• शनिबार-जेठ-५-२०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) : गुजरातलाई पराजित गर्दै बैंगलुरु सातौँ स्थानमा


काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पछिल्ला खेलमा लगातार जित निकालेपछि रोयल च्यालेन्जर्स बेंग्लुरुको प्ले अफ सम्भावना कायमै रहेको छ । शनिबार राति भएको खेलमा गुजरात टाइटन्सलाई ४ विकेटले पराजित गर्दै बेंग्लुरु (आरसीबी) तालिकाको सातौं स्थानमा उक्लिएको छ । 


अब बाँकी तीन खेल नै जित निकाल्न सके प्लेअफमा पुग्ने टिमकाबीचमा रस्साकस्सी हुने पक्का देखिएको छ । शनिबार रातिको खेलमा आरसीबीका कप्तान फाफ डु प्लेसिसले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए ।

उनको यो निर्णयलाई बलरहरुले पावर प्लेमा नै सही साबित गरेका थिए । खराब सुरुवातपछि गुजरातले आरसीबीलाई १ सय ४८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य आरसीबीले ४ विकेट गुमाएर १३.४ ओभरमा पूरा गरेको थियो ।

 

गुजरातका ऋद्धिमान साहा कप्तान शुभमन गिलसँगै मैदानमा ब्याटिङ गर्न आएका थिए । ऋद्धिमान साहाले १ रन बनाएर भने शुभमन गिल २ रन बनाएर मोहम्मद सिराजको शिकार बने । उत्कृष्ट फर्ममा रहेका साई सुदर्शन पनि ६ रन बनाएर पभेलियन फर्किए पनि डेभिड मिलर र शाहरुख खानले चौथो विकेटका लागि ६१ रनको महत्वपूर्ण साझेदारी गरे । डेभिड मिलर ३० रन बनाएर आउट भए भने ३७ रन बनाएर  खेलिरहेका शाहरुख खान विराट कोहलीले रनआउट गरे ।

मध्यक्रममा राहुल तेवाटियाले ३५ रनको उत्कृष्ट इनिङ खेले भने राशिद खानले पनि १८ रनको योगदान दिए । लगातार विकेटको पतन भएपछि गुजरातले विजय शंकरलाई प्रभावशाली खेलाडीका रूपमा पठाए पनि उनले मात्र १० रन जोडे । टाइटन्सले अन्तिम ५ विकेट १६ रनमा गुमायो र पुरै टोली १४७ रनमा समेटियो । आरसीबीका लागि सिराज, यश दयाल र विजयकुमार विशाकले २–२ विकेट लिए भने कर्ण शर्मा र क्यामरुन ग्रीनले १–१ विकेट लिए ।

 

१४८ रनको लक्ष्यको जवाफमा फाफ डु प्लेसिस र विराट कोहलीले उत्कृष्ट सुरुआत गरे । पहिलो विकेटका लागि ५.५ ओभरमा ९२ रन जोडे । कप्तान फाफले २३ बलमा १० चौका र ३ छक्का सहित ६४ रनको तुफानी पारि खेलेर आउट भए ।

 

फाफ डु प्लेसिसको विकेट गुमेपछि आरसीबीको मिडल अर्डर केही विग्रीएको थियो । ९२ रन बनाउँदासम्म जोगिएको विकेट ११७ रन पुग्दा ६ विकेट गुमेको थियो । विल ज्याक १, रजत पाटीदार २, ग्लेन म्याक्सवेल ४ र क्यामरन ग्रीन १ रन बनाएर आउट भएपछि आरसीबी दबामा आएको थियो ।

 

एक छेउँमा रहेका विराट कोहली भने २७ बलमा ४२ रनको पारि खेलेर आउट भएका थिए । स्वपनील सिंहले सातौं विकेटका लागि दिनेश कार्तिकलाई साथ दिए । उनीहरुले मिलेर ३१ रनको महत्वपूर्ण साझेदारी गरे र आरसीबीले खेल ४ विकेटले जित्यो । दिनेश कार्तिकले १२ बलमा २१ रन बनाए भने स्वप्निल सिंहले ९ बलमा १५ रन बनाएर नटआउट रहे । गुजरातका लागि जोस लिटिलले सर्वाधिक ४ विकेट लिए भने नूर अहमदले २ विकेट लिए ।

 

आइपीएलमा आज पञ्जाव किंग्स र चेन्नाई सुपर किंग्स तथा लखनऊ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्स आमने सामने हुने छन् । पहिलो खेल पौने चार बजे सुरु हुने छ भने दोस्रो खेल राति पौने ८ बजे सुरु हुने छ ।
 

 

प्रतिकृया दिनुहोस