्ध भएका कामकारवाहीलाई ढाक्ने नौटंकीलाई जारी राख्दै आएको देखिन्छ ।  फलस्वरुप देशप्रेमी नेपालीहरुले नयाँ वर्ष २०८१ साल गएको वर्ष २०८० जस्तो नहोस् भन्ने आशा र आकांक्षा राखेको पाइन्छ ।

 


२०८० सालमा नागरिकहरु पनि देश र जनताको पक्षमा निर्णय र काम गर्नका निम्ति सरकार र राजनीतिक दलहरुलाई पर्याप्त दवाव दिन असफल र उदासीन भएको अवस्था रह्यो । नागरिकता ऐन र एम सी सी सम्झता जस्ता प्रकरणमा दल र सरकारलाई जनताले समुचित दवाव दिन नसकेको देखिन्छ । बहुमत नागरिकहरुले आफूलाई दलका कार्यकर्ता र नेताका दासको स्तरबाट माथि उकास्न नसकेको कुरा हाम्रो मुलुकको कटु यथार्थ बनेको छ । मालिकहरुले दासको इच्छा आकांक्षा बुझेर काम गरेको इतिहास विश्व इतिहासमा कतै भेटिदैन । इतिहासमा दास विद्रोहले मात्र दास युगको अन्त्यको उद्घोष गरेको देखिन्छ ।

 

त्यसैले नेपालका राजनीतिक दल र तिनका नेताहरुले जनतासित दासयुगमा दासमालिकले  दाससित जस्तो ब्यबहार गर्थे त्यस्तै व्यवहार गर्दै आएको देखिन्छ र जनताहरुले पनि र खास गरेर दलका कार्यकर्ताहरुले पनि नेतासित दासयुगमा दासले मालिकसंग गर्ने व्यवहार जस्तो व्यवहार गर्दै आएको पाइन्छ । दलका कार्यकर्ताले आफूलाई आफू सम्बद्ध दलका नेताका दासको रुपमा प्रस्तुत गर्न नछाडेसम्म दल र नेताको चरित्रमा सुधार हुने संभावना देखिंदैन । त्यसैले दल, नेता र सरकारलाई देश र जनताको हित बाहिर जान नसक्ने अवस्था सिर्जना गर्नका निम्ति दलका इमान्दार कार्यकर्ता र सर्वसाधारण जनताहरुले दल, नेता र सरकार नसँच्चिएसम्म उनीहरुका विरुद्धमा उत्रिने साहस र आँटको प्रदर्शन गर्न जरुरी छ ।

 

आशा तथा कामना गरौं–२०८१ सालमा दलका कार्यकर्ता र सामान्य नागरिकहरुले आफूलाई नेता र दलका दासको स्तरबाट उकासेर सचेत र देशप्रेमी नागरिकमा परिणत गर्नेछन् र दल, तिनका नेता, सांसद र सरकारले पनि कार्यकर्ता र जनतालाई आफ्ना जायज नाजायज आज्ञा तथा चाहनाको पछाडि दगुर्ने दासको रुपमा हेर्न छाड्नेछन् ।  नेता र जनताको सम्बन्ध मालिक र दासको बिचको सम्बन्धजस्तो राख्ने र बनाउनेतिर होइन, त्यस्तो सम्बन्धको अन्त्य गर्नेतिर जनता अब अग्रसर हुनुपर्छ । प्रतिनिधिहरु र नेताहरु जनताको चाहना अनुसार चल्ने र प्रतिनिधिले अर्थात् नेताहरुले बाटो बिराएर र छाडेर हिंडेको बेलामा उनीहरुलाई नेताको स्थानबाट झारेर अर्को योग्य ब्यक्तिलाई नेताको आसनमा बसाल्न नागरिकहरु वा जनताहरु सक्षम नभएसम्म मुलुकको अवस्थाको रुपान्तरण संभव छैन, देखिंदैन । आशा गरौं–विक्रम सम्वत २०८१ सालले जनता र नेताको बिचको सम्बन्धलाई पुनर्परिभाषित गर्ने सफलता पाउनेछ र  मुलुकको वास्तविक रुपान्तरणको युग प्रारम्भ हुनेछ ।

 


नयाँ वर्ष २०८१ सालको प्रारम्भसँगै साँघु साप्ताहिकले पनि आफ्नो ४२ वसन्तको बिट मारेको छ । यस अवसरमा मुलुक र मुलुकबासीको नयाँ र अग्रगामी रुपान्तरणको निम्ति नयाँ यात्राको प्रारम्भ होस्–साँघु साप्ताहिक का पाठक, विज्ञापनदाता, शुभ चिन्तक समेत सबैमा शत शत शुभकामना !! (साँघु साप्ताहिक, २०८१ वैशाख ३)
 

प्रतिकृया दिनुहोस