• बिहीबार-जेठ-३-२०८१

इलाम उपनिर्वाचन : एमालेका उम्मेदवार सुहाङले पाए २६ हजार मत, छ हजार २४ मतले अग्रता

फिक्कल (इलाम), १८ वैशाख : प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले छ हजार छ सय २८ मतले अग्रता लिनुभएको छ ।

 

  फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५  र इलाम नगरपालिका –१ र २ को मत गणना सकिएको छ ।

 

 २०८१ वैशाख १७ गते रातकाे १०.१५ बजेसम्मकाे मत परिणामअनुसार एमालेका नेम्बाङले २१ हजार तीन सय ८० मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४ हजार सात सय ५२ मत प्राप्त गर्नुभएको छ ।

 

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले दश हजार एकसय ४६ मत प्राप्त गर्नुभएको छ ।  यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले तीन हजार छ सय तीन मतसहित चौथो स्थानमा हुनुहुन्छ ।


    छवटा पालिका रहेको सो क्षेत्रको अहिले इलाम नगरपालिका ३, ४ र ५ को मतगणना भइरहेको छ । इलाम नगरपालिकाको २० हजार छसय ६५ मत मध्ये करिव १७ हजार मत गणना हुन बाँकी छ ।

 

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

 

  वैशाख १८ गते विहानकाे समाचार अनुसार, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले २६ हजार ४० मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २० हजार १६ मत पाएका छन् ।  नेम्बाङ र खड्काकाे बीचकाे मतान्तर ६ हजार २४  रहेकाे छ ।

वैशाख १८ गते विहान ४  बजेसम्म ६४ हजार ८७६ मत गणना भएको छ । खबर अनुसार, चार हजार ४११ मत गन्न बाँकी छ ।

प्रतिकृया दिनुहोस