• आइतबार-जेठ-६-२०८१

चन्द्रपुरमा प्रहरीको फितलो गस्ती, दैनिक मोटरसाइकल चोरीका घटना बढ्दै

 

रौतहट,२५ बैशाख । रौतहटको चन्द्रनिगापुरबाट दैनिक रूपमा मोटरसाइकल चोरी हुने क्रम बढ्दै गएको छ । 

 

विगत एक हप्तादेखि दैनिक एउटा मोटरसाइकल चोरी हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । पहिलाको तुलनामा मोटरसाइकल चोरीका घटनामा केही कमी आएको भएपनि पछिल्लो समय आएर चन्द्रनिगापुर क्षेत्रबाट दैनिक रुपमा मोटरसाइकल चोरीका घटना हुन थालेका हुन् ।

 

तीन दिन पहिला चन्द्रपुर ८ सन्तपुरबाट एउटा मोटरसाइकल हराएको थियो भने, आइतबार चन्द्रनिगाहपुरको व्यस्त क्षेत्र नेपाल बैंक अगाडिबाट एउटा मोटरसाइकल हराएको थियो । विगत एक हप्तादेखि चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानबाट दैनिक एउटा मोटरसाइकल चोरी हुँदै आएको छ । 

 

प्रहरीको फितलो गस्तीका कारण दिनदाहाडै बजार क्षेत्रबाट मोटरसाइकल चोरीका घटना बढ्दै जान थालेका कारण यसतर्फ प्रहरीले आफ्नो सक्रियता बढाउनुपर्ने चन्द्रनिगापुरका स्थानीय बासिन्दा अनन्त अधिकारीको भनाइ रहेको छ । 

 

चन्द्रपुर नगरपालिकाले नगरका मुख्य चोकहरूमा सिसिटिभी क्यामेरा जडान गरेको बताए पनि पछिल्लो समय मोटरसाइकल चोरीका घटनामा संलग्नहरु सिसिटिभीको अगाडि फेला पर्न सकेको छैनन् । चन्द्रपुर नगर क्षेत्रबाट चोरी भएका मोटरसाइकलहरू चोर समूहले बारा जिल्लाको कोल्बी लगायतका स्थानमा लगेर काटेर बेच्दै आएको जानकारहरूको भनाइ रहेको छ । 

 

स्थानीयले प्रहरीको फितलो गस्तीका कारण चन्द्रपुर क्षेत्रमा दैनिक जसो चोरीका घटना बढेको भन्दै गुनासो गर्दै आएका छन् । विगत एक हप्तादेखि दैनिक रूपमा एउटा मोटरसाइकल चोरी हुँदै आएकोमा प्रहरीले चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले त्यसको विरोध गरेका छन् । 

 

इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले चोरीमा संलग्न गिरोहको खोजी कार्य भइरहेको र उनीहरू चाँडोभन्दा चाँडो प्रहरीको फन्दामा पर्ने बचाएको छ । केही महिना रोकिएको मोटरसाइकल चोरीका घटना पछिल्लो समय आएर पुन बढ्न थालेपछि स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।

 

प्रतिकृया दिनुहोस