• शुक्रबार-बैशाख-२१-२०८१

हवाई यात्रा गर्दा प्रतिबन्धित सामान नबोकौं

 

 काठमाडौं । पछिल्लो समय नेपालको भौगोलिक अवस्था र सहजताका हिसाबले हवाई यात्रा यात्रुहरुका लागि रोजाईमा पर्दै आएको छ । हवाई यात्रा गर्दा यात्रुहरुले हवाई उडानका बारेमा सूचित हुनुपर्दछ । हवाई यात्रा गर्दा यात्रुले आफूसँग लैजाने व्यक्तिगत सामान नै ब्यागेज हो । यात्रुले ह्याण्ड ब्याग, सुटकेस, झोलाहरु बोकेका हुन्छन् । यात्रुले हातमा लैजाने बाहेकको सामान नै लगेज हो, जुन कार्गाेको रुपमा विमानमा राखिन्छ ।

 

हो, यसरी यात्रुले लैजाने ब्यागेजको तौल एयरलाइन्सको नीति अनुसार, विमानहरुमा सीमित गरिएको हुन्छ भने हवाई उडानको सुरक्षालाई मध्यनजर गर्दै उडानमा प्रभाव पार्ने सक्ने सामानहरु बोक्नलाई प्रतिबन्ध लगाइएको हुन्छ । त्यसैगरी, केही सामाग्रीहरु कार्गाेमा लैजान सकिएपनि क्याबिनमा राखेर भने लैजान सकिँदैन ।


हवाई उडानमा ज्वलनशील र विषाक्त ग्यास, एसिड, गलेका ब्याट्री, पटका, हतियार र सजिलै पड्किने र आगो लाग्ने वस्तुहरु, लाइटर तथा एरोसोलजस्तो ज्वलनशील तरल तथा ठोस वस्तु, रेडियोएक्टिभ वस्तुहरु र अन्य पारो, चुम्बकीय वस्तुहरु तथा आपत्तिजनक वस्तुहरु लैजान मिल्दैन । 


तर, केही यस्ता वस्तुहरु जुन क्याबिन ब्यागेजमा लैजान नमिले पनि कार्गाेमा लैजान सकिन्छ । लाइटर तथा सलाई, खेलौना तथा नक्कली बन्दुक, एरोसेल स्प्रे, कैंची, चक्कु, नङकटर, रेजर ब्लेड, सुई, पेपर कटर र अन्य जोखिमयुक्त वस्तुहरु, रेडियोएक्टिभ वस्तु, हातहतियार जस्ता वस्तुहरु स्वीकृति प्राप्त गरेर र वस्तुहरुको जोखिमता हेरेर कार्गाेमा लैजान सकिन्छ । चिकित्सकको प्रेस्किक्रिप्सनको आधारमा सुई लैजान पनि सकिन्छ । त्यसैगरी, सिलप्याक रहेको अवस्थामा क्याबिनमा रक्सी पनि लैजान स्वीकृत हुनसक्छ । त्यसैले आन्तरिक उडान गर्दा हवाई यात्राका बारेमा सम्पूर्ण जानकारी लिन बुद्ध एयरले यात्रुहरुलाई आग्रह पनि गरेको छ । (साँघु साप्ताहिक, २०८१ वैशाख ३)
 

प्रतिकृया दिनुहोस