• बुधबार-कार्तिक-७-२०८१

रोटरी वर्ष २०२४–२५ शुरु, नव निर्वाचित अध्यक्षद्वारा पाँच लाखको अक्षय कोष स्थापनाको घोषणा

काठमाडाैं । रोटरी वर्ष २०२४–२५ शुरु भएको छ । रोटरी क्लब अफ राजधानीका नवनिर्वाचित अध्यक्ष कुमारप्रसाद गौतमको नेतृत्वमा समारोह शुरु भएको हो ।

समारोहमा दुई दशक लामो गौरवशाली इतिहास बोकेको रोटरी क्लबको अध्यक्षको हैसियतमा उभिन पाउँदा निकै भाग्यमानी महसुस भएको उनले बताए ।

उनले निवर्तमान अध्यक्ष केपी उपाध्यायप्रति सम्मान व्यक्त गर्दै उनको अथक प्रयास र अटल प्रतिबद्धताले नै क्लबले उच्चस्तरको सामाजिक सेवा समर्पण गरेको बताए । अध्यक्ष गौतमले डिस्ट्रिक्ट ३२९२ का गभर्नर रोटरियन राजेन्द्रमान शेरचनको नेतृत्वले पनि आफूहरुलाई प्रेरणासँगै मार्गदर्शन देखाउने जनाए ।

 

उनले भने, ‘मैले यो जिम्मेवारी स्वीकार गर्दा मलाई रोटेरियनको रुपमा एक साथ बाँध्ने मुख्य मुल्यहरुको स्मरण गर्दछु । फेलोशिप, सेवा, विविधता, निष्ठा र नेतृत्व । यी सिद्धान्तहरुले हाम्रो क्लबको यात्रालाई निर्देशित गरेको छ ।’

 

यो वर्ष रोटरी क्लबले रोटरी इन्टरनेशनल प्रेसिडेन्ट स्टेफनी जे अर्चिकको थिम, द म्याजिक अफ रोटरी र हाम्रो डिस्ट्रिक्ट ३२९२ का गभर्नर शेरचनको म्याजिकल रोटरी थिमलाई आत्मसाथ गर्दै सर्भ अदर्शः फिल द म्याजिक विदइन योरसेल्भ अर्थात् अरुलाई सेवा दिनुहोस् र आफूभित्र जादु महसुस गर्नुहोस् भन्ने अवधारणालाई अनुशरण गरेको छ ।

 

अध्यक्ष गौतमले थपे, ‘मलाई विश्वास छ, साँचो म्याजिक अर्थात् जादु तब हुन्छ, जब हामी अरुको सेवामा आफूलाई समर्पित गछौं । यस वर्ष हाम्रो सेवाहरु जादुमय रुपमा हुनेछन् । समाज परिवर्तन र समुदायिकको सेवाका लागि हामी यो वर्ष क्लबलाई अझै बढी सक्रिय बनाउने छौं ।’

क्लबको प्रमुख मेरुदण्ड भनेकै सदस्यहरु रहेको उल्लेख गर्दै उनले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरी नेतृत्व लिइसकेका सदस्यहरुको सहयोगबाट रोटा वर्ष २०२४–२५ सफल हुनेमा विश्वास व्यक्त गरेका छन् ।

 

उनले रोटरी क्लब अफ राजधानीले डिस्ट्रिक ३२९२ र अन्तर्राष्ट्रिय क्लबहरुसँग सहकार्य गर्दै आएका कामहरुलाई निरन्तरता दिने पनि बताए ।

 

‘हाम्रा सेवाहरुलाई थप नवीन दृष्टिकोणहरु पनि अंगाल्ने छौं । हाम्रा परियोजनाहरु हाम्रो समुदायको आवश्यकताद्धारा सञ्चालित हुनेछन् र हामी हाम्रो सेवा अझ प्रभावकारी बनाउन आरसिसि, स्थानीय तह र सरकारका विभिन्न निकायसँग सहकार्यमा सेवामूलक कार्यहरु गर्ने छौं,’ अध्यक्ष गौतमले भने ।

 

उनले रोटर्याक्टका अध्यक्ष अनुज गिरी र रोटर्याक्ट क्लब अफ राजधानीसँग मिलेर यो यात्रामा अघि बढ्ने उत्सुक र तत्पर रहेको पनि बताए ।

 

सोही अवसरमा अध्यक्ष गौतमले रोटरी क्लब अफ राजधानीको इन्डोमेन्टफण्टमा रहने गरी आफ्ना आमाबुबाको नामबाट पाँच लाख रुपैयाँको बोध मोनिका एजुकेशन अक्षय कोष स्थापना गरेको पनि घोषणा गरे ।

 

उनले भने, ‘यो कोषबाट विपन्न र जेहेन्दार छात्रछात्राले छात्रवृत्ति प्राप्त गरी जीवन परिवर्तनमा सहयोग पुग्ने विश्वास लिएको छु ।’

प्रतिकृया दिनुहोस