• शनिबार-श्रावण-१२-२०८१

सैनिक परिवहन गणमा चमत्कार होला, हाेसियार कर्सा'ब ?

श्रीमान सम्पादकज्यू
साँघु न्यूज डटकम

 

  नेपाली सेनाको हेडक्वार्टर, प्रधानसेनापतिको नाकमुनीको थापाथली व्यारेक, एमटी,आपूर्ति तथा परिवहन हुँदै अहिले सैनिक परिवहन गण नामको पल्टनमा हाल रचनात्मक काम हुनथालेको महसुस भएको छ । प्रधानसेनापतिका स्टाफ रहेका सहायक रथी बिष्णु खड्काका भतिज प्रमुखसेनानी प्रवीण खड्का, जमदार सानु खड्का र प्रमुख सुवेदार झपटबहादुर थापाको कार्यकालमा गणमा चमत्कार भएछ भने नौलो नमान्नु होला ।

 

   यसको आँगनबाट प्रधानसेनापति दैनिक आवतजावत गर्नुहुन्छ तर गणका जवान के कति पेलानमा छन् ? गणभित्र के कस्ता कुरा पाकिरहेको छ ? गणले नेपाली सेनाकै बेइज्जत त गर्दै छैन ? यसमा बेखबर हुनुहुन्छ ।

 

यस गणका गणपति दुई वर्षअघिदेखि सहायकरथी विष्णु खड्कालाई काका नाता लगाउने रामेछापका प्रबीण खड्का छन् । प्रमुख सुवेदार पोखराका झपटबहादुर थापा छन् । क्वार्टर मास्टर जमदार सानु खड्का छिन् ।

 

  जमदार सानु खड्काको कुरा गरौं । गणपति र सुबेदारमेजरलाई सानु खड्काले राम्ररी परिचालन गर्नुभएको छ । मुख्य अधिकृत प्रवीण कर्साव भएपनि गण सञ्चालक त जमदार सानु खड्का नै हुन भन्नि हामी सबैको ठहर छ । साथै हाम्रो आँखामा, महिलाको पद तलको भएपनि प्रभाव र पावर ठुलै हुने रहेछ भन्ने पनि छर्लङ्ग भएको छ ।

 

भान्सामा जमदार सानु खड्काको हैकम छ, फ्युलमा सानु खड्काकै प्रभाव छ, खटनपटनमा सानु खड्काको हस्तक्षेप छ,शान्तिसेनामा खटाउने,  पठाउने छनाेटमा गणभरिका सबैले सानुकै नाम लिन्छन्, भनसुनमा उनकै पावर चल्छ । आखिर किन यस्तो चमत्कार हुन्छ हजुर ?

 

भनिन्छ द्वन्द्वकालमा उनका पति प्रहरीमा थिए, आन्तरिक गोलीबाटै मारिए । कुरा के हो, हामी धेरै जान्दैनौं । एक सन्तानलाई डाक्टर पढाउनु उनको कम्ती पावर, क्षमता, मेहनत होइन, यसमा यी नारीको सम्मान गर्नुपर्छ । तर गणका तल्लोतहका जवानलाई दु:ख नदिए हुने, सेनाका अफिसरकै कुरा कर्सावलाई नलाए हुने भन्ने हाम्रो चिन्ता हो ।


  कतिसम्म   भने कर्सावलाई गणबारेमा जाहेर गरिरहेका प्र.सु.र अधिकृतले पनि सानु कर्सावको कोठामा प्रवेश भएपछि बाहिरिनु पर्छ ।  गणमा सबैकुरा उनकै बोलीमा चल्छ । उनलाई मन नपरेकामाथि जुनसुकै प्रकारको षडयन्त्र गरेर किन नहोस्, बेकुफ, गलत, चोर, अनुशासनहीनको बिल्ला लगाएर पाखा लगाउन सक्ने हिम्मत राख्नुहुन्छ सानु खड्का ।

 

क्वार्टर मास्टर जमदार बुझकी हुँदा उनले चामल चोरीमा आरोपलगाएर कारवाही गराएको घटनामा उनको क्षमता सबैले चाखेका छन् । यत्तिको क्षमता भएकी जमदार सायद गणले स्थापना भएपछि पाएको छैन ।

 

