• बुधबार-कार्तिक-७-२०८१

साठी किलो सुन प्रकरण : अनुसन्धान जारी, पेवेल र सजिलो पेमेन्ट पनि ‘कठघरामा’ 

 

काठमाडौं । साठी किलो सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान फराकिलो पार्दै जाँदा दुई मोबाइल भुक्तानी प्रदायक कम्पनी पेवेल नेपाल र सजिलो पे कानूनी रुपमा फस्ने अवस्था देखिएको छ । यी कम्पनी विरुद्ध रु. ६१ अर्ब ५० करोड २७ लाख ९ हजार २ सय ३३ रुपैयाँ विगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा पुगेको छ । २०८१ असार १८ गते मंगलबार काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्र अनुसार यी दुई कम्पनीबाट सुन तस्करीमा उक्त बराबरको रकम भुक्तानी भएको तथ्य फेला परेको छ ।

 

पेवेल नेपाल प्रा.लि.का सञ्चालक तथा कर्मचारी प्रतिवादीहरू भीम प्रसाद तिमल्सिना, नेपाल भूषण चन्द, पाल्साङ लामा, खेलानन्द प्रसाद सिंह, सत्येन्द्र श्रेष्ठ, प्रज्वल आचार्य, सुरज शम्शेर राणा र मिलन भन्ने मिन बहादुर दुलाल समेत आठ जनाविरुद्ध अदालतमा अभियोग दर्ता भएको हो । 


 यस्तै सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि.का सञ्चालक तथा कर्मचारी सुनिल जाकीबन्जा, फुनछुक  डाक्पा आथुपछाङ, काश्यप मानन्धर, रोशनबाबु मल्ल समेत चार जनालाई पनि सजायको मागदावीसहित अभियोगपत्र दर्ता गरिएको छ । यी कारोबारीसँग प्रहरीले रु. १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७ सय ८५ रुपैयाँ बिगो दावी गरेको छ । 


केन्द्रीय प्रहरी अनुसन्धान व्युरो (सीआईबी) ले मुद्दामा प्रतिवादी बनाइएका शिवकुमार सर्राफको मोबाइल परीक्षण गर्दा तस्करीको सुनको भुक्तानीमा यी दुई मोबाइल वालेटको प्रयोग हुने गरेको तथ्य फेला परेको हो । यस्तै प्रतिवादी राजु खत्री र सर्राफका बिच भएको ह्वाट्एप कुराकानीका आधारमा पेवेल र सजिलो पेमेन्टको अवैध कारोबारको रहस्योद्घाटन भएको हो । 


अभियोगपत्रमा यी प्रतिवादीले मोबाइल वालेटको स्लिपको ‘पर्पोज अफ डिपोजिट’ मा रेमिट्यान्स, लोन पेमेन्ट, सापटी फिर्ता लगायत उल्लेख गर्ने गरेको उल्लेख छ । यता, कुंगा टासी शेर्पा भन्ने चिनियाँ नागरिक जेङ्गगा झाङ्गीले (यूएसडीटी) क्रिप्टोको कारोबार गरेर सुनको भुक्तानी दिने गरेको सिआइबीको अनुसन्धानले फेला पारेको छ । 


सोनाम गुरुङ भन्ने शेरब ग्याल्मो लगायतले ‘यूएसडीटी’ बनाएर भुक्तानी गर्ने गरेको अदालत समक्ष दावी पेश गरिएको छ । अनुसन्धानबाट क्रिप्टोमार्फत भुक्तानी नपुगेपछि ‘पेवेल’ र ‘सजिलो पे’ प्रयोग हुने गरेको तथ्य समेत बाहिरिएको छ । ‘अनुसन्धानबाट पेवेल नेपाल र सजिलो पे पेमेन्टले अवैध सुन लुकाई छिपाई ल्याएको सुनको कारोबारको भुक्तानी गर्ने तथा मुद्रा निर्मलीकरण गर्ने क्रममा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ र सो ऐन अन्तर्गत बनेको नियम, विनियम र सो अन्तर्गत जारी गरिएको आदेश वा निर्देशन विपरीत त्यस्तो मुद्रा निक्षेप लिने तथा एजेन्टमार्फत स्थानान्तरण गरी अपराधजन्य कार्यमा भुक्तानी दिने कार्य गरेको तथ्य स्थापित हुन आयो,’ अभियोग पत्रमा उल्लेख छ । 


अवैध सुनको कारोबारबाट प्राप्त गरेको रकम सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि.को खातामा जम्मा गरेको विषयमा प्रहरीले भिन्नै प्रतिवेदन समेत अदालतमा बुझाएको छ । ६० केजी सुन तश्करी प्रकरणमा प्रहरीले अनुसन्धान अझै बाँकी रहेको बताएको छ । सिआइवीको अनुसन्धानले पूर्णता पाउँदा ‘लहरो तान्दा पहरो थर्किने’ अवस्था समेत देखिएको छ । (साँघु साप्ताहिक, २०८१ असार २४)

प्रतिकृया दिनुहोस