• शनिबार-बैशाख-२२-२०८१

जनकपुरको एक होटलमा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला

 

जनकपुर, ११ वैशाख : जनकपुरको एक होटलमा आज दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

 

जनकपुरको रामानन्द चोकमा रहेको होटल होलिडे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महोतरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान तथा पिपरा नै माइती भएकी महोत्तरी लोहरपटी नगरपालिका-४ की २५ वर्षीया प्रियङ्का कापर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

 

होटलको कोठा नं २०५ मा दुवैजनाले सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको जिल्लाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिनुभयो । महिलाको अढाइ वर्षीया छोरी कोठाभित्र रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा दुवैजना झुन्डिएको अवस्थामा भेटिएको थियो ।

 

प्रहरी टोली घटनास्थल पुगेर बालिकालाई कोठाबाट बाहिर निकालेको थियो । दुवैजनाको शव परीक्षणका लागि अस्पताल पठाएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 

मृतक दुवैजना सो होटलमा चार दिनदेखि बस्दै आएका थिए । पुरुष पासवानको चार सन्तान र महिला कापरको एक छोरी रहेको जनाइएको छ । ती दुईबीचमा अनैतिक सम्बन्ध  हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 
---

 

प्रतिकृया दिनुहोस