• सोमबार-बैशाख-३१-२०८१

पोखरा स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपले सघाउने


पोखरा । यही वैशाख २८ गते हुने आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई टाइगर ग्रुप अफ पोखराले सघाउने भएको छ ।

 

टाइगर गु्रपबाट वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लवतर्फको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी आइतबार समझदारी भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । 

 

आइतबार पोखरामा टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा र मञ्चका अध्यक्ष दीननाथ बरालविच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा बोल्दै ग्रुपका अध्यक्ष शर्माले प्रदेशकै गौरवको कार्यक्रममध्ये एक रहेको पोखरा स्पोर्टस अवार्डलाई सघाउन पाउँदा आफूलाई गौरव महसुस भएको बताए । 

 

उनले भने, ‘यो कार्यक्रम हामी खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण छ । हामी सामाजिक अभियानमा काम गर्ने संस्था लगायत हरेक क्षेत्रले यसको सफलता मात्रै नभई प्रदेशको गौरव बढाउन समेत सहयोग गर्नुपर्छ ।’ 

 

उनले अवार्डका लागि सानो सहयोग प्रदान गरी साथ दिन पाउँदा आफूसहित सम्पूर्ण कार्यसमिति नै हर्षित भएको जनाए । ग्रुपले विगतदेखि पुरस्कार प्रायोजन गर्दै आएको बताउँदै मञ्चका अध्यक्ष बरालले सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

 

पोखरामा हरेक वर्ष आमन्त्रण महिला तथा पुरुष क्लबस्तरीय टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको टाइगर ग्रुपले विगत वर्षदेखि अवार्डलाई सहयोग गर्दै आएको छ ।

 

अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने छ । मञ्चले २०७२ देखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
 

 

प्रतिकृया दिनुहोस