• शुक्रबार-बैशाख-२१-२०८१

पार्टी भर्सेस गगन अभियानले काँग्रेसमा कलह

 

काठमाडौं । पार्टीलाई जानकारी नै नदिई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका सबै इकाइमा पत्र लेखेर संवाद यात्रा सुरु गरेपछि नेपाली काँग्रेसभित्रको विवाद चुलिएको छ । 
 थापाको यात्राबारे काँग्रेस केन्द्रीय समितिमा प्रचण्ड बहुमतमा रहेको संस्थापन पक्षले कुनै भेउ नपाएको बताइएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनका कारण २०८० साल २३ माघ गतेबाट स्थगित थापाको अभियान पुनः २०८० चैत १५ बाट शुरु भएको छ । थापाले नवलपरासीमा रोकिएको अभियान त्यहीँबाटै शुरु गरेका थिए । यसअघि १३ माघबाट सुरु गर्ने भनिएको अभियान नेता बुढाथोकीको निधनको शोकमा स्थगन गरिएको थियो । कांग्रेस केन्द्रीय समितिले माघ १३ देखि २६ माघसम्म ‘समुदायमा कांग्रेस’ अभियान घोषणा गरेलगत्तै महामन्त्री थापाबाट चाहिं समानान्तर अभियान संचालन भएको थियो । काँग्रेस संस्थापन पक्षले थापाको अभियानलाई विधान र कार्यविधिको ठाडो बर्खिलाप बताउँदै आएको छ । 


 महामन्त्री थापाले हुलाकी राजमार्ग अन्तर्गतका जिल्ला समेटेर संवाद यात्रा अभियान चलाएका हुन् । नयाँ सत्ता गठवन्धन बनेसँगै सेलाएको विवाद थापाले अभियानलाई तीब्रता दिएपछि फेरि बौरिएके हो । उनले काँग्रेस संस्थापन इतरका नेताको समर्थनमा २०८० माघ १३ गते मेची पुलबाट अभियान थालेका थिए । २०८० माघ २२ गते नवलपरासीको गोपीगन्जमा पुगेर यात्रा रोकिएको थियो । अलिहेसम्म थापाले नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँमा अभियान सकाएका छन् । उनले झापाको मेची पुलबाट ‘संवाद यात्रा’ सुरु गरेका थिए । थापाको एकल अभियानले हुलाकी राजमार्ग आसपास पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म २१ जिल्लामा पुग्ने ‘टार्गेट’ लिएको छ । यसक्रममा अहिलेसम्म टार्गेटमा परेका करिब आधाभन्दा बढी जिल्ला भ्याइसकिएको छ । 


थापाको अभियानमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत नेताको सहयोग र समर्थन देखिएको छ । थापाले हठात् समानान्तर अभियान चलाएर काँग्रेसभित्र गुटवन्दीलाई प्रश्रय दिएको भन्दै सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका नेताहरु चिढिएका छन् । अभियान शुरु भएलगत्तै देउवा निकट नेता एवम् कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अभियानलाई पार्टीले नचिन्ने टिप्पणी गर्दै आपत्ति जनाइसकेका छन् । विश्वकर्माले भनेका थिए, ‘यो पार्टीको औपचारिक कार्यक्रम होइन, यसलाई पार्टीले रिकग्नाइज गर्दैन । महामन्त्री थापाजीको कार्यक्रम पार्टीको निर्णय अनुसार भएको पनि होइन, उहाँलाई हिँड्न मन लाग्यो, त्यसका लागि ब्यानर चाहिएको थियो, राख्नुभयो ।’


   यसबाट पनि महामन्त्री थापाको अभियानप्रति काँग्रेस संस्थापन क्रुद्ध रहेको तथ्य पुष्टि हुन्छ । पार्टीले भने आधिकारिक रुपमा भिन्नै अभियानको घोषणा गरेको छ । माघ १६ गतेदेखि १० दिने ‘समुदायमा कांग्रेस’ अभियान गर्ने निर्णय भएको थियो । तर उक्त अभियान पनि बुढाथोकीको निधनका कारण स्थगित भएको थियो । 


इलाम–२ को निर्वाचन लगत्तै पार्टीको अभियानलाई तीब्र पारिने काँग्रेस संस्थापन पक्षीय एक नेताले साँघुलाई जानकारी दिए । पार्टीको अभियानमा सहभागी नभई महामन्त्री थापाले छुट्टै अभियान चलाएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । सभापति देउवाले समेत छुट्टै अभियान संचालन नगर्न आग्रह गरे पनि महामन्त्री थापाले नमानेपछि काँग्रेसभित्रको समस्या थप चुलिने अवस्था देखिएको छ । कार्यक्रम नजुधाइदिन आग्रह गर्दा समेत महामन्त्री थापाले कार्यकर्तामा ‘कन्फ्युजन’ ल्याउने गरी  अभियान तीब्र पारेका छन् । यद्यपि उनले महामन्त्रीको हैसियतले औपचारिक पत्र लेखेर कांग्रेसका जिल्ला पार्टीलगायतका इकाइलाई पार्टीको अभियानकै निरन्तरता भएको दावी गर्दै आएका छन् । पार्टीको ‘समुदायमा काँग्रेस’ अभियानमा जिल्लामा खट्न समेत महामन्त्री थापाले अरुची देखाएको जनााइएको छ । 


  पार्टीको कार्यक्रम एकातिर, महामन्त्रीको कार्यक्रम अर्कातिर भएपछि विवादको विउ बनेको हो । पार्टीको कार्यक्रमका लागि भने कार्यविधि नै तय भएको थियो । कार्यविधि अनुसार काँग्रेसका नेताहरु जिल्ला दौडाहामा पुग्दा महामन्त्री थापा भने एकल अभियानमा खटिएका थिए । थापाले हुलाकी राजमार्गले छोएका जिल्लामा खुला छलफलमा २÷३ सय कार्यकर्ता भेला पारेर समूहगत छलफल, व्यक्तिगत गुनासा सुन्ने लगायत कार्यक्रम संचालन गर्दै आएका छन् । थापाको एकतर्फी अभियानका कारण बैशाख १५ मा हुने इलाम–२ को चुनाव काँग्रेसका लागि प्रत्युत्पादक हुने आशंका समेत बढाएको छ । (साँघु साप्ताहिक, २०८१ वैशाख १०)
 

प्रतिकृया दिनुहोस