  एमटीगणका चमत्कारहरू धेरै छन्, बयान गरी साध्य छैन । वि.सं.२०५२ देखि एमटी आएका र ५५ देखि फ्युल वा एफ.ओ.एल.फाँटमा रहेका सुबेदार ध्रुव खत्री छन् । उनको सर्टिफिकेट अण्डर एसएलसी हो । तर, आर्जन भने भक्तपुर गुण्डुमा घर, गोकर्णमा करोडधन्दा बढीको घडेरी, निजगढमा करोडको घडेरी, बैंक खाता भरिपूर्ण बनाएका छन् भनेर गणमा खुब चर्चा हुन्छ । चाकडीमा विज्ञता हासिल गरेका खत्री हाम्राे गणभित्र कुवेत मानिन्छन् ।

 

५५ सालदेखि कुवेत हातपारेका खत्री हालका गणपति प्रवीणलाई गाउँले हुन, मलाई कल्ले हल्लाउनसक्छ ? भनेर छाति पिट्छन् । खत्री उमेर हदले रिटायर भएपछि पनि सायद यही फाँटमा काम पाउँछन् हाेला भन्ने चर्चा सवारी चालक र जवानहरूले गर्दैछन् । उनी नभएमा   कुवेतकाे तेल खानी भनिने यो फाँट नै बन्द हुन्छ होला । यिनीसंग कर्साव, सानुखड्का, लेखा सहसेनानी समेत सबै दंगदास छन् । भित्री लेनदेनको असल मिलापछ भन्छन् गणका देखि जान्नेहरू सबै ।

 

सुबेदारमेजर, एफओएलका सुबेदार, सानु खड्का, कर्साव शुभ लाभ हात पार्नमा एकमत छन् । गणमा राम्रो कमाउने र अतिरिक्त आम्दानी हुने ठाउँमा काजमा जान, शान्ति सेना जान यिनीहरूलाई जसरी, तसरी पनि नरिझाउनेकाे केही लाग्दैन । सुवेदार मेजरलाई पोखरा जान प्लेनको टिकट काटिदिनुपर्छ । तबमात्र तल्लो तहकाको कुरा सुनिन्छ । लेखामा ड्राइभरले टेबलमुनि हातमा दिनुपर्छ तबमात्र भनेकाे काम हुन्छ ।

 

  याे नेपाली  सेनाकाे पैदल फौज होइन सर्भिस फौज यहाँ त हाकिमहरु कमाउन र बुझाउन सरुवा भएर आउने गर्छन । चिफसाव र उनका नजिककाले आफ्नालाई कमाउन पठाउने रहेछन् । कमाए त ठिकै छ, सरकारी धन कमाए, तर फौजका जवानलाई अन्टसन्ट कुरा लगाएर, दु:ख दिएर, आरोप लगाएर, साँखुल्ले बनिरहँदा हामी अति नै पीडित भयाैं ।

 

सेनामा जागिरे सबै उमेर पुगेर आएका हुन्छन, ढोका लगाएर पुरुष र महिला कोठाभित्र घन्टौं  बिताउँदा सेनाकाे गणमा  के कसो भइरहेछ भन्ने थाहा हुन्न र ? कर्सावले अति त नगरे हुने हो भन्ने हाम्राे सुझाव हाे । कुनैदिन यस गणभित्र महिला पुरुष सम्बन्धबाट चमत्कार भयो भने व्यक्तिको हैन, नेपाली सेनाकाे गणको मात्र हैन, पवित्र संस्था नेपाली सेनाकै बेइज्जत हाेला कि भन्ने हाम्राे  चिन्ता हाे ।

 

कर्साव, लेखा सहसे, सुबेदार मेजर झपट, एफओएल सुबेदार खत्री, सानु जमदारकाे, राम्रो टिम छ र जमेकाे पनि छ । नेपाल आर्मीमा महिलाको सदुपयोग राम्रै भएको महसुस हुन्छ। गणमा हिजो कोही कसैको रगतपसिना थिएन, भोलि कोही चाहिंदैन, उनीहरु नै सबथोक हुन् । सबै वहांहरु नै हाे । जोगिनुस् र जोगाउनुस, सबैको जय होस, हामी गणभित्रकाे दृश्य र शैली देखेर जिब्राे टाेक्ने अवस्थामा भए पनि हामी सकल दर्जा यहाँहरुका शुभचिन्तक हौं भन्न चाहन्छौं । नमरी बाँचे कालले साँचे  फेरि भेटाैंला । जय नेपाल ।
–एमटीका पीडित शुभेच्छुक तल्लो दर्जाका सैनिकहरु ।   

 

प्रतिकृया दिनुहोस