• शुक्रबार-बैशाख-२१-२०८१

प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले फ्रान्सको लियोनमा आयोजना भएको १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा सहभागिता जनाएका छन् ।


लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबारको उदघाटन सत्रमा महानिरीक्षक कुँवरले सहभागिता जनाएका छन् ।


कार्यक्रम अवधिभर महानिरीक्षक कुँवरले मित्र राष्ट्रहरू चीन, भारत, जापान र मलेसियाका प्रहरी प्रतिनिधिमण्डलहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ ।


हेड अफ एनसिबीमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा ‘इन्टरपोल’मा आबद्ध एक सय ९६ देशको सहभागिता रहनेछ ।

 


सहभागिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा घटेका समसामयिक घटना, अपराध अनुसन्धानको विषय, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिलगायत विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानिरीक्षक कुँवरसँगै प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह पनि फ्रान्समा छन् ।

प्रतिकृया दिनुहोस