• शनिबार-जेठ-५-२०८१

सूर्यबिनायक–धुलिखेल सडक निर्माण सुस्त

 

काभ्रे । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्ड बिस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख लगानीमा निर्माण कार्य सुरु गरिएको हो । दोस्रो चरणमा भक्तपुरको सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । तर, समयमा काम हुन नसक्दा साँघुरो सडकका कारण ट्राफिक जाम बढ्दै गएको गुनासाहरु यात्रुबाट सुनिन थालिएको छ ।


  निर्माण पक्ष ठेकेदारले समयमा काम नगर्दा र सडकमा निर्माण सामग्री अलपत्र छाड्दा स्थानीयलाई थप सास्ती भएको गुनासो छ । स्थानीयका घर जाने बाटोमा समेत अवरोध हुने गरी संरचना निर्माण गरिएको छ । यसमा आयोजना गम्भीर हुनुपर्ने गुनासो स्थानीयबासीले गरेका छन् । विशेषगरी ढल व्यवस्थापनमा आयोजना र निर्माण पक्ष गम्भीर नभएको आरोप उनीहरुले लगाएका छन् । स्थानीयले तत्काल खुला ढल, खानेपानी, पुरातात्विक संरचनाको व्यवस्थापन गर्न बनेपा नगरपालिकालाई आग्रह गरेका छन् ।


यसैगरी सडक विस्तारका क्रममा बनेपा र धुलिखेल नगरमा बिछ्याइएको खानेपानीका पाइप तथा ढल व्यवस्थापनमा कठिनाइ भएको आयोजना स्रोतको भनाइ छ । यी दुई नगरमा सडकमुनि विभिन्न खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप रहेकोले यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आयोजनासमेत अन्योलमा परेको बताइन्छ । सूर्यविनायक–धुलिखेल कूल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्ड विस्तार कार्य एक वर्षअघि सुरू गरिएको थियो ।


सूर्यविनायक–साँगा सडकखण्ड भने ७.५ किमी रहेको छ । विशेषगरी बनेपा नगरको मुख्य बजारक्षेत्र पुलबजारदेखि बुडोलस्थित चण्डेश्वरी खोलासम्मको तीन हजार दुई सय मिटर सडक दायाँबायाँ पुरिएका खानेपानी र ढल व्यवस्थापनका विषयमा चुनौती देखिएको आयोजनास्रोतले जानकारी दिएको छ । धुलिखेलमा एक किलोमिटर ढलको व्यवस्थापनमा बढी समस्या देखिएको छ ।


खानेपानी र ढलको व्यवस्थापन गर्नुपर्ने भएपछि धुलिखेल, बनेपा नगर तथा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई अनुरोध गरी हाल धुलिखेल नगर क्षेत्रभित्रको खानेपानी र ढल व्यवस्थापनको केही काम अगाडि बढाइएको छ । आयोजना स्रोतका अनुसार, खानेपानी तथा ढल व्यवस्थापन अध्ययनबाट धुलिखेलमा खानेपानीको व्यवस्थापनमा एक करोड र ढल व्यवस्थापनमा चार करोड थप रकम खर्च हुने अनुमान गरिएको छ ।


आयोजनाले बनेपामा खानेपानी र ढलको काम सुरू गर्दा कुन तरिकाबाट काम गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ । यसअघि पनि सडक मापदण्डमा परेका खानेपानीका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भएको बताइन्छ ।

प्रतिकृया दिनुहोस