• बुधबार-बैशाख-२६-२०८१

सुरक्षित यात्राको लागि ट्राफिक प्रहरीको कडा कदम : लागुपदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

काठमाडौँ । नागढुङ्गा ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।

 

ना ६ ख ६१२७ नम्बरको ट्रकका चालक ३१ वर्षीय भिमसेन कोइराला, बागमती प्रदेश-०१-०२९ च २८११ नम्बरको निजि माइक्रो बसका चालक २७ वर्षीय नरेश थापा, बागमती प्रदेश-०१-००४ क ३०३२ नम्बरको  निजि माइक्रो बसका चालक २७ वर्षकै सुरज रम्तेल, बा २ ख ७४७ नम्बरको भाडा माइक्रो बसका चालक २२ वर्षीय सुमन खड्का, बा ५ ख ९४२ नम्बरको भाडा माइक्रो बसका चालक ३१ वर्षीय दल बहादुर राना र ना ८ ख १५७५ नम्बरको भाडा बसका चालक ४२ वर्षीय लोकराज केसीलाई हिजो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।   


नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले चेक गर्दा यी चालकहरू लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका हुन्। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ।


यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्‍ठ उपरीक्षक जीवन कुमार श्रेष्‍ठले बताए ।

 

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